काबुलमा रोकिएका ४२ नेपालीलाई भारतीय एयरफोर्सको विमानबाट उद्दार गर्ने तयारी – Nepal Press

काबुलमा रोकिएका ४२ नेपालीलाई भारतीय एयरफोर्सको विमानबाट उद्दार गर्ने तयारी

नेपालीहरु काबुल एयरपोर्टबाट १३ किमी टाढाको गुरुद्धारमा

काबुल । परराष्ट्र मन्त्रालयका अनुसार अहिले काबुलमा ४२ जना नेपालीहरु एयरपोर्ट नजिक उद्दारको पर्खाइमा छन् । बिहीबार भएको विस्फोटको घटनामा उनीहरु एयरपोर्टबाट १३ किमी टाढा पर्ने एक गुरुद्धारमा भेला भएर पर्खाइमा बसेको जनाइएको छ ।

परराष्ट्रको उद्दार कार्यदलका एक सदस्यका अनुसार विस्फोट अघि नै उनीहरु गुुरुद्धार पुगिसकेकाले उनीहरु सुरक्षित छन् । दिल्लीस्थित नेपाली दूतावासले ती नेपालीलाई उद्दार गर्न भारत र अमेरिका सरकारसँग समन्वय गरिरहेको छ ।

परराष्ट्रले हिजो साँझ विज्ञप्ति जारी गर्दै सबै नेपाली सुरक्षित अवस्थामा रहेको र सबैसँग नियमित सम्पर्क भैरहेको जनाएको छ । शिख समुदायले संचालन गरेको निशुल्क खाने र बस्ने ठाउँमा नेपाली र भारतीयहरु बसिरहेका छन् ।

कार्यदलका ती सदस्यका अनुसार भारतीय एयरफोर्सको बिमानबाट रोकिएका ती ४२ जना नेपालीलाई उद्दार गर्न कूटनीतिक प्रयास भैरहेको जनाइएको छ । विस्फोटको एकदिन अघि ११ जना नेपाली काबुलबाट दिल्ली पुगेका छन् र उनीहरुलाई कोभिड प्रोटोकल पालना गर्दै काठमाडौं ल्याउने तयारी भएको छ ।

अमेरिकाद्वारा इस्लामिक स्टेटविरुद्ध हवाइ हमला, विस्फोटका योजनाकार मारिएको दावी

१७० जनाको ज्यान जाने गरि बिहीबार अफगानिस्तानमा भएको घटनापछि अमेरिकाले इस्लामिक स्टेट समूहविरुद्ध मानवरहित हवाइ हमला गरेको छ ।

ड्रोनमार्फत गरिएको उक्त हवाइ हमलामा इस्लामिक स्टेटका एक सदस्य तथा काबुल विस्फोटका एक योजनाकारलाई मारिएको पेन्टागनले जनाएको छ । तर, कसको मृत्यु भयो भन्नेबारे पेन्टागनले उल्लेख गरेको छैन ।

नानगहार प्रान्तमा हवाइ हमला भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

काबुल विस्फोटको ३६ घण्टापछि अमेरिकाले इस्लामिक स्टेटविरुद्ध जवाफी हमला गरेको हो । राष्ट्रपति जो बाइडेनले शुक्रबार राती देशवासीलाई सम्बोधन गर्दै आइएआइएसविरुद्ध बदला लिने बताएका थिए । शुक्रबार नै इस्लामिक स्टेटले हमलाको जिम्मा लिएको थियो ।

काबुलमा भएका ६ वटा विस्फोटमा १३ जना अमेरिकी सैनिकले ज्यान गुमाएका थिए भने मृत्यु हुने संख्या बढेर १७० पुगेको छ । ह्वाइट हाउस प्रेस सल्लाहकार जोन पास्कीले काबुल छाड्ने समयसीमा सकिनै लाग्दा थप आक्रमण हुनसक्ने बताएका छन् । अमेरिकाले काबुलमा रहेका नागरिकलाई एयरपोर्ट छाड्न भनेको छ ।

काबुलस्थित अमेरिकी दूतावासले विमानस्थलका सबै द्धारमा रहेका नागरिकलाई तत्काल त्यो ठाउँ छाड्न भनेको छ ।

तालिबानले काबुल विमानस्थलका मुख्य भाग सबै कब्जामा लिएको बताउँदै अमेरिकी सेना जाने वित्तिकै नियन्त्रणमा लिने जनाएको छ । अमेरिकाले अन्तिम समयसम्म उद्दारलाई जारी राख्ने र विमानस्थल अहिले पनि आफ्नै कब्जामा रहेको जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर