‘दुई लाखलाई रोजगारीमा जोडेका छौं, जुम्लाको दाल काठमाडौंमा बेच्छौं’ – Nepal Press
नेपाल टक

‘दुई लाखलाई रोजगारीमा जोडेका छौं, जुम्लाको दाल काठमाडौंमा बेच्छौं’

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल नचलाउनेहरु कमै होलान् । यद्यपि, यसलाई प्रायले ‘टाइमपास’ का लागि मात्रै प्रयोग गर्दै आएका छन् ।

रोलिङ नेक्ससले भने सामाजिक सञ्जाललाई व्यवसायीकरुपमै सदुपयोग गर्ने गरी नयाँ अवधारणा कार्यान्वयनमा ल्याएको छ । यस अवधारणामा बेरोजगार युवाहरु सामाजिक सञ्जालमार्फत रोजगारीमा जोडिन सक्छन् । स्वदेशी उत्पादनको बजारीकरणसमेत गर्दै आइरहेको नेक्ससले रोजगारी खोज्नेबाट शुल्क लिँदैन ।

संस्थाले विदेशबाट नेपाल आएर आफ्नो सीपअनुसार उद्यम गर्न र कुनै उत्पादन सुरु गर्नसमेत बैंक तथा वित्तीय संस्थासँग सहुलियतपूर्ण ऋणको व्यवस्था गर्दै आइरहेको छ । नेक्ससबाट कसरी सेवा लिन सकिन्छ, कस्तो ठाउँमा रोजगारीका अवसरहरु छन्, कस्तो उद्यम गर्न ऋण पाइन्छ जस्ता विषयमा नेपाल प्रेसका राजाराम न्यौपानेले रोलिङ नेक्ससका अध्यक्ष अनुप जङ्गमसँग गरेको कुराकानीः

रोलिङ नेक्सस के हो ? सर्वसाधारणले कसरी बुझ्ने ?

रोलिङ नेक्सस भनेको एउटा व्यवसायीक सामाजिक सञ्जाल हो । यो पेशाका लागि र व्यवसायिकताको लागि प्रयोग गरिने भएकाले व्यवसायिक सामाजिक सञ्जाल हो ।

अहिले सामाजिक सञ्जालहरु धेरै छन्, नेक्ससको व्यवसायीक सञ्जालबाट उपभोक्ताले के फरक पाउँछन् ?

नेक्सस धेरै किसिमले फरक छ । यो नेपालमा मात्रै हैन, दक्षिण एशियामा नै पहिलो अवधारणा हो । आफ्नै मौलिकता समेटेर नयाँ निकालेको व्यवसायीक सामाजिक सञ्जाल हो ।

अन्य देशलाई आफ्नै व्यवसायीक सामाजिक सञ्जाल आवश्यक परेन । ति देशहरुले अन्तर्राष्ट्रिय व्यवसायीक सामाजिक सञ्जाल नै सञ्चालन गरिरहेका छन् । विदेशी व्यवसायीक सामाजिक सञ्जालले नै सबै कुरा पुरा गर्छ भने त्यही देशको आफ्नै व्यवसायीक सामाजिक सञ्जाल चाहिदैन ।

विदेशी व्यवसायीक सामाजिक सञ्जालले नेपालीको मौलिकतालाई छुँदैन । विदेशी व्यवसायीक सञ्जालले माथिल्लो तहका व्यक्तिहरुलाई मात्रै समेटेको छ । नेपाली व्यवसायीक सामाजिक सञ्जालले श्रमिक, मदजुर र महिला सशक्तिकरण लगायतलाई समेटेको छ । नेपालीलाई आवश्यक भएर नै हामीले नेक्सस ल्याएका हौं ।

रोलिङ नेक्ससमा कस्ता-कस्ता व्यवसायिक कसरी जोडिने हो ?

नेपालको अर्थतन्त्रसँग जोडिएका युवालाई नै लक्षित गरेर नेक्सस आएको हो । नेपालको अर्थतन्त्रसँग यसले जोडिएर काम गर्न सक्छ ।

काम गर्ने वर्गलाई लक्षित गरेर नेक्सस आएको हो । सबै प्रकारका वर्ग, समु्दाय, गाउँ र शहरका लागि यो उपयोगी छ । सबैले आफ्नो लागि आवश्यक अवसर र सम्भावना नेक्ससमा खोज्न सकिन्छ ।

नेक्ससमा जोडिएर व्यवसायभन्दा बाहेक के-के सेवा लिन सकिन्छ ? शुल्क कति हो ?

हाम्रो निशुल्क नै हो । हामीले पहिले रोजगारी दिने काम गर्छौं । अन्तर्राष्ट्रिय अवधारणाअनुसार पनि रोजगारी खोज्नेहरुसँग शुल्क लिन पाइदैन । हामीले पछि पनि रोजगारी खोज्नेहरुसँग शुल्क लिँदैनौ ।

हामीले रोजगारी प्रदायक कम्पनीसँग शुल्क लिने हो । हाम्रो कम्पनीले मान्छे खोज्ने वा रोजगारीका लागि श्रमिक खोज्ने कम्पनीसँग शुल्क लिन्छौै ।

नेक्ससमा लगानी कति लागेको छ ?

हामीले नेक्ससमा ६ करोडको लगानी गरेका छौं । एपको निर्माण र एप सार्वजनिक लगायत गरेर यति लगानी भएको छ ।

नेक्सस स्थापना भएको कहिले हो ? यसमा जोडिएर कतिले व्यवसाय गरिरहेका छन् र कतिले रोजगारी पाए ?

नेक्ससको दुईवटा भर्सन रहेको छ । एउटा डिजिटल मिडिएमको र अर्काे वेभ भर्जन हो । एप ल्याएको करिब ७ महिना भएको छ ।

विगत १७ वर्षदेखि मानव संशाधनमा कम गरिरहेको भएर हामीलाई नयाँ आएजस्तो भएको छैन । हाम्रो पुरानै ख्यातिले नै राम्रो भइरहको छ । हामीले ७ महिनामा नै २ लाख सेवाग्राहीहरु जोड्न सफल भएका छौं ।

हाम्रो रोलिङ बजारमा व्यवसायी प्रवद्र्धनमा २ हजार उत्पादन र २ जना उद्योगलाई मार्केट दिने काम गरिसकेका छौं ।

नेक्ससमा मार्केट कसरी जोडिन्छ ? मार्केटिङ कसरी गर्नुहुन्छ ?

नेक्ससमा २ लाख रोजगारी खोजी गर्ने जोडिएका छन् । २ सय भनेको उद्यमी नै हुन् । जसको हातमा सीप भएको र घरमा नै बस्तु उत्पादन गर्न सक्ने तर बजारमा कसरी लाने भन्ने जानकारी नभएकाहरुको लागि हामीले इ–कमर्सको माध्यमबाट ग्राहकको घरमा नै उत्पादन पुर्याउने काम गरिरहेका छौं ।

नेक्ससको ई-कमर्शले जुम्लामा फलेको स्याउ पनि ल्याएर बिक्री गर्न सकिन्छ ?

हाम्रो २ हजारजना उद्यमी जोड्ने लक्ष्य रहेको छ । अहिले २ सय अर्थात १० प्रतिशतमा हामी सिमीत छौं । हामी अन्य धेरैसँग सम्भौता गर्ने क्रममा छौं ।

अहिले हामीले जुम्लाको दालहरु बिक्री गरिरहेका छौं । हामीले भान्सामा चाहिले सबै उत्पादनको बिक्री गरिरहेका छौ । स्याउ अहिले छैन । पछि हामी त्यसलाई पनि जोड्ने छौं । मौलिक र घरेलु बस्तुहरुमा हामीले विषेश महत्व दिने छौं ।

हाल विश्व बजारमा आएका ई-कमर्शहरुले आफ्नो मात्रै नभएर विश्वभरका उत्पादनलाई नै विशेष प्राथामिकता दिइरहेको बेला तपाईंहरुले नेपाली उत्पादनलाई किन जोड दिनुभएको छ ?

विश्वभरका उत्पादनलाई जोडेको भए व्यापारको आकार ठूलो हुन्थ्यो । तर हाम्रो उद्देश्य भनेको रोजगारीको सिर्जना र उद्यमशीलताको प्रवद्र्धन हो ।

उद्यमशीलताको प्रवद्र्धन गर्न बोलेर मात्रै भएन । उत्पादन भएको बस्तु बिक्री गर्नका लागि ई-कमर्शको हामीले सहायता लिएका हौं । नेपाली उत्पादनलाई नै प्रमोट गर्ने भनेपछि विदेशी सामान बिक्री गरेर भएन ।

हामीले सबै नेपाली उत्पादन पनि बिक्री गर्ने हैन । जसको ठूलो उद्योग छ र बजारमा सजिलै पुर्याउन सक्छ उसँग हामी जोडिँदैनौं । हामी त्यस्ता उत्पादकहरुका सारथी बन्छौं, जसलाई आफुले उत्पादन गरेको बस्तु कहाँ र कसरी बिक्री गर्ने भन्ने ज्ञान हुदैन ।

कुनै ठाउँका उत्पादक नेक्ससमा जोडिन चाहे भने कसरी जोडिने ?

हाम्रो कार्यालयमा सम्पर्क गर्ने । उत्पादकले नेक्ससमा जोडिन चाहेको अवस्थामा हामीले कस्तो वस्तु हो, कति मूल्य राख्ने भन्ने विषयमा छलफल गरेर नेक्सससँग जोड्ने छौं । हामीले नेक्ससको आइडी बनाइदिन्छौं र चलाउन पनि सिकाइदिन्छौं ।

रोलिङ नेक्ससले विक्री गर्ने वस्तुको मूल्य कसरी निर्धारण हुन्छ ? समान प्रकृतिका बस्तुको मूल्य तलमाथि हुन्छ ?

हामीले उत्पादकसँग कुरा गरेर नै बस्तुको मूल्य निर्धारण गछौं । हामी सिधै उत्पादकसँग जोड्ने भएकाले नाफा राख्दैनौं । हामीले बस्तु होम डेलिभरी गर्दा लाग्ने शुल्क मात्रै लिने गर्छाै ।

बस्तु उत्पादन गर्दा कच्चा पदार्थ र मजदुरको खर्चमा १० देखि २० प्रतिशत जोडेर हामीले मूल्य निर्धारण गछौं ।

रोलिङ नेक्ससमा जोडिएर रोजगारी खोज्ने कसरी ?

रोलिङ नेक्ससमा ‘रोलिङ जब’ भन्ने प्लेटपर्म हुन्छ । यसले रोजगारी दिने कम्पनी र रोजगारी खोजिरहेको मान्छेलाई जोड्छ । हामीले १० वर्ष पहिलेबाट नै रोजगारी खोजिदने गरेका थियौं । रोलिङ जबको सेरोफेरोबाट नै रोलिङ नेक्ससको विकास भएको हो ।

रोलिङ नेक्सस एपमा गएपछि त्यहाँ कुन–कुन रोजगारी छ भनेर देख्न सकिन्छ । त्यसपछि आफुले छानेर आवेदन दिन सकिन्छ ।

रोलिङ नेक्ससबाट रोजगारीमा जोडिएकालाई शोषण वा दुर्व्यवहार भयो भने तपाईंहरु जिम्मेवार हुनुहुन्छ ?

हामीले रोजगारी दिदाहरु दुई किसिमबाट जान्छन् । बैंक वा कुनै प्राइभेट कम्पनीको छनोट र भर्ना मात्रै गर्दिने गरेका छौं । हामीले भर्ना र छनोट मात्रै जिम्मा लाएको अवस्थामा हामी त्यसपट्टि जोडिदैनौं ।

हामीले कर्मचारी आउट सोर्सिङ पनि गरिरहेका हुन्छौं । उनीहरुलाई हाम्रो ‘पे रोल’ बाट नै तलब दिइरहेका हुन्छौं । यसरी काम गरिरहेकालाई दुव्र्यवहार भए हामीले कानुन अनुसार नै कारवाही गर्छौैं ।

बैदेशिक रोजगारीमा भएकाहरु पनि जोडिन सक्छन् ?

३५ लाख नेपाली वैदेशिक रोजगारीमा रहेका छन् । आर्थिक साक्षरता नभएको कारणले रेमिटेन्सबाट आएको पैसा पनि राम्रो ठाउँमा र सही तरिकाले प्रयोग भएको छैन ।

२ वर्ष विदेश बसेर नेपाल आएपछि पनि पैसाको सही तरिकाले प्रयोग भएको पाइदैन । विलासीका बस्तु किन्ने, घरभाडा तिर्ने र फजुल खर्च धेरै हुने गरको छ ।

विदेशमा भएका नेपालीहरुले एप प्रयोग गरेर विदेशमा नै आफुले जम्मा गरेको पैसाले आफुसँग भएको सीप कसरी प्रयोग गर्ने वा कुन उद्यम गर्ने भन्ने विषयमा ज्ञान प्रदान गर्ने छौं ।

नेपाल आएपछि एपबाट बाहिर निस्केर हाम्रो साझेदार संस्थासँग मिलेर के गर्दा देशमा अवसर छ भन्ने कुराको जानकारी गराइ त्यसतर्फ लगानीका लागि वातावरण सिर्जना गर्ने छ ।

विदेशबाट आएका व्यक्तिहरुलाई कुनै ठाउँमा लगानी गर्दा आफुसँग भएको पैसाले पुगेन भने बैंकबाट सहुलियतमा ऋण समेत दिने सम्झौता हामीले गरेका छौं ।

कुन कुन व्यवसाय गर्दा सहुलियतपूर्ण ऋण पाइन्छ ?

हामीले धेरै बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरेका छौं । ती संस्थाहरुले कुन क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ भन्ने छुट्याएर लगानी गर्ने छन् । वा सहुलियतपूर्ण ऋण दिने छन् ।

रोलिङ नेक्सस के उद्देश्यले कसरी स्थापना भएको हो ?

रोलिङ नेक्सस भर्खरै आएको प्रोडक्ट हो । रोलिङ नेक्सस आफैमा संस्था हैन । यो रोलिङ प्लान्स प्रालीको ब्राण्ड हो । हामी प्राइभेट कम्पनी भएपनि हामीले रोजगारी दिने काम धेरै गरयौं ।

लुकेर बसेकाहरुलाई रोजगारीमा जोड्ने, रोजगारी सिर्जना कसरी गर्ने भन्ने प्रश्नको उत्तर नै रोलिङ नेक्सस हो ।

रोलिङ नेक्ससमा कतिलाई जोड्ने लक्ष्य रहेको छ ?

हामीले ३ वर्षे योजना बनाएका छौं । अहिले नै हामीेले २ लाखलाई जोडिसकेका छौं । ३ वर्षभित्र २० लाखलाई रोलिङ नेक्ससमा जोड्ने लक्ष्य राखेका छौं । २० लाख रोलिङ नेक्सस जोडिएपछि पूर्णरुपमा यो एउटा व्यवसायीक सञ्जाल बन्ने छ ।

नेपालको पहिलो व्यवसायीक सञ्जाल रोलिङ नेक्सस नै हो ?

नेपालमा मात्रै नभएर प्रोडक्टमा दक्षिण एशियाको नै पहिलो व्यवसायीक सामाजिक सञ्जाल हो । एशियाका अन्य देशहरुले विदेशी व्यवसायीक सामाजिक सञ्जाल सञ्चालन गरिरहेका छन् ।

एपमार्फत सबैले रोजगारीका लागि आवेदन दिन सक्दैनन् । तर रोजगारी खोज्ने सबै शिक्षित पनि हुँदैनन् नि ?

हामीले यो विषमया धेरै लामो छलफल नै चलाएका थियौं । विभिन्न एपको चलाउने तरीका फरक हुन्छ । हामीले त्यसैका लागि कर्मशिल भनेर नेपाली भर्जनमा राखेका छौं ।

हामीले प्रत्येक प्रदेशमा कार्यालय खोलेका छौं । स्थानीय स्तरमा नै गएर हामीले छलफल चलाइरहेका छौं ।

हामो केन्द्रीय कार्यालय विजुली बजारमा रहेको छ । त्यहाँ नै आएर पनि जानकारी लिन वा सेवा लिन सकिने छ । भने प्रदेशको राजधानीमा पनि हाम्रो शाखा कार्यालयहरु छन् । त्यहाँ गएर पनि बुझ्न सकिन्छ ।

लामो समय रोलिङ नेक्ससमा काम गरिसक्नु भएको छ ? ठूला कुन-कुन कम्पनीमा रोजगारीका लागि जोडिदिनु भएको छ ?

हामीले संस्थाको नाम नै भन्दा अलि नमिल्ला । क र ख वर्गका ३० वटा बैंक र नेपालको ठूलो टेलिकम कम्पनीसँग मिलेर काम गरिरहेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर