आतंकवादी आक्रमण हुनसक्ने भन्दै काबुल एयरपोर्टमा नजान अमेरिकाको चेतावनी – Nepal Press

आतंकवादी आक्रमण हुनसक्ने भन्दै काबुल एयरपोर्टमा नजान अमेरिकाको चेतावनी

काबुल । इस्लामिक स्टेटले आक्रमण गर्नसक्ने भन्दै अमेरिका र उसका साझेदार मुलुकले काबुल विमानस्थलमा नजान सर्वसाधारणलाई चेतावनी दिएका छन् । काबुल छाड्ने समयसीमा नजिकिँदै गर्दा पश्चिमा सैनिक समूहले उद्दार कार्यलाई तीव्र तुल्याएका छन् ।

२० वर्ष लामो तालिबानविरोधी युद्धमा आफूलाई सघाउने विदेशी र अफगान नागरिकलाई उद्दार गर्न अमेरिका र उसका साझेदारलाई तीव्र दबाब परिरहेको छ । अमेरिकी र विदेशी सेनाले अगस्ट ३१ सम्म काबुल छाड्ने तयारी गरिरहेका छन् ।

बुधबार बेलुका जारी गरिएको अलर्टमा काबुल विमानस्थल र गेट वरपर नजान भनिएको छ । त्यहाँ पुगेको भए तत्काल हट्न भनिएको छ । बेलायतले पनि एड्भाइजरी जारी गर्दै तत्काल सुरक्षित ठाउँमा जान त्यहाँ रहेका आफ्ना नागरिकलाई अपिल गरेको छ ।

‘त्यहाँ आतंकवादी आक्रमणको उच्च जोखिम छ र हामी सुरक्षित थलोमा जान आग्रह गर्छौं’ बेलायती विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ । अष्ट्रेलियाले पनि यस्तै किसिमको चेतावनी जारी गरेको छ ।

अगस्ट १५ मा तालिवानले काबुल सहरलाई नियन्त्रणमा लिएपछि अहिले त्यहाँ विदेशी र अफगान नागरिकलाई उद्दार गर्न अमेरिका र उसका साझेदार मुलुकबीच तीव्रता छ । पेन्टागनका अनुसार बुधबारसम्म ८२ हजार ३०० जनालाई काबुलबाट उद्दार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर