उपेन्द्र-बाबुरामलाई बेवास्ता गरेर चौथाइवालेले दिन खोजेको दिल्लीको तीन सन्देश – Nepal Press

उपेन्द्र-बाबुरामलाई बेवास्ता गरेर चौथाइवालेले दिन खोजेको दिल्लीको तीन सन्देश

दुई दिन पर्खेर माधव नेपाललाई भेटे

काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले दिल्ली फर्किनुअघि बुधवार राति माधव नेपाललाई भेट्न कोटेश्वर पुगे ।

उनी लगातार तीन दिनदेखि नेपालसँग टेलिफोन सम्पर्कमा थिए । जब नेपालले नेकपा एकीकृत समाजवादीको दल दर्ताको प्रमाणपत्र पाए त्यसपछि संसदको चौथो ठूलो दलको अध्यक्षको हैसियतमा नेपालले पहिलो विदेशी पाहुनसँग भेटवार्ता गरे ।

चार दिनदेखि काठमाडौंमा शीर्ष र दोस्रो तहका नेताहरुसँग सघन संवाद गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अघोषित दूत चौथाइवाले नेपालसँग भेटवार्ता गरेको भोलिपल्टै विहीवार विहान दिल्ली उडेका छन् ।

उनले संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,उपमहासचिव बिष्णु पौडेल, दोस्रो ठूलो दल कांग्रेसका सभापति शेरवहादुर देउवासहित दोस्रो तहका नेताहरु विमलेन्द्र निधि, शेखर कोइराला, शशांक कोइराला प्रकाशमान सिंहदेखि प्रकाशशरण महतसम्मलाई भेटे ।

तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा वर्षमान पुन र जनार्दन शर्मा भेटे भने चौथो ठूलो दलका अध्यक्ष माधव नेपाललाई अन्तिममा भेटे ।

छैटौं ठूलो दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग समेत भेटेका चौथाइवालेले पाँचौ दल जनता समाजवादीलाई भने बेवास्ता किन गरे ? जसपाबाट फुटेर दलको आधिकारिकता नपाउँदै महन्थ ठाकुरलाई भेट्न पुगेका भाजपा नेताले उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलाई भने बेवास्ता गरे ।

प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर शुरु भएको उनको राजनीतिक दौडाहा माधव नेपाललाई भेटेपछि सकियो तर यतिका दिन काठमाडौंमा बस्दा उपेन्द्र र बाबुरामसहित जसपाका कुनै नेतासँग वार्ता नगर्नुको सांकेतिक अर्थ रहेको चौथाइवालेको भेटवार्ता प्रवन्ध मिलाउने स्रोतले बतायो ।

भारत जहिले पनि मधेशी दलहरू एक रहुन् र व्यक्तिगत स्वार्थले मधेशवादी दलहरु बिभाजित नहुन् भन्ने चाहन्थ्यो । भारतको इच्छा मधेशवादी दल नेपालमा निर्णायक शक्ति बनोस् भन्ने नै हो । तर विभाजनकै कारण अब मधेशवादी शक्ति नेपालको राजनीतिमा निर्णायक बन्ने अवसर गुमाएको भारतीय नेताहरुको विश्लेषण छ ।

मधेशवादी दल विभाजित नहुन् भनेर अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीले दल विभाजनमा सहज हुने अध्यादेश ल्याउँदा भारतले उपेन्द्र यादवलाई उद्दार गरिदिएको उनीहरु बताउँछन् । त्यसबेला उपेन्द्र स्वयंले लैनचौरस्थित दूतावासदेखि दिल्लीसम्म हारगुहार गरेका थिए ।

भारतकै चाहनामा उपेन्द्रको उद्दारका लागि तत्कालीन राजपाका अध्यक्षमण्डलका ६ जना अध्यक्षको असहमतिका बीच महन्थ ठाकुरले उपेन्द्रको पार्टीसँग एकीकरण गरेका थिए । त्यसबेला उपेन्द्रको पार्टीका ९ जना सांसदले अलग पार्टी खोल्ने अन्तिम तयारी गरेका थिए ।

भारतको मध्यस्तामा राजपा र समाजवादीको रातारात एकीकरण भएको थियो भने भारतसँग त्यसपछि नै केपी ओलीको सम्बन्ध बिग्रियो । दिल्लीको मध्यस्थतामा उपेन्द्रको उद्दार गरेका महन्थ नै अन्तिममा पार्टीविहीन अवस्थामा आइपुगेका थिए । माधव नेपालका लागि ल्याएको अध्यादेशले महन्थको उद्दारमात्र भएन, महन्थको लागि दिल्लीले पनि देउवालाई कहिँ न कहिँ सहानुभूति राख्न दबाब दिएको बताइन्छ ।

उपेन्द्रले जसपा एकीकरणपछि लगातार दिल्लीलाई चिढ्याउने काम गरेको आरोप अर्को पक्षको छ । सरिता गिरीलाई सांसदबाट निकाल्नेदेखि मधेशको माग पूरा गर्न केपी ओली तयार हुँदा त्यसको विपक्षमा लागेको आरोप पनि उनीमाथि छ । त्यस्तै महन्थ र राजेन्द्र महतोलाई साधारण सदस्यबाट समेत निकालेपछि दिल्लीले यो कुरालाई ‘सिरियसली’ लिएको चौथाइवालेसँग भेट गरेका एक नेताले बताए ।

चौथाइवालेको भेटघाटको चाँजापाँजो मिलाउने स्रोतले भन्यो, ‘यी सबै घटनाक्रमका कारण उपेन्द्र बाबुराम र उनीहरुलाई साथ दिने कुनै पनि नेतालाई नभेट्ने निष्कर्षमा पुगियो । यी दुई जनालाई नभेट्ने कुरा पहिले नै तय थियो ।’

बाबुराम भट्टराईप्रति भने भाजपा नेताहरु राजनीतिक भन्दा पनि अन्य कारणले रुष्ट छन् । जेएनयुका उत्पादन भए पनि बाबुरामले पछिल्लो समय धर्मलाई लिएर भारतीय जनताको मन दुःखाउने गरेको र उनले भारतीय मिडियामा लेख नै लेखेर हिन्दू धर्मप्रति दुवै देशका जनताविरुद्ध घृणा फैलाउने काम गरेको आरोप बिजेपी नेताहरुको छ ।

बाबुरामले फेसबुक र ट्वीटरबाट हिन्दू धर्मलाई घृणा गरेर लेख्दा चौथाइवालेले पटक पटक सामाजिक सन्जालबाटै प्रतिवाद गर्ने गरेका छन् । जेएनययुको भारतविरोधी ‘हिडन एजेण्डा’लाई सघाउन सक्रिय रहने गरेको र भारतको आन्तरिक मामिलाहरुमा समेत कुटनीतिक मर्यादाविपरित टिप्पणी गर्ने गरेको आरोप चौथाइवालेको थियो ।

स्रोतले भन्यो, ‘एउटा देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले अर्को देशको आन्तरिक मामिलामा टिप्पणी गर्ने, धर्म र आस्थामाथि प्रहार गर्ने र पछिल्लो पटक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दूध प्रवाह गरेको फोटो समेतमा आलोचना र विरोध गरेपछि बाबूरामसँग सम्पर्क र सम्बन्ध नराख्ने निचोडमा बिजेपी पुगेको हाे ।’

उपेन्द्र–बाबुरामलाई बेवास्ता गरेर चौथाइवालेले दिल्लीको तीनवटा सन्देश दिएका छन् । उनकै भाषामा नरेन्द्र मोदी छिमेकसँग बलियो सम्बन्ध राख्न चाहान्छन् र नेपालका सबै राजनीतिक दलसँग घनिष्ठता कायम गर्न चाहान्छन् । मोदीकै सन्देश सुनाएका उनले सबै नेतासँग यही भनेका छन् । त

र बाबुराम र उपेन्द्रलाई बेवास्ता गरेर उनले उपेन्द्रका कारण मधेशवादी राजनीति कमजोर भएको र उनले आपत पर्दामात्र दिल्लीलाई सम्झिने र अघिपछि कुटनीतिक सीमा नाघेर व्यवहार गर्ने गरेको आरोप छ । त्यस्तै महन्थमाथिको व्यवहार र बाबुरामको हिन्दूविरोधी तथा भाजपाविरुद्ध लक्षित टिप्पणीहरु पनि स्वीकार्य नभएको सन्देश दिल्लीले चौथाइवालेमार्फत दिएको छ ।

नेपालका सबै दलसँग समान सम्बन्ध राख्ने तर उपेन्द्र बाबुरामलाई मित्रवत रुपमा हेर्न नसकिने चौथाइवालेले अन्तरंग छलफलहरुमा समेत बताएका छन् ।


प्रतिक्रिया

One thought on “उपेन्द्र-बाबुरामलाई बेवास्ता गरेर चौथाइवालेले दिन खोजेको दिल्लीको तीन सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर