अफताव आलमको थुनामुक्त हुन पाउँ भन्ने निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै – Nepal Press

अफताव आलमको थुनामुक्त हुन पाउँ भन्ने निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । २०६४ सालको संविधानसभा चुनावको अघिल्लो दिन इँट्टा भट्टामा जिउँदै मान्छेलाई राखेर जलाएको अभियोगमा थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमले थुनामुक्त हुनका लागि दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाका पेसी तोकिएको छ । अघिल्लो साता राउत र कुमार रेग्मीको इजलासमा सो मुद्दा पेसीमा राखिएको थियो । तर, रेग्मीले हेर्न नमिल्ने भएकाले सुनुवाइ हुन सकेको थिएन । आलमलाई थुनामा राख्ने जिल्ला र उच्च अदालतको आदेशविरुद्ध उनी सर्वोच्चमा गएका हुन् ।
आलमलाई पुर्पक्षका लागि थुनामा राख्न रौतहट जिल्ला अदालतले २०७६ कार्तिक २९ गते आदेश दिएको थियो ।

ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विष्फेटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ परेका निलम्बित सांसद आलम मुलुकी फौजदारी संहिताको ७३ नम्बर बमोजिम सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । २०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा सर्वोच्च अदालतको आदेशमा गत असोज २६ गते आलम पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *