फोहाेर नउठेपछि घर-घरबाट वाग्मतीमा फाल्न थालियो – Nepal Press

फोहाेर नउठेपछि घर-घरबाट वाग्मतीमा फाल्न थालियो

काठमाडौं । डेढ महिनादेखि काठमाडौँ उपत्यकाबाट फोहर उठ्न नसक्दा घर–घरबाट वाग्मती नदीमा फोहाेरको थुप्रो फाल्न थालेको भेटिएको छ ।

वाग्मती सफाइ महाअभियानको ४३३औँ हप्तामा काठमाडौँ महानगरपालिका– ११ स्थित थापाथलीको शिवमन्दिर क्षेत्रमा सफाइका क्रममा यस्तो भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा. माला खरेलले जानकारी दिए ।

करिब १५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट जम्मा भएको फोहाेर नदी किनारमै थुपार्नुपरेको अभियानकर्मीले जनाएका छन् । डेढ महिनाअघिदेखि नै राजधानीको फोहाेर नउठ्दा सफाइ गरेर फोहाेर नदी किनारमै थुपार्न बाध्य हुनुपरेको हो । आजको सफाइमा पनि खोलबाट फोहाेर टिपेर किनारमा राखिएको हो । पानीले फेरि फोहाेर नदीमै लैजाने चिन्ता रहेको अभियानकर्मी खरेलले बताए ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, ११ नं वडा अध्यक्ष हीरालाल तण्डुकार, ९ नं वडा सदस्य टेकराज अधिकारीलगायत अभियानकर्मीको सफाइमा सहभागिता थियो । थापाथली क्षेत्रको सफाइका क्रममा प्रसूति गृह पछाडिको सुकुम्बासी बस्तीको पनि अनुगमन गरिएको छ । सुकुम्बासी बस्तीका कारण पनि यस क्षेत्रको नदी फोहाेर बन्नेक्रम बढेको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको महाअभियान चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायत प्रतिकूल अवस्थामा जारी छ । वाग्मतीसँगै गुह्येश्वरीमाथिको वाग्मती खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो खण्ड, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर