ओलीको सामुन्ने शेरधनले सम्झाएको कमजोर गणित र भीम आचार्यको उतारचढाव – Nepal Press

ओलीको सामुन्ने शेरधनले सम्झाएको कमजोर गणित र भीम आचार्यको उतारचढाव

इटहरी । बुधवार साँझ बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भीम आचार्य र शेरधन राईलाई बोलाए । त्यहीँ तय भयो, राईले आचार्यलाई मुख्यमन्त्री बनाउन बाटो खुला गर्ने । दलको बहुमत कायम राख्न आचार्यले माधव नेपाल पक्षमा लाग्नबाट प्रदेशसभा सदस्यहरूलाई रोक्ने ।

आचार्यले नेपाल पक्षबाट को-को सांसद आउँछन् भन्ने हिसाब सुनाउँदै गर्दा शेरधनले ठट्टा गर्दै भने, ‘अहिले त यो पनि मेरो, त्यो पनि मेरो भन्नुहुन्छ । तर, हिसाबमा तपाईं कमजोर हुनुहुन्छ है कमरेड । तपाईंको हिसाब पहिले पनि फेल भइसकेको छ ।’

राईको कुराले ओली पनि नहाँसी बस्न सकेनन् । हुन पनि आचार्य शेरधनसँगको प्रतिस्पर्धामा पनि हिसाबमा चिप्लिएका थिए । आफ्नो गुटका भनेर गनेका सांसद शेरधनतिर लागिसकेको उनले भेउ नै पाएका थिएनन् ।

प्रदेश १ को पहिलो मुख्यमन्त्री बन्ने धोको पूरा नभए पनि नेकपा एमाले विभाजनलाई रोक्ने प्रयास गरेवापत भीम आचार्यले दोस्रो मुख्यमन्त्री बन्ने मौका पाएका छन् । उनको दल विभाजन भएकाले सरकारको स्थायित्वमाथि प्रश्न उठेकै छ तर पनि आफूले दलको नेतामा पराजित गरेका आचार्यलाई सत्ता हस्तान्तरण गरेर शेरधन राईले पार्टीको लागि योगदान दिएका छन् ।

२०७४ माघ २६ गते शुक्रबार एमाले प्रदेश १ को संसदीय दलको नेताको चुनाव हुँदा एमाले प्रदेश १ इन्चार्ज तथा सचिव भीम आचार्य र सहइन्चार्ज तथा पोलिटब्यूरो सदस्य शेरधन राईबीचमा प्रतिस्पर्धा थियो ।

खासमा त्यो एमाले संसदीय दलको चुनावमात्रै थिएन । ९३ सदस्य ऐतिहासिक प्रदेश सभाको ५१ सिटको एकछत्र बहुमत भएकोले मुख्यमन्त्रीकै चुनाव थियो ।

आचार्यलाई बधाई दिँदै निवर्तमान मुख्यमन्त्री राई

चुनावताका धेरैले शेरधन राईले हार्ने भीम आचार्यले जित्ने भन्दै आएका थिए । समानुपातिकमा आफ्नै मान्छे धेरै अटाएका आचार्य नै विजयी हुन्छन् भन्ने धेरैको अनुमान थियो । कतिसम्म आत्मविश्वास थियो भने आचार्यको गृहजिल्ला सुनसरीको धरान, इटहरीदेखि इनरुवाका समर्थकहरू फूलमाला लिएर विराटनगर पुगेका थिए ।

चुनावी गणितले अनुमान गलत सावित गर्‍यो । राईले २६ मत ल्याउदा आचार्यले २४ मात्रै ल्याए । एक मत बदर भयो । बदर भएको मत खोटाङका सांसद राजन राईको थियो ।

तत्कालीन गुटगत चुनावमा यत्ति धेरै गुट हावी थियो कि आचार्यले जित्लान् र फूलमाला लाउँला भनेर सुनसरीबाट गएका केही आचार्यनिकट नेता-कार्यकर्ताहरूले फूलमाला शेरधनलाई लाएनन् । उनीहरूमध्ये केहीले विराटनगरबाट फर्केर दुहबी नजिकै आएपछि बुढीखोलामा फूलमाला फाले ।

त्यसको ठीक साढे तीन बर्षपछि भने चित्र फेरिएको छ । शेरधन राई र भीम आचार्य गुटगत प्रतिस्पर्धीबाट माथि उठेर सहकार्यमा पुगे । बिहीबार बिहान ११ बजे विराटनगरको एसियाटिक होटलमा एमाले संसदीय दलको बैठक बस्यो । वैठकमा शेरधन राईले नै आचार्यलाई दलको नेतामा प्रस्ताव गरे । आचार्यले दलको नेता भए लगत्तै मुख्यमन्त्रीको सपथग्रहण गरे ।

शेरधन राईले एमालेको सरकार जोगाउन र विभाजनको असर धेरै कम गर्न आचार्यलाई संसदीय दलको नेता र मुख्यमन्त्री मानेको बताएका छन् । आचार्यले भनेजस्तै उनी आउनासाथ माधव पक्षका भनिएकाहरू क्रमशः बैठकमा आएका छन् ।

नेपाल पक्षका भनिने सांसदहरू लिलाबल्लब अधिकारी, यशोदा अधिकारी, सावित्री जोशी, लक्ष्मण तिवारी, बलबहादुर साम्सोहाङ, होमकुमारी साँवा, जीवन घिमिरे र राजकुमार ओझाले खुलेर समर्थन जनाएका छन् ।

स्ववियू सचिवदेखि मुख्मन्त्रीसम्म

२०१६ साल वैशाख १४ गते जन्मिएका भीम आचार्य धनकुटाको साविकको तेलिया गाविसको वडा नम्बर ६ मा जन्मिएका हुन् । अहिले उनी ईनरुवा नगरपालिका-६ सुनसरीमा बस्छन् ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका आचार्यले विद्यार्थीकालबाटै राजनीति सुरु गरेका हुन् । खासगरी २०३२ सालको विद्यार्थी आन्दोलनबाट उनी विद्यार्थी राजनीतिमा होमिएका हुन् ।

२०३५/३६ को विद्यार्थी आन्दोलनमा उनी व्यापक सक्रिय भए । २०३६ सालमै इन्जिनियरिङ अध्ययन संस्थानको स्ववियू सचिवमा विजयी भएका आचार्य २०३८ सालमा तत्कालीन मालेको युथ लिगको सचिवहुँदै लैनचौरको सरस्वती क्याम्पसको स्ववियू सचिव भए ।

२०३९ सालमा उनी अनेरास्ववियूको केन्द्रीय महासचिव भए । २०४१ सालतिर उनी ११ पटक पञ्चायती सत्ताबाट थुनिए । दुई वर्ष जेलजीवन बिताए ।

२०४६ सालमा तत्कालीन मालेले बनाएको ‘प्रजातान्त्रिक आन्दोलन समन्वय समिति’को समेत सचिव भएर उनले जिम्मेवारी निर्वाह गरे । बहुदल स्थापनापछि २०४७ देखि २०५५ सम्म एमाले सुनसरीको सचिव भए । त्यतिबेला एमालेको सचिव पद कार्यकारी थियो ।

२०५४ सालमा नेपालगञ्जमा भएको एमाले छैटौँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य चयन भए । २०५७ सालदेखि २०५८ सम्म उनी केन्द्रीय पार्टी कार्यालयको सचिव भए ।

मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै नेता आचार्य ।

२०५८ देखि २०६५ सालसम्म एमाले कोशी अञ्चल इन्चार्ज भएका उनी संविधानसभा सदस्य हुँदै २०६५ देखि २०६९ सालसम्म एमाले संसदीय दलको प्रमुख सचेतक भए ।

२०७० सालमा गठित सुशील कोइराला क्याबिनेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रीको जिम्मेवारी सम्हालेका आर्य एमालेको नवौं महाधिवेशनबाट सचिवमा निर्वाचित भए । हाल उनी प्रदेश १ को इन्चार्ज छन । र, बिहीबारदेखि उनी प्रदेश १ को दोस्रो मुख्यमन्त्री हुन सफल भएका छन् ।

तत्कालीन एमालेका वरिष्ठ नेता झलनाथ खनाल र भीम आचार्यलाई नातेदार पनि भन्ने गरिन्छ ।  पारिवारिक सम्वन्धका कारणमा विगतमा एमालेका हरेक गुटगत क्रियाकलापमा आचार्यले खनाललाई बलियो साथ दिँदै आए ।

त्यसो त एमालेको पछिल्लो विवादमा आचार्य र खनाल दुवै माधव नेपाल समूहमा थिए । तर, पछिल्लो विकासक्रमसँगै आचार्यसहित एमालेको मध्यमार्गी समूह मुलधारमा मिसियो । उपचारका क्रममा दिल्लीमा रहेका खनालले भने उतैबाट नवगठीत एकीकृत समाजवादी पार्टी रोजेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर