बतास समूहले किन्यो पोखराको मणिपाल मेडिकल कलेज – Nepal Press

बतास समूहले किन्यो पोखराको मणिपाल मेडिकल कलेज

पोखरा । कास्कीको पोखरा महानगरपालिका -११ फुलबारीमा रहेको मणिपाल मेडिकल कलेज बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले खरिद गरेको छ ।

कूल ३ अर्ब २५ करोडमा खरिद गरिएको मणिपाल मेडिकल कलेजमा बतास अर्गनाइजेसनको ६० प्रतिशत तथा अटोवेज ग्रुपको ४० प्रतिशत शेयर रहनेछ । मेडिकल कलेज खरिदसम्बन्धी सबै तयारी पूरा भएको र अन्तिम सम्झौताको ड्राफ्टसमेत तयार भइसकेको छ ।

शुक्रबार भर्चुअल माध्यमबाट सेयर खरीद सम्झौता (एसपीए) हुने बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले बताए । ‘मणिपालका एक जना भारतमा र अर्को अमेरिका हुनुहुन्छ,’ उनले भने, ‘हाम्रो पनि म काठमाडौं छु, नारायण सर पोखरा हुनुहुन्छ त्यसैले शुक्रबारको कार्यक्रम भर्चुअल नै हुन्छ ।’

मणिपाल मेडिकल कलेज तथा अस्पतालको आफ्नै ३० रोपनी जग्गासहित १० लाख वर्गफिटमा रहेको भवन तथा पूर्वाधार रहेको छ । नेपालमा वाह्य लगानीको पहिलो मेडिकल कलेजका रुपमा सन् १९९४ बाट सञ्चालनमा आएको यो अस्पतालमा करिब १४ सय जनशक्ति कार्यरत छन् ।

मेडिकल कलेजको सेयर हस्तान्तरणपछि बोर्डमा चार जना रहने सहमति भइसकेको छ । जसअनुसार बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष तथा अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेल उपाध्यक्ष रहनेछन् । यस्तै, बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास तथा निर्देशक विपेन्द्रराज बतास बोर्ड सदस्यका रुपमा रहनेछन् ।

नेपाल मेडिकल काउन्सिलबाट प्रतिवर्ष १ सय जनाको एमबीबीएस अध्यानिका लागि अनुमति पाएको मणिपाल कलेजसँग ९ सय बेड क्षमताको अस्पताल पनि रहेको छ । खरिद भइसकेपनि आफुहरुले अशोज १ गतेदेखि मात्र सुरु गर्ने बतासले जानकारी दिए ।

अस्पताललाई पब्लिक लिमिटेड कम्पनीका रुपमा लैजाने योजना रहेको अध्यक्ष बतासले जानकारी दिए । यस्तै, मेडिकल कलेजमा प्यारामेडिकल कोर्स, बीबीए तथा एमबीए एन्ड इञ्जिनियरिङ र बीडीएस अध्ययन सुरु गर्ने योजना रहेको उनले बताए ।

काठमाडौंमा पनि मेडिकल कलेज बिक्रीमा रहेपनि मणिपाल पोखराको भएकाले पोखरा नै आफ्नो रोजाईमा परेको उनले सुनाए ।
पोखराका बिरामीले नसा वा मुटुरोगको उपचारका लागि हेलिकप्टर चार्टर गरेर काठमाडौं जान नपरोस् भनेर नै हामीले यहाँ नै लगानी गरेका उनले प्रष्ट्याए ।

आफूहरुले सञ्चालन गरीसकेपछि थप थप डेढ अर्ब लागनी गरेर पूर्वाधार विकाश गर्दै पोखरामा डाक्टर पाउन नसेकेको अवस्थामा विदेशी कम्पनीसँगको सहकार्यमा रोवोटिक अप्रेशनमा पनि जाने उनले बताए ।

भारतको मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको यो मेडिकल कलेज सन् १९९४ बाट संचालनमा आएको थियो । ग्रुपले ५० वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनेको थियो ।

अब हस्पिटलको मुख्यभ भवन रहेको जग्गा आफुहरुको मातहतमा आउने बतासले बताए । छात्रावास रहेको जग्गा लिजमा रहेपनि अझै २८ वर्षको सम्झौता बाँकी रहेकाले त्यसपछि पनि पुन नविकरण गर्ने सहमति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *