काबुलको छायाँमा कमला ह्यारिसको एसिया भ्रमण समापन – Nepal Press

काबुलको छायाँमा कमला ह्यारिसको एसिया भ्रमण समापन

काबुल । काबुल र तालिबान छायाँमा अमेरिकी उपराष्ट्रपति कमला हयारिसको एसिया भ्रमण सकिएको छ । साता लामो एसिया भ्रमणमा पुगेकी ह्यारिसले सिंगापुर र भियतनामलाई अमेरिकी अलायन्सतर्फ ल्याउन प्रयत्न गरिन् ।

ह्यारिस भ्रमणको एउटै उद्देश्य थियो : एसियाली मुलुकमा दबदबा सिर्जना गरिरहेको चीनलाई दबाब दिनू । हनोइ र सिंगापुरमा ह्यारिसले इन्डो-प्यासिफिक योजनालाई कार्यान्वयन गर्नेतर्फ पहल गरिन् । तर, विश्लेषकहरु ह्यारिसको एसिया भ्रमण काबुल र अफगानिस्तानको छायाँमा परेको बताउँछन् ।

ती दुई मुलुकको भ्रमणमा ह्यारिसले चीनले एसियामा बुलिङ गरिरहेको आरोप लगाइन् जसको चिनियाँ पक्षले कडा खण्डन गरिसकेको छ । अमेरिकाले क्षेत्रीय स्थिरता खलबलाए कडा जवाफ दिने र साउथ चाइना सीमा हस्तक्षेप गरे प्रतिकार गर्ने चेतावनी चीनले दिएको छ ।

‘हामी कडा प्रतिस्पर्धालाई स्वागत गर्छौं । साउथ चाइना सीजस्ता मुद्दामा हामी द्वन्द्व चाहँदैनौं । हामी यसविरुद्ध आवाज उठाउँछौं’ भियतनामको हनोइमा आयोजित पत्रकार सम्मेलनमा ह्यारिसले भनिन् ।

‘यदि बेइजिङले अन्तर्राष्ट्रिय सहमतिविरुद्ध गएर धम्कीको भाषा बोल्छ भने हामी आवाज उठाउन तयार छौं’ उनले भनिन् ।

ह्यारिसको एकसाता लामो सिंगापुर र भियतनाम भ्रमणको उद्देश्य विश्वव्यापीरुपमा प्रभाव विस्तार गरिरहेको चीनलाई रोक्नु थियो । तर, उनको भ्रमण काबुलबाट अमेरिकी सेना फिर्ती र अफगानिस्तानका हिंसात्मक घटनाले ओझेलमा परेको छ ।

चीन, भियतनाम, ब्रुनाई, मलेसिया, फिलिपिन्स र ताइवानले विवादास्पद साउथ चाइना सीलाई आफूहरुको भएको दावी गर्दै आएका छन् । बुधबार हनोइमा त्यहाँका नेताहरुसँग छलफल गर्दै ह्यारिसले चीनले परम्परागत सामुन्द्रीक क्षेत्रलाई दावी गरेर धम्कीको भाषा बोलेको बताएकी थिइन् । यो अभिव्यक्तिको चिनियाँ मिडियाले विरोध गरे ।

चिनियाँ अखबार चाइना डेलीले यसबारे टिप्पणी गर्दै ह्यारिसले आफ्नै ढोंगीपनलाई बेवास्ता गर्दै चीनको विरोध गरेको उल्लेख गरेको थियो । बिहीवार ग्लोबल टाइम्स अखबारले अमेरिकाले चीनविरुद्ध भियतनामलाई उचाल्ने सपना देखिरहेको आरोप लगाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर