संवैधानिक परिषद्‍मा माधव नेपालले खोजे भाग, उपसभामुखमा सरलाको सम्भावना – Nepal Press

संवैधानिक परिषद्‍मा माधव नेपालले खोजे भाग, उपसभामुखमा सरलाको सम्भावना

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संवैधानिक परिषद्‍मा आफ्नो प्रतिनिधित्व खोजेको छ । एमालेबाट विभाजित भएलगत्तै सो पार्टीले उपसभामुखमा दावी गरेको हो ।

उपसभामुख संवैधानिक परिषद् सदस्य पनि हुने भएकाले शक्ति सन्तुलनका लागि पार्टीको दावी हुनु स्वाभाविक रहेको केन्द्रीय सदस्य श्रीप्रसाद साहले बताए । विगत करिब दुई वर्षदेखि उपसभामुख पद रिक्त छ ।

संविधानमा सभामुख र उपसभामुख एकै दल र एउटै लिंगको हुन नहुने भएकाले माधव नेपालले परिषदमा आफ्नो प्रतिनिधित्व समेत हुनेगरी उपसभामुख दावी गर्न लागेको बताइएको छ ।

एकीकृत समाजवादीले उपसभामुख पाउँदा सरला यादवले मौका पाउने सम्भावना छ । उनी माधव नेपालको गृहजिल्ला रौतहटबाट समानुपातिक सांसद हुन् । मधेशी महिला समेत भएकाले उनको सम्भावना बढी रहेको नेताहरूले बताएका छन् ।

उपसभामुखमा पुष्पाकुमारी कर्ण कायस्थको पनि चर्चा थियो । तर, उनका पतिलाई योजना आयोगको सदस्यमा माधव नेपालले सिफारिस गरिसकेकाले सरलाको सम्भावना बढेको हो ।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्री शेरवहादुर देउवा बाहेक एमालेबाट प्रतिपक्षी दलको नेताको हैसियतमा केपी शर्मा ओली र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना छन् । त्यस्तै सभामुख अग्नि सापकोटाले माओवादीको प्रतिनिधित्व गर्छन् ।

संसदको पहिलो, दोस्रो र तेस्रो दलले परिषद्‍मा प्रतिनिधित्व गरिरहेकाले सन्तुलनका लागि चौथो ठूलो दल एकीकृत समाजवादीले दावी गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर