चुनावी कार्यालय खोलेर अघि बढे विमलेन्द्र, दूरी बढ्दै देउवासँग – Nepal Press

चुनावी कार्यालय खोलेर अघि बढे विमलेन्द्र, दूरी बढ्दै देउवासँग

काठमाडौं । आसन्न महाधिवेशनमा दोहोरिने आकांक्षा राखेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समूह सग्लो नरहने करिब ‘निश्चित’भएको छ । सभापतिमा दावी गरेर निरन्तर संवादमा रहेका उपसभापति विमलेन्द्र निधिले औपचारिकरूपमै महाधिवेशनको तयारी थाल्ने भएपछि संस्थापन समूहबाट २ उम्मेदवार हुने निश्चित भएको हो ।

उपसभापति निधिले सभापति लड्ने तयारीका लागि शुक्रबारदेखि सम्पर्क कार्यालय सञ्चालन गर्ने भएका छन् । महाधिवेशन अभियान संयोजन गर्ने गरी थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा निधिले सम्पर्क कार्यालय खडा गरेका हुन् ।

‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मैले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको सम्बन्धमा यहाँहरू जानकार नै हुनुहुन्छ । यसै सिलसिलामा बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा मेरो सम्पर्क कार्यालय शुभारम्भ हुन गइरहेको पनि सहर्ष जानकारी गराउँछु’, निधिले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनको सम्पर्क कार्यालयको उद्घाटन शुक्रबार साढे १२ बजे हुने बताइएको छ । सम्पर्क कार्यालयबाट नेता कार्यकर्तासँग भेटघाट, नियमित अन्तरक्रिया, महाधिवेशन लक्षित गतिविधि र सञ्चार संयोजन लगायतका काम गरिने उपसभापति निधिका सल्लाहकार रामजी दाहालले जानकारी दिए । ‘१४ औं महाधिवेशनको लागि आवश्यक पर्ने सबैखाले गतिविधि सम्पर्क कार्यालयबाटै हुन्छ । नियमितरूपमा उहाँ सम्पर्क कार्यालय आउनुहुन्छ’, दाहालले भने ।

लामो समयसम्म सभापति शेरबहादुर देउवाको मुख्य राजनीतिक सहयात्री रहेका निधिले १४ औं महाधिवेशनमा जुनसुकै अवस्थामा आफनो उम्मेदवारी रहने बताउँदै आएका छन् । नेपाल विद्यार्थी संघको पूर्व अध्यक्षसमेत रहेका निधि कांग्रेसको महामन्त्री र उपसभापति रहिसकेका छन् । उपप्रधानमन्त्रीको अनुभवसमेत बटुलिसकेका निधिले आफ्नो पुस्ताका लागि १४ औं निर्णायक रहने बताउँदै आएका छन् । १३ औं महाधिवेशनमा सभापतिमा देउवालाई सघाउँदा नै १४ औं महाधिवेशनमा आफूलाई सघाउने सहमति भएको दावी गर्ने निधिले पार्टीका कार्यक्रमलाई जनतासँग जोड्न आफू उम्मेदवार बनेको बताउँछन् ।

‘कांग्रेसको महामन्त्री र उपसभापति भएर काम गरेको छु । नेतृत्वमा रहेर कांग्रेसलाई अझ बढी योगदान गर्नसक्छु भन्ने लागेको छ । देउवाजीलाई पनि भेटेर म सभापतिमा लड्छु सहयोग गर्नुस भनेको छ । रामचन्द्रजी, सिटौलाजी, प्रकाशमान, शशांक र शेखर सबैलाई भनेको छु । सके सहमतिका साथ अगाडि बढौ नसके मित्रवत प्रतिस्पर्धा गरौ भन्ने छ । तर जो आएपनि कांग्रेसलाई एक ढिक्का बनाउनुपर्छ’, निधिले नेपाल प्रेससँग भनेका छन् ।

१४ औं महाधिवेशनबारे उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच विभिन्न चरणमा छलफल भइसकेको छ । निधिले केही समयअघि युवा नेताहरूसँग पनि आफ्नो उम्मेदवारीबारे छलफल गरेका थिए । सम्पर्क कार्यालय स्थापनासंगै महाधिवेशन केन्द्रीय छलफललाई तीव्रता दिने निधिको तयारी छ । केही समयअघि सभापति देउवाले एकपटक आफूलाई सहयोग गर्न गरेको आग्रहलाई निधिले अस्वीकार गरिसकेका छन् । त्यसपछि देउवाले ‘उम्मेदवार बन्ने तपाईंको अधिकार हो’ भनी जवाफ दिएका थिए ।

निधिको पक्षमा अहिलेसम्म कांग्रेसका केन्द्रीय नेता र जिल्ला सभापतिहरू खुलिसकेका छैनन् । तर, निधिका निकटस्थहरू महाधिवेशनको सरगर्मी बढ्दै जाँदा निधिको पक्षमा खुल्ने क्रम बढ्ने दावी गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर