कर्णालीका मन्त्री शाही समाजवादीमा लागेपछि सहयोगीले साथ छोडे – Nepal Press

कर्णालीका मन्त्री शाही समाजवादीमा लागेपछि सहयोगीले साथ छोडे

सुर्खेत । एमाले विभाजनपछि एकीकृत समाजवादी पार्टी रोजेका कर्णाली प्रदेशका मन्त्री कुर्मराज शाहीले केही निकटस्थहरु गुमाएका छन् । सहयोगीहरुले साथ छाडेपछि कालिकोटको शुभकालिका गाउँपालिकामा उनी कमजोर बनेको टिप्पणी गरिएको छ ।

शाहीको वासस्थान रहेको सो गाउँपालिका एमालेको गढका रुपमा चिनिएको थियो । पार्टीमा विभाजन आउँदा शाहीले समाजवादी रोजे पनि उनका निकटस्थहरु एमालेमै रहेका हुन् । उनलाई यसअघि हरेक समयमा साथ दिने धनराज शाहीले आफू एमालेमै रहने बताएका छन् । उनी अहिले प्रदेश सभा कमिटीसदस्य समेत हुन् । उनी गाउँपालिकाको अध्यक्षका दावेदार समेत थिए ।

अर्का सहयोगी भरतराज धितालले पनि शाहीको साथ छोडेका छन् । उननले २०५४ सालको स्थानीय निकायको चुनावमा भत्ता गाविसबाट एमालेको अध्यक्षको उम्मेदवार बन्दै जितेका थिए । त्यसपछि निरन्तर उनी कुर्मराज शाहीकै सहयोगीका रुपमा रहे । तर अहिले कुर्मराज समाजवादीमा लागेपछि उनले साथ छोडेका हुन् ।

शाहीको घरसमेत रहेको शुभकालिका वडा नं. ५ का हिरे सुनारले पनि कुर्मराजको साथ छोडेका छन् । उनी पालिकामा लोकप्रिय युवा हुन् । उनीसँग पाँच सयभन्दा बढि मतदाता रहेको एमाले नेताहरुको दावी छ । उनकै वडाका अर्का कर्ण चौलागाईले पनि साथ छोडेका छन् । उनी नेकपा उमालेको निर्वाचन कमिटिका अध्यक्ष हुन् । उनले यसअघि कुर्मराज शाहीलाई नै साथ दिने गरेका थिए ।

गाउँपालिकामा उपाध्यक्षको दावेदार रहेकी लक्ष्मी चौँलागाईले पनि कुर्मको साथ छोडेकी छिन् । उनी एमाले जिल्ला कमिटी सदस्य पनि हुन् । सुर्खेत शिक्षा क्याम्पसमा स्ववियु उपसभापति भइसकेका पुष्पराज आचार्यले पनि मन्त्री शाहीको साथ छोडेका छन् ।

मन्त्री शाहीलाई पालिकाका अध्यक्ष षडानन्द चौलागाईं र उपाध्यक्ष पम्फा शाहीले मात्रै साथ दिएका छन् । उनका भाई जजराज शाही कालिकोटको मान्ममा नै रहे पनि आज आयोजना गरिएको समाजवादीको वैठकमा सहभागी भएनन् । यद्यपी उनले आफू समाजवादीमै लागेको जानकारी दिए । उनी जिल्ला कमिटी सदस्य हुन् ।

नेकपा एमालेबाट टिकट पाएर प्रदेश सभा चुनावमा जितेका शाहीले कर्णाली सरकारमाथि अविश्वास प्रस्तावमा मतदान हुँदा फ्लोर क्रस गरेका थिए । त्यसपछि उनलाई मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मन्त्री बनाएका छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर