बाह्य शक्तिको चलखेलमा सचेत रहनुपर्छ, तर हिनतावोध राख्नुहुन्न: डा बाबुराम भट्टराई (भिडियो) – Nepal Press
नेपाल टक:

बाह्य शक्तिको चलखेलमा सचेत रहनुपर्छ, तर हिनतावोध राख्नुहुन्न: डा बाबुराम भट्टराई (भिडियो)

‘यो अन्तरिम सरकार हो, जुनसुकै बेला निर्वाचनमा जान सक्छ’

प्रखर र बौद्धिक नेताका रुपमा सुपरिचित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद अध्यक्ष छन् । हालै विभाजित बनेको उनको पार्टी शेरबहादुर देउवा नेतृत्वको गठवन्धनमा सहभागी हुने तयारीमा छ ।

हरेकजसो राष्ट्रिय मुद्दाहरुमा सामाजिक सञ्जालमार्फत आफ्नो विचार अभिव्यक्त गरिरहेका हुन्छन् डा. भट्टराई । आलोचनासँग नडराउने र आफ्नो विचारमा अडिक रहने स्वभावले उनलाई अन्य नेताभन्दा पृथक बनाएको छ । उनका अभिव्यक्तिहरुलाई चासोका साथ पछ्याउने ठूलो जनसमूह छ देशमा । यद्यपि, उनका आलोचकहरु पनि त्यत्तिकै छन् ।

विगतमा केपी शर्मा ओली सरकारको कटु आलोचकका रुपमा देखा परेका थिए डा. भट्टराई । अहिले देउवा नेतृत्वको सरकार गठन भएपछि पनि उनले सरकारका गलत क्रियाकलपप्रति असहमति राख्न चुकेका छैनन् ।

हालै पार्टी कामको सिलसिलामा कैलाली आएका डा. भट्टराईसँग विभिन्न समसामयिक विषयमा गरिएको संवाद प्रस्तुत छ, नेपाल टकमाः

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल आएर अरु सबैलाई भेटे, तर तपाई र उपेन्द्र यादवलाई नभेटी फर्किए । यसलाई दिल्लीको कस्तो सन्देशका रुपमा बुझ्न सकिन्छ ?

यसलाई त्यसरी हेर्न हुँदैन । नेपाल खुल्ला सीमा भएको मुलुक हो । भारतबाट मान्छेहरू आउँछन्, जान्छन् । कोही तीर्थ–व्रत गर्न आउँछन् । कोही कैलाश पर्वत जान आउँछन् । त्यो बेला तिनको चिनजानको, मन लागेको मान्छे भेटेर जान्छन् । त्यसलाई ठूलो रुपमा लिनु हुँदैन । हामीले चर्चा गर्नुपर्ने विषय नै होइन यो ।

भनेपछि यो विषयलाई तपाईं महत्व नै दिन चाहनुहुन्न ?

हो ।

तर, तपाईंहरूलाई पो चौथाईवालले महत्व नदिएको चर्चा छ ?

होइन । उहाँ एउटा सामान्य जुनियर राजनीतिज्ञ हो । इन्डियामा पनि त्यति चिनिएको मान्छे उहाँ होइन । उहाँ जस्ता सबै मान्छेहरू यहाँ आइरहेका हुन्छन् । आउनु भयो होला ।

हिन्दु धर्म र मोदीप्रति तपाईं आलोचक भएको र राहुल गान्धीको समर्थन गरेको हुँदा पो तपाईंहरुलाई वेवास्ता गरेका हुन् कि ?

त्यो गलत हो । यस्तो गलत कुरा गर्न हुन्छ ? मैले राहुल गान्धीलाई कहिल्यै भेटेको पनि छैन । देखेको पनि छैन । बरु मोदीजीलाई धेरै पहिले भेटेको छु ।

त्यो भेटमार्फत वर्तमान सरकारबाट तपाईंहरूलाई बाहिर राखेर महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउन शेरबहादुर देउवालाई दबाब आएको पनि सुनिएको छ नि ?

हामी नेपालीहरूले यस्तो हिनताबोध पाल्नु हुँदैन । कुन पार्टी सरकारमा जाने र कस्तो सरकार बनाउने भन्ने नेपालीहरुको इच्छा र निर्णयको कुरा हो । अरू कसैको प्रभावमा सबै चिज हुन्छ भनेर सोच्नु हुँदैन ।

त्यसोभए बैशाख १३ गते तपाईंले पाएको सूचना के थियो ?

देशभित्र कलह भयो भने त्यहाँ बाहिरी शक्तिहरूले आफ्नो स्वार्थको निम्ति हात हाल्छन् र सतर्क हुनुपर्छ भन्ने हो । म आफै प्रधानमन्त्रीको हैसियतमा पुगको हुँदा मलाई पनि यी सबै कुराहरू थाहा छ । अरू जनताले पनि बुझ्छन् ।

त्यसैले त्यति बेला केपी शर्मा ओलीले नेपालको व्यवस्था र संविधान नै धरापमा पार्नेगरी संविधानविपरीत गएर दुईपटक संसद् विघटन गर्ने र अन्ततः व्यवस्था नै विघटन गर्ने स्थिति सृजना गरे । त्यसले देशमा लोकतन्त्र नै धरापमा पर्ने थियो । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता धरापमा पर्ने अवस्था थियो । त्यो बेला बिभिन्न बाह्य शक्तिले खेल्न खोज्नु स्वाभाविक हो । र त्यहाँ खेले पनि ।

तपाईंको आशय बाह्य शक्तिले खेलेर प्रतिनिधीसभा विघटन भएको हो कि प्रतिनिधिसभा विघटनपछि शक्तिकेन्द्र खेल्न थालेका हुन् ?

त्यो दुबै कुरा हो । मुख्यरुपमा केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर व्यवस्था धरापमा पार्न खोजे । त्यसमा बाह्य शक्ति खेले ।

तपाईँसँग १३ गते आएको महत्वपूर्ण सूचना त्यही नै हो ?

थुप्रै सूचनाहरू छन् । मैले ती सबैमा सतर्क गराएको थिएँ । सतर्क भएनौं भने गम्भीर स्थिति आउँछ भनेको थिए ।

नेपालको भू–राजनीति तिब्र गतिले बढिरहेको छ । चीन एउटा विश्व शक्ति बन्दै गइरहेको छ । भारत पनि एउटा प्रतिस्पर्धी शक्तिको रुपमा आइरहेको छ । अमेरिका पनि विश्वशक्ति हुनुको नाताले चासो राख्छ । यस्ता ठुला शक्तिहरूसँगको नयाँ शीतयुद्ध नेपालमा सुरु हुँदै छ ।

हामीले बेलैमा ध्यान पुर्याएनौं भने जुन अफगानिस्तानको अवस्था भइरहेको छ, त्यस्तै त नहोला, हुबहु त दोहोरिँदैन । तर, त्यसरी नै देश र जनताले दुख पाउने स्थिति आउन सक्छ भनेर मैले सतर्क गराएकै हो ।

त्यो बेला भित्र–बाहिरबाट देशमाथि षडयन्त्र भइरहेको छ भन्नुभएको थियो । त्यो षडयन्त्र केपी ओलीको बहिर्गमनसँगै सकिएको हो कि अझै जारी छ ?

यस्तो षडयन्त्र कहिल्यै पनि सकिँदैन । मुख्य कुरा त हामी आफै सचेत हुने कुरा हो । राज्य रहँदासम्म यस्ता बाह्य र भित्री शक्तिहरूको चलखेल भइनै रहन्छ । अग्रगामी शक्तिहरूले यो कुरालाई बुझेर पहिले आफ्नो देशको समस्या आफै हल गर्ने अनि बाह्य शक्तिको चलखेलप्रति सतर्क भएर त्यसको निवारण गर्नु पर्छ ।

त्यो बेला तपाईंले सर्वदलीय सरकार बनाएपछि व्यवस्था जोगिन सक्छ भन्नु भएको थियो …

(प्रश्न पुरा नहुँदै )

त्यो बेला केपी शर्मा ओलीले अत्यन्त मुखर्तापूर्ण हर्कत गरिरहेका थिए । उनलाई ‘व्यवस्थासहित यो देश नै किन बर्बाद पार्छौ, बरु बेलैमा चेत, तिमीले मार्गप्रशस्त गर, छोड्दैउ’ भनिएको हो । हामी पूर्वप्रधानमन्त्रीहरु सबैले कसैले आकांक्षा नराखौँ र एउटा राष्ट्रिय सहमतिको सरकार बनाएर आउँ’ भनेर मैले प्रस्ताव गरेकै हो । तर, उनले त्यो सुनेनन् ।

उनको त्यो अहंकार थियो । अहिले पछारिएपछि उनले बुझेका होलान् । मैले जे भनेको थिए त्यो सत्य साबित त भयो ।

त्यो बेला राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव ओलीले नमानेकैले यो सरकार बनेको हो ?

त्यो त च्याप्टर क्लोज भइहाल्यो । उनले छोडेनन् । सबै जनता सडकमा आएर, सर्वोच्च अदालत मिलेर उनलाई गलहत्याउनुपर्ने स्थिति आयो । उनको आफ्नै मुखर्ताले गर्दा उनी गलहत्तिएका हुन् । हामीले त राम्रो सुझाव दिएका थियौँ । उनले सुनेनन् ।

तपाईंले भन्नुभएको राष्ट्रिय सहमतिको सरकार यो चाहिँ होइन ?

होइन । यो त बहुमतीय सरकार हो । केपी ओलीको बहिर्गमनपछि सत्ता त भ्याकुममा बस्दैन । त्यसैले वैकल्पिक बहुमतीय सरकार बनेको हो । केपी ओलीकै मूर्खताले यस्तो अवस्था आएको हो । नत्र त हामी प्रतिपक्षमै बस्न तयार थियौँ नि । काँग्रेस पनि तयार थियो ।

उनले आफ्नै पार्टी बर्बाद पारे, सरकार बर्बाद पारे र झण्डै देशलाई समेत बर्बाद गरेका थिए । त्यसबाट बचाएर, प्रतिगमनलाई रोकेर यो एउटा प्रकारको अन्तरिम सरकार बनाइएको हो । यो निर्वाचनसम्मको लागि निर्वाचन तयारीको सरकार हो ।

तपाईंहरूले बनाउनु भएको गठबन्धन सरकारको आयु कति लामो होला त अब ?

यसको आयु त संविधानले किटान गरेको छ । अधिकतम आयु अझै १६/१७ महिना होला । न्यूनतम आयु त चुनावमा जान्छु भनेपछि जतिबेला पनि जान पाइहालिन्छ नि ।

तत्काल निर्वाचन घोषणा हुन सक्ला त ?

चाहेको अवस्थामा हुन्छ । अब घोषणा हुने निर्वाचनको वैधानिकता पनि हुन्छ ।

धारा ७६ (५) को सरकार चुनावमा जान सक्छ कुनै पनि बेला । त्यो भन्दा अघिको सरकार जान सक्दैन । केपी ओलीले मूर्खता गरेर जान्छु भने तर, उनको जाने मनसाय थिएन । त्यहाँ बुझ्दा भित्री–बाहिरी शक्तिको ठुलो खेल भइरहेको थियो ।

तपाई कैलाली आउनु भएको छ । रेशम चौधरी यहीँको हुनुहुन्छ । तपाईंले विगतदेखि उहाँको रिहाइका लागि लविङ गर्दै आउनुभयो । अब सत्ता साझेदार हुनुभएको छ । के अब रिहाइको बाटो खुल्छ ?

थारुहरूको जुन विद्रोह हो, त्यो पनि संविधान निर्माण गर्ने क्रममा विष्फोट भएको असन्तुष्टि नै थियो । ती घटनाका बन्दीलाई आममाफी दिएर त्यो राजनीतिक मुद्दालाई अन्त्य गरिनु पर्छ र रेशम चौधरीलाई रिहाइ गरिनु पर्छ भन्ने कुरामा हाम्रो स्पष्ट धारणा छ ।

चर्चाको अर्को प्रसंग एमसीसीका बारेमा तपाईंको धारणा के हो ? न्यूनतम साझा कार्यक्रममा तपाईंहरूले यसलाई किन उल्लेख नगर्नुभएको ?

न्यूनतम साझा कार्यक्रममा सबै त उल्लेख हुँदैन नि । एमसीसीलाई हामीले एउटा वार्ता र संवादबाट राष्ट्रिय सहमतिबाट हल गर्छौं ।

त्यसो भए ढिलो–चाँडो पास हुन्छ ? परिमार्जित भएर कि हुबहु ?

केमा सहमति हुन्छ त्यही अनुसार हुन्छ । जे हुन्छ सहमतिको आधारमा हुन्छ ।

तपाईंको दलका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने वा रद्द गरिनु पर्ने बताउनुभएको छ । दुई दल विभाजन भएपछि उद्देश्य पुरा भएको ठानेर हो कि फेरी आफ्नो दल विभाजित हुने डरले हो ?

यसमा त आइनै हाल्यो, ल्याइहालियो । सांसदलाई छलेर अध्यादेश ल्याउनु राम्रो कुरा होइन सैद्धान्तिकरुपमा । तर, जे हुनु त्यो त भइसक्यो ।

अध्यादेश ल्याउँदा किन विरोध जनाउनु भएन ? गठबन्धन धरापमा पर्छ भनेर हो ?

किन विरोध नगर्नु । ओलीले गरेको गल्ती हामीले पनि गर्नुहुँदैन भनेर मैले ट्विट नै गरेको छु नि ।

अब फरक प्रसंग । तपाईंकी धर्मपत्नीले हालै ‘हिसिला: फ्रम रिभोलुसनरी टु फर्स्ट लेडी’ पुस्तक ल्याउनुभएको छ, जसमा प्रचण्डलाई भिलेन र तपाईंलाई हिरो देखाउन खोजिएको भनिन्छ । के त्यस्तै नै हो त ?

शब्द नै तपाईंले बेठीक भन्दै हुनुहुन्छ ।

प्रचण्डले लडाकुका हतियार बेच्न खोज्दा तपाईंले रोक्नुभएको लेख्नुभएको छ, त्यो सत्य हो ?

त्यो एउटा घटना हो । त्यो सत्य घटना हो । त्यो एउटा घटनाको कारणले पुस्तकलाई समग्र मूल्याङ्कन गर्न मिल्दैन ।

तपाईं प्रधानमन्त्री भएकै बेला ०६८ चैत्र २८ गते माओवादीका लडाकुहरूको सेना समायोजन प्रक्रिया टुंगिएको थियो । त्यसबेला अर्बाैको घोटाला भएको विषय तपाईंले नै बाहिर ल्याउनुभएको थियो नि ?

त्यो गलत कुरा हो । मैले भनिनँ । अरूले भनेको कुरा मलाई नहाल्नुस् न । मैले प्रचण्डको अरू कुराको आलोचना गरेको छु ।

त्यसो भए शिविरमा घोटाला भएको होइन ?

मैले बुझेसम्म त्यो छैन । छ भने पनि सबै छानबिन गरौँ मैले भनिरहेको छु नि ।

अब सत्ता साझेदार बन्नु भएको छ । हुन्छ त छानबिन ?

अहिले त यो अन्तरिम खालको सरकारले के गर्ला । चुनावपछि जुन स्थिर सरकार हुन्छ, त्यसले गर्ला । यो त कामचलाउ सरकार हो । चुनावी सरकार हो । यसले धेरै गर्न चाहेर पनि गर्न सक्दैन ।

जनयुद्धमा तपाईंहरूले ४ सय हतियार लुकाएको आरोप पनि लागेको थियो । किन लुकाउनु भएको थियो हतियार ?

त्यो त गिरिजाप्रसाद कोइरालालाई भनेरै हामीले राखेका थियौँ । प्रचण्ड, म र गिरिजाप्रसाद थियौँ । त्यो बेला नै भनिएको हो ।

देशमा राजतन्त्र बाँकी नै थियो । सेनाको स्थिति पनि टुङ्गो लागिसकेको थिएन । त्यस्तो अवस्थामा सबै हतियार बुझाएर राजाले भोली कु गरे भने के गर्ने भनेर सल्लाहै गरेर राखेका थियौँ । पछि सबै बुझायौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर