अञ्जली अधिकारीको आक्रोश : अंग्रेजी बोल्न नआउँदैमा म गवाँर भएँ ? – Nepal Press

अञ्जली अधिकारीको आक्रोश : अंग्रेजी बोल्न नआउँदैमा म गवाँर भएँ ?

काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल अञ्जली अधिकारी अत्यधिक ट्रोल हुने सेलिब्रिटीमध्ये पर्छिन् । विभिन्न अन्तरवार्तामा जिब्रो चिप्लिँदा होस् वा कमजोर अंग्रेजीका कारण होस, फेसबुकदेखि टीकटकसम्म उनलाई खिसिट्यूरी गरिएको हुन्छ ।

केही समयअघि अञ्जलीको एउटा अन्तरवार्ता क्लीप भाइरल भएको थियो । कुनै युट्यूव च्यानललाई दिएको अन्तरवार्तामा उनले एउटा अंग्रेजी शब्दको भाव नबुझी असान्दर्भिक जवाफ फर्काएकी थिइन् ।

अञ्जलीलाई अन्तरवार्तामा उनको ‘रिलेसनसीप स्टाटस’ का बारेमा सोधिएको थियो । जवाफमा उनले फेसबुक स्टाटसको कुरा गरेकी थिइन् । रिलेसनसीप स्टाटसबारेको प्रश्नमा अञ्जलीको जवाफ थियो, ‘मेरो स्टाटसमा प्रायः गीतहरु नै हुन्छन् । आफूले खेलेका भिडियोका क्लीप्सहरु पनि राख्छु ।’

यो जवाफले सामाजिक सञ्जालमा निकै ट्रोल भइन् उनी । सामान्य अंग्रेजी पनि नजान्ने अशिक्षित नायिकाको उपमा पाइन् उनले । कतिपयले चाहिँ अंग्रेजी नजान्नु ठूलो कुरा नभएको भन्दै उनको बचाउ पनि गरे ।

यस विषयमा हालै अञ्जलीले प्राइम टाइम टेलिभिजनको कार्यक्रम संगित मालामा कमल सरगमसँगको अन्तरवार्तामा स्पष्टीकरण दिएकी छन्, जुन सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस अन्तरवार्तामा उनले आफूलाई अंग्रेजी नजानेकैले होच्याउन नमिल्ने तर्क गरेकी छन् । अंग्रेजी जान्दैमा कोही आधुनिक नहुने र नजान्दैमा गवाँर पनि नहुने उनको भनाइ छ ।

अञ्जली भन्छिन्, ‘म ठूलो बोर्डिङ स्कुलमा पढेर आएको होइन । खेत रोपर दुई सय मासिक पैसा कमाएर पढेको हुँ । जुत्ता होइन, चप्पल लगाएर स्कुल गएको हुँ । मलाई अंग्रेजी बोल्न आउँदैन त आउँदैन ।’

उनी थप्छिन् ‘मलाई नेपाली बोल्न आउँछ, यसमै प्राउड छ नि त । म मधेसी समाजमा हुर्केँ । मधेसी बोल्न लगाउनुस, बोलिदिन्छु । अंग्रेजी बोल्न नआउँदैन भने मोडलै नमान्ने ? मलाई जति आउँछ, त्यति बोल्छु । बिगारेर होस वा सुधारेर । बिगार्छु, फेरि सुधार्छु । अंग्रेजी राम्ररी नबोल्दैमा गवाँर भन्न मिल्छ ? यस्तो पनि हुन्छ ?’

यद्यपि समयअनुसार सबै कुरा सिक्नुपर्ने भन्दै उनले आफू अहिले सिक्ने क्रममा रहेको पनि बताएकी छन् । उनी भन्छिन्, ‘मलाई मात्र होइन, अरु पनि धेरै कलाकारलाई अंग्रेजी बोल्न आउँदैन । मेरी आमालाई अंग्रेजी बोल्न आउँदैन । अब के म उहाँलाई आमा नै नभन्नु ? मदर, फादर, ब्रदर भन्दा आधुनिक हुने, आमा भन्दा गवाँर हुने हुन्छ ?’

कोही अंग्रेजी स्कुल पढेर खरर अंग्रेजी बोल्दैमा भीआइपी नहुने अञ्जलीको तर्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर