रुपन्देही, कपिलवस्तु र नवलपरासीकाे दक्षिणी क्षेत्र डुबानमा, देवदहमा पक्की पुल भासिँदा राजमार्ग अवरुद्ध – Nepal Press

रुपन्देही, कपिलवस्तु र नवलपरासीकाे दक्षिणी क्षेत्र डुबानमा, देवदहमा पक्की पुल भासिँदा राजमार्ग अवरुद्ध

रूपन्देही । बुधबारदेखि परेको अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु र नवलपरासीकाे दक्षिणी क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् । रुपन्देहीको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा देवदहका अधिकांश भूभाग डुवानमा परेका हुन् ।

भैरहवासहित जिल्लाको दक्षिणी क्षेत्रमा पुरै गाउँ डुबानमा परेका छन् । नवलपरासीको परासी बजार पूर्णरूपमा डुवेको छ । बजारमा रहेका सबै घरमा पानी पसेको परासीका स्थानीय पत्रकार केशव पराजुलीले जानकारी दिए ।

नवलपरासी सदरमुकाम परासी बजारमा बाढीमा फसेकाहरुकाे उद्दार गर्दै सुरक्षाकर्मी ।

रुपन्देहीको देवदहस्थित घोडाहाको पक्की पुल भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

त्यस्तै नवलपरासीको गैंडाकोटमा रहेको डाईभर्सन बगाउँदा रातिदेखि नै राजमार्ग अवरुद्व भएको थियो । सोही सडकखण्डको बर्दघाट–बुटवल क्षेत्रमा रहेको ३ वटा डाईभर्सन पनि बाढीले बगाएको छ । वर्षा नरोकिएकोले मर्मत गर्न नसकिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

पूर्व-पश्चिम राजमार्गस्थित रुपन्देहीकाे देवदहमा भासिएकाे पक्की पुल ।

निरन्तरको वर्षाले रूपन्देहीको तिनाउ, रोहिणी, कन्चन, कपिलवस्तुको वाणगंगामा जलसतहभन्दा माथि बाढी आएको छ । मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । तर सबै ठाउँमा जलमग्न भएकोले क्षतिको एकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको प्रहरीको भनाई छ ।

जलमग्न बुटवल ।

यता सिद्धार्थ राजमार्गको गिट्टीखोला नजिकै पहिरो खस्दा बुटवल तानसेन खण्ड र राम्दीपुल नजिकै पहिरो खस्दा बुटवल–पाल्पा–पोखरा खण्ड पनि अवरुद्ध भएको छ।

लगातारकाे वर्षापछिकाे बाढीले पानी वस्तीमा पस्न थालेपछि हिजाे साँझदेखि नै बुटवल आसपासका क्षेत्रमा विजुली आपूर्ति बन्द छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *