सेयर कर्जा १११ प्रतिशतले बढ्यो, बैंक तथा वित्तीय संस्थाको १ खर्ब ६ अर्ब कर्जा जोखिममा – Nepal Press

सेयर कर्जा १११ प्रतिशतले बढ्यो, बैंक तथा वित्तीय संस्थाको १ खर्ब ६ अर्ब कर्जा जोखिममा

काठमाडौं । गत वर्ष बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर आक्रमक कर्जा विस्तार गरेको देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारमा जाने मार्जिन प्रकृतिको कर्जा ११०.८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमात्रै नेपालका बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६ अर्ब सेयर धितोका आधारमा कर्जा दिएका छन् । अघिल्लो आर्थिक वर्ष ५० अर्ब ४० करोड मार्जिन प्रकृतिको कर्जा दिइएको थियो । आर्थिक वर्ष २०७७/७८ मा ५५ अर्ब ८७ करोड रुपैयाँ बढी कर्जा प्रवाह भएको छ । आर्थिक वर्ष २०७६/७६ मा ४५ अर्ब ४१ करोड रुपैयाँ मात्रै यस्तो कर्जा प्रवाह भएको थियो ।

करोडभन्दा माथिको, ५० लाख देखि १ करोडसम्म, २५ लाख देखि ५० लाखसम्म र ५० लाख भन्दा कम गरी चार भागमा विभाजन गरी वित्तीय संस्थाहरुले मार्जिन कर्जा दिने गरेका छन् । १ करोड भन्दा माथिको मार्जिन कर्जाको अघिल्लो वर्षको तुलनामा १३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा ३१ अर्ब ५३ करोड रुपैयाँ १ करोड भन्दा माथिको कर्जा प्रवाह भएकोमा गत आर्थिक वर्ष ७३ अर्ब ५३ करोड रुपैयाँ प्रवाह भएको छ । यसैगरी ५० लाख देखि १ करोडसम्मको कर्जा १२ अर्ब, २५ लाख देखि ५० लाखसम्मको कर्जा १३ अर्ब ३५ करोड र २५ लाख भन्दा साना कर्जा ७ अर्ब २७ करोड रुपैयाँ प्रवाह भएको छ ।

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले विस्तार गरेको आक्रमक कर्जाले वित्तीय जोखिम बढाएको छ । सेयर बजारमा गिरावट आएमा जनताको निक्षेप जोखिममा पर्ने संभावना बढ्दै गएको विज्ञले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *