सुदूरपश्चिममा एमालेलाई एकीकृत समाजवादीको धक्का– भीम रावलले आफ्नैलाई जोगाउन सकेनन् – Nepal Press
एमाले विभाजन

सुदूरपश्चिममा एमालेलाई एकीकृत समाजवादीको धक्का– भीम रावलले आफ्नैलाई जोगाउन सकेनन्

कैलाली । गत चैत्र १५ गते सम्पन्न नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो तर, भीम रावलको असहमतिपछि एमाले सरकारबाट बाहिरिएन । बरु सरकार पुनर्गठनमा एमालेले थप भाग पायो ।

जेठ १० गते बसेको स्थायी कमिटी बैठकले पनि प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, केन्द्रको निर्देशन अवज्ञा गर्दै २५ जेठमा एमालेका १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिए ।

सभामुखसहित एमालेका २५ सांसदमध्ये त्यो बेलासम्म रावल/नेपाल पक्षमा १७ सांसद खुलेका थिए । ओली पक्षमा भने ७ जना मात्रै थिए ।

सुदूरपश्चिम प्रदेशमा एमाले भित्र माधव नेपालका कारण भीम रावल बलिया भएका हुन् कि भीम रावलका कारण माधव नेपाल भन्ने बिषय चर्चामा थियो । तर, अहिले रावल एमालेमै रहने भएपनि उनी निकटकै व्यक्तिहरूले साथ छोडेका छन् ।

सुदूरपश्चिमको एमाले राजनीतिमा भीम रावल फ्याक्टर र प्रेम आले फ्याक्टरले काम गर्छ । रावल माधव नेपालसँग हुँदा आले ओलीतिर लागे । आलेले नेकपा विभाजनको बेला सुदूरपश्चिको ठूलो शक्ति ओलीतिर पारेका थिए ।

तर पछिल्लो समय आले ओली छाडेर माधव नेपालतिर लागे । ओलीतिरका मान्छे त यथावत रहे तर भीम रावल जो प्रदेशसभा र प्रदेश कमिटीमा सबैभन्दा शक्तिसाली थिए उनी एमालेमै रहँदा त्यो शक्ति आफूसँग राख्न सकेनन् । संघीय सांसदमा उनी र झपट रावलमात्र माधव नेपाल छाडेर एमालेमा रहे अरु पहिले नै ओलीसँग थिए ।

क–कसले छोडे साथ  ?

शेरबहादुर कुँवर

रावलको गृह जिल्ला अछाम हो । रावल एमाले सुदूरपश्चिम प्रदेश संयोजक हुँदा अछाम जिल्ला अध्यक्ष रहेका शेरबहादुर कुँवरलाई रावलको विश्वास पात्रको रुपमा लिने गरिएको थियो ।

उनी अन्तिम समयसम्म रावलको साथमा थिए । ओली पक्षले नेपाल समूहलाई साथ दिएको भन्दै उनलाई जिल्ला अध्यक्षको जिम्मेवारीबाट समेत हटाएको थियो ।

रावलकै जोड बलमा उनलाई राष्ट्रियसभा सदस्यमा निर्वाचित गराइएको थियो । तर, आज उनी रावलको साथमा छैनन् । माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा उनले सनाखत गरेका छन् ।

कुँवरलाई अछाममा बलियो जनाधार भएको नेताको रुपमा चिनिन्छ । २०६४ सालमा सुदूरपश्चिम प्रदेशबाट एमालेका तीन नेता मात्रै प्रत्यक्ष निर्वाचित भएका थिए । तीमध्ये एक हुन् कुँवर ।

बलियो जनाधार भएका आफ्नै नेताले साथ छोडेपछि जिल्लामै रावल कमजोर भएको विश्लेषण गरिएको छ ।

दीर्घ सोडारी

सुदूरपश्चिम प्रदेशसभामा एमाले संसदीय दलको नेता प्रकाश शाह भएपनि सोडारीको पक्षमा धेरै सांसद रहेको बताइन्छ । संसदीय निर्वाचनमा एमाले कैलालीका अध्यक्ष रहेका सोडारीले आफूनिकटका व्यक्तिहरुलाई टिकट दिएको र उनीहरु निर्वाचित भएपछि सोडारी थप बलिया भएका हुन् ।

सामाजिक विकासमन्त्री भएका बेला उनलाई कारबाही गरिएको थियो । पार्टी अध्यक्षबाट कारवाही भोगेका उनी सधैं बलियो नै रहे । नेपाल पक्षको भेलाले कारवाही फुकुवा गरे पनि एमालेले अझै उनको कारबाही फुकुवा गरेको छैन । तर, उनी दोस्रोपटक भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भए । रावलनिकट रहेका सोडारी अहिले नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।

बुधबार कैलालीको सुखड र मसुरियामा आयोजित कार्यक्रममा ओलीको अतिवादीको विरुद्धमा उभिएर नयाँ पार्टीमा लाग्न उनले आग्रह गरेका थिए ।

सो कार्यक्रममा कैलाली प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य अमर साउद र अछामबाट निर्वाचित बलबहादुर सोडारी पनि सहभागी थिए । उनीहरु दुवैले एमालेको साथ छोडेको बताइएको छ ।

सोडारीसहित सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले पनि रावलको साथ छोडेका छन् । उनी कञ्चनपुर एमालेका अध्यक्ष थिए । जेठ २ मा फर्किँदा उनी जिल्ला अध्यक्ष हुन् ।

प्रदेश सरकारको प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र पूर्व उद्योग वन तथा वन तथा वातावरणमन्त्री माया भट्ट नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य भएका छन् ।

भट्ट रावलनिकट हुन् भने जोशी घनश्याम भुसाल निकट हुन् ।

२४ चैत्रमा सुदूरपश्चिममा रावलले आप्mनो संयोजकत्वमा समानान्तर समिति तयार गरेका थिए । त्यसमा कैलालीको अध्यक्ष बनाइएका दीर्घ सोडारी, कञ्चनपुरको तारालामा तामाङ र अछामका अध्यक्ष तोकिएका शेरबहादुर कुँवर अहिले उनको साथमा छैनन् ।

प्रदेशसभामा पनि कमजोर

सुदूरपश्चिम प्रदेशमा ओलीइतरका १७ सांसद छन् । तीमध्ये आधा दर्जन बढी सांसद नेपाल पक्षमा खुलेका छन् । अहिलेसम्म माधव÷ भीम पक्षमा रहेका एमाले संसदीय दलका नेता प्रकाश शाह मात्रै रावलको पक्षमा खुलेका छन् ।

उनी प्रदेश सरकारको आर्थिक मामिला तथा कानूनमन्त्री समेत हुन् ।

अझै केही सांसद रावल पक्षमा खुल्ने बताइए पनि अधिकांश माधव/भीम पक्षका सांसदहरू नयाँ पार्टीमा जाने दावी गरिएको छ ।

‘अझै सल्लाह भइरहेको छ । हामीनिकट १७ जनामध्ये ३ वा ४ जना मात्रै एमालेमा रहन सक्छन् । अरू सबैले माधव नेपाललाई साथ दिन्छन्’ विगतमा रावलनिकट एक सांसदले भने ‘मैले पनि उहाँलाई साथ दिन सकिनँ ।’

सुरु देखिनै एमालेमा रहेका कैलालीका रतन थापा र नेपालु चौधरी, डडेल्धुराका पठानसिंह बोहरा, बैतडीका लिलाधर भट्ट, दार्चुलाका गेल्बुसिंह बोहरा र बझाङकी माया तामाङ बोहरा एमालेमै रहने भएका छन् ।

विगतमा रावलनिकट रहेर अहिले नयाँ पार्टीमा जाने योजना बनाएका एक प्रदेशसभा सदस्यले एमाले र एकीकृत समाजवादीमा आधा–आधा सांसद बाँडिने दावी गरे ।

२५ जना प्रदेशसभा सदस्य रहेको एमालेमा यसअघि नै ८ सांसदले एमालेलाई साथ दिने घोषणा गरिसकेका छन् । तीबाहेक १७ जना नेपाल /रावल पक्षका केही सांसद मात्रै एमालेमा रहने उनको दावी छ ।

प्रदेश सरकारमा पनि कमजोर

प्रदेश सरकारमा एमालेका अहिले चार मन्त्री र तीन राज्यमन्त्री छन् । उनीहरुमध्ये आर्थिक मामिला तथा योजना मन्त्री शाहले मात्रै रावललाई खुलेर साथ दिएका छन् । अन्य अधिकांश मन्त्रीले नेपाललाई साथ दिने एक मन्त्रीले बताए ।

‘कार्यकर्ताबाट नेपाललाई साथ दिन सुझाव आएको छ । मैले अझै खुलेर दल रोजेको छैनँ’, उनी भन्छन्, ‘मजस्तै धेरै अन्योलमा छन् । तर, धेरै मन्त्री नयाँ दलमा जान्छन् ।’

एमालेमा रहँदा मन्त्री पद जाने भएकाले पनि नेकपा एकीकृतमा जानेहरूको संख्या बढी हुनसक्ने उनको भनाइ छ ।

एमालेका ८ जना समानुपातिक सांसदमध्ये एक जना मात्रै ओली पक्षमा खुलेकी छन् ।

समानुपातिकमध्येकै पूर्णा जोशी र माया भट्ट नयाँ पार्टीको केन्द्रीय सदस्य छन् । समानुपातकिकै मना साउद सामाजिक विकास राज्यमन्त्री हुन् । दुर्गा विक प्रमुख सचेतक हुन् । अर्चना गहतराज, आर्थिक मामिला तथा योजना राज्य मन्त्री हुन् भने चुनकुमारी चौधरी भौतिक पूर्वाधार राज्यमन्त्री हुन् । सुशीला बुढाथोकीले मात्रै अहिलेसम्म पद पाएकी छैनन् ।

‘हिजो ओली पक्षमा जाने डरले समानुपातिकका सबैजसो सांसदले पद पाए । आज फेरि त्यहीं पद गुम्ने डरले रावलको साथ छोड्न बाध्य भएका हुन्’ नेपालनिकट एक सांसदले भने ।

उनले अहिले नेकपा एकीकृत समाजवादी पार्टीले आन्तरिक रुपमा सांसदहरूसँग छलफल चलाइरहेको समेत बताए ।

सुदूरपश्चिम प्रदेशमा १४ जना सांसद आफ्नो पक्षमा राख्ने नेकपा एकीकृत समाजवादीको दावी छ । यसो हुँदा प्रदेशको सबैभन्दा ठूलो दलनै एकीकृत समाजवादी हुनेछ ।

सबैभन्दा ठूलो दल बनाएर मुख्यमन्त्री बन्ने र थप केही सांसदलाई त्यहीं आश्वासनमा जोड्ने रणनीति रहेको एमालेका सांससदहरु बताउँछन् ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा हाल ५२ जना मात्रै सांसद छन् । माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेपछि झपट बोहरा पद मुक्त भएका थिए । हाल ५२ जनामध्ये एमालेमा २५ सांसद छन् । तीमध्ये १४ सांसद एकीकृत समाजवादीमा गए सुदूरपश्चिममा सबैभन्दा कमजोर एमाले हुने देखिएको छ ।

माओवादी केन्द्रसँग १३, कांग्रेससँग १२ र जनता समाजवादी पार्टी जसपासँग २ सांसद छन् ।

२५ जेठमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने बेला एमालेको ओली पक्षसँग मिलेर विपक्षमा मतदान गरेको जसपाका दुवै सांसदले महन्थ ठाकुरको साथ छोडेका छन् ।

उपेन्द्र यादवको साथ पाएका उनीहरु दुवै सरकारमा जाने र एमाले इतरका दलहरूले सरकार चलाउने रणनीति तयार भइरहेको छ । यस्तो अवस्थामा प्रदेशमा भीम रावल थप कमजोर देखिने धेरैको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर