काबुल विस्फोटपछि चीनले मुख खोल्यो : तालिबानले आतंकवादी संगठनसँग सम्बन्ध अन्त्य गर्नुपर्छ – Nepal Press

काबुल विस्फोटपछि चीनले मुख खोल्यो : तालिबानले आतंकवादी संगठनसँग सम्बन्ध अन्त्य गर्नुपर्छ

‘काबुल विस्फोट अमेरिकी असफलता’

काबुल । चीनले १७० जनाको ज्यान जाने गरी अफगानिस्तानमा भएका श्रृंखलाबद्ध विस्फोटपछि पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजानले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्ट (इटीआइएम)को गतिविधिलाई निषेध गर्ने प्रतिबद्धतालाई पुरा गर्न तालिबानलाई आग्रह गरेका छन् ।

इटीआइएम क्षेत्रीय स्थिरता र विकास साभेदारीको अवरोध भएकाले उसका गतिविधिलाई रोक लगाउन चीनले आग्रह गरेको हो । गत महीना बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा तालिबान नेता बरदारले इटीआइएमलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको चर्चा छ ।

बेइजिङले तालिबानको उक्त प्रतिबद्धता पुरा गर्न ध्यानाकर्षण गराएको हो । ‘बितेका २० वर्षमा अफगानिस्तानमा केही आतंकवादी संगठनहरु जम्मा र विकसित भएका छन् । उनीहरुले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षालाई खतरा पैदा गरेका छन्’ प्रवक्ता झाओले भने ।

उनले इटीआइएमलाई राष्ट्रसंघीय सुरक्षा परिषद्ले आतंकवादी संगठनको रुपमा सूचीकृत गरेको चीनको भनाई छ । चीनको राष्ट्रिय र नागरिकको सुरक्षाको लागि इटीआइएमले खतरा पैदा गरेको समेत प्रवक्ता झाओले बताए ।

तालिबानले यसअघि चीनलाई अफगानिस्तानको भूमि आफूविरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता जनाएको स्मरण समेत उनले गरे । प्रवक्ता झाओले सबै आतंकवादी संगठनसँगको सम्बन्ध अन्त्य गर्न समेत तालिबानलाई आग्रह गरे ।

१३ जना अमेरिकी सैनिकको ज्यान जाने गरी काबुल एयरपोर्ट बाहिर भएका विस्फोट अफगानिस्तान छाड्ने अमेरिकी अपरिपक्व, गैरजिम्मेवारी र अव्यवस्थित निर्णयको उपज भएको समेत चीनले जनाएको छ । अफगानिस्तान मिसनलाई पूर्णता दिने अमेरिकी योजनामा उक्त घटनाले थप्पड हानेको समेत चीनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर