डेढ महिना पुग्यो, माधवले एमाले पनि फुटाए तर मन्त्रिपरिषदले पाएन पूर्णता – Nepal Press

डेढ महिना पुग्यो, माधवले एमाले पनि फुटाए तर मन्त्रिपरिषदले पाएन पूर्णता

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पार्टीको कार्यक्रम भन्दै काठमाडौंबाहिर गएपछि मन्त्रिपरिषद विस्तार अझै धकेलिएको छ । असार २९ गते सर्वोच्च अदालतको परमादेश बमोजिम प्रधानमन्त्री नियुक्त भएका शेरवहादुर देउवाले डेढ महिना भइसक्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

साउन ३ गते देउवाले विश्वासको मत पाएका थिए । सरकारले अध्यादेशमार्फत नेकपा एमाले विभाजन गरेपछि अब स्थायित्वमा पनि समस्या छैन । डेढ महिनादेखि प्रधानमन्त्रीसहित चार मन्त्रीका भरमा सरकार चलेको छ । सरकारले एमाले सरकारले ल्याएको बजेटमा परिमार्जन गरि प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ ।

तर प्रायः सबै मन्त्रालय नेतृत्वविहीन हुँदा परिमार्जित बजेटमा मन्त्रालयका नीतिगत योजनाहरु परिमार्जन गर्न समेत समस्या भएको छ । माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाए लगत्तै मन्त्रिपरिषद विस्तार गरिने भने पनि जसपा अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई काठमाडौं बाहिर गएका कारण मन्त्रालय बाँडफाँडमा टुंगो नलागेको स्रोतले जनाएको छ ।

गठबन्धनमा यसअघि कांग्रेसले सात मन्त्रालय,माओवादी र एकीकृत समाजवादीले ६÷६ वटा र जसपाले ५ मन्त्री पाउने समझदारी भएको थियो । तर कुन कुन मन्त्रालय कसले लिने भन्ने अन्तिम टुंगो लागेको नलागेको बताइएको ।

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमै आज प्रधानमन्न्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । ढिलोमा सोमवारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने कांग्रेस नेता रमेश लेखकले बताए । डेढ महिनासम्म मन्त्रिपरिषद पूर्णता दिन नसकेको भन्दै देउवामाथि प्रश्न उठिरहेको छ । मन्त्रालय भागबण्डामा केही समस्या रहे पनि अब धेरै दिन नलगाउने तयारी गठबन्धनको छ ।

उपेन्द्र यादवले जसपालाई पनि माओवादी र एकीकृत समाजवादी सरह मन्त्री मागेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीबाहेक सत्तारुढ गठबन्धनका चार पार्टीबाट राज्यमन्त्रीसहित ६÷६ जना राखेर सरकारलाई पूर्णता दिनेबारे पनि छलफल भइरहेको छ ।

राष्ट्रिय जनमोर्चाले पनि पछिल्लो समय दुर्गा पौडेललाई मन्त्री बनाउने मनसाय राखेकाले मन्त्रालय तलमाथि हुनसक्छन् । उपसभामुख,सातै प्रदेशका मुख्यमन्त्रीसहित भागबण्डा लगाएर गठबन्धनलाई तलदेखि माथिसम्म कायम राख्ने छलफल चलेकाले केही ढिला भएको एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर