रुपन्देहीका सबै स्थानीय तह प्रमुख र उपप्रमुख एमालेमै, माओवादीका प्रभावशाली नेता पनि थपिए – Nepal Press

रुपन्देहीका सबै स्थानीय तह प्रमुख र उपप्रमुख एमालेमै, माओवादीका प्रभावशाली नेता पनि थपिए

रुपन्देही । केन्द्रीय राजनीतिमा प्रभाव जमाएका एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख एमालेमै रहने भएका छन् ।

१६ स्थानीय तह रहेको रुपन्देहीमा एमालेले ८ वटामा प्रमुख र उपप्रमुख तथा एउटामा उपप्रमुख जितेको थियो । उनीहरु सबै अहिले एमालेमै रहेको एमाले नेता तेजेन्द्र केसीले बताए ।

त्यसैगरी माओवादी केन्द्रबाट चुनाव जितेका ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवट पनि एमालेमै लागेका थिए । पार्टीभित्रको विवाद बढ्दै गएपछि अहिले उनी तटस्थ बसेका छन् ।

एमालेभित्रको अन्तरसंघर्षमा सिद्धार्थनगर नगरपालिकाको मेयर हरिप्रसाद अधिकारी तथा उपमेयर उमा काफ्ले, तिलोत्तमाकी उपमेयर जागेश्वरी चौधरी नेता घनश्याम भुसालसँगै थिए । भुसाल एमालेमै रहने भएपछि उनीहरुलाई पनि सजिलो भएको छ ।

तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले पार्टीभित्र अन्तरसंघर्ष भए पनि मूल पार्टी छोडेर कतै नजाने बताइन् । ‘विगतमा पार्टीभित्रका केही कमजोरी विषयमा फरक मत राखेकी थिएँ, तर पार्टी छोडेर कतै जाने कुरामा सहमत हुन सकिएन, म मूल पार्टीमै छु’, उनले भनिन् ।

तिलोत्तमाका मेयर वासुदेव घिमिरे पहिले नेपाल समूहमा रहे पनि नेता विष्णु पौडेलसँग केही महिनाअघि भेटेर मूल धारमै रहेको घोषणा गरेका थिए । एमालेले रुपन्देही बुटवल उपमहानगर, सैनामैना, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकामा मेयर तथा उपमेयर र देवदह नगरपालिकामा उपमेयर जितेको थियो । त्यसैगरी कन्चन, सियारी, शुद्धोधन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो ।

नेकपा एमाले रुपन्देहीका नेता तेजेन्द्र केसीले पार्टीभित्रका केही साथीहरु फरक पार्टीमा लागेपनि जिल्लामा त्यसको असर नरहेको बताए । ‘केही साथीहरु अलमलमा पर्नुभएको थियो, तर अन्तिममा सबै एमालेको मूलधारमै रहनुभएको छ, यहाँको पार्टीका लागि गौरवको कुरा हो, हाम्रो पार्टीबाट स्थानीय सरकारमा जानुभएका सबै प्रमुख, उपप्रमुख मूल धारमै रहनुभएको छ’, उनले भने ।

नेपाल समूहबाट पार्टीमा समानान्तर कमिटीको नेतृत्व गरेका राजु गुरुङ्गले समानान्तर कमिटीमा रहेका धेरै साथीहरु समाजवादी पार्टीमै रहने दावी गरे । ‘केही साथीहरु पर्ख र हेर को अवस्थामा हुनुहोला तर हाम्रो विचार स्पष्ट भएकाले उहाँहरु हामीसँग आउनुृहुन्छ’, उनको दावी थियो ।

केन्द्रको पार्टी दर्ता प्रकृया सकिएपछि तत्काल भेला गरेर आफ्नो उपस्थिति जनाउने उनको भनाइ थियो ।

जो माओवादीबाट एमालेमा आए

नेकपा विभाजनसँगै लामोसमय माओवादीमा रहेर काम गरेका पुराना नेता दधिराम न्यौपाने एमालेमा रहेपछि रुपन्देही एमाले थप बलियो बनेको छ । माओवादीबाट प्रदेश सांसद बनेका न्यौपानेलाई एमालेमा लागेकै कारण माओवादीले प्रदेश सांसदबाट पदमुक्त बनाएको थियो ।

उनीसँगै एमालेमा रहेका गुल्मीका दिनेश पन्थी पनि प्रदेश संसद गुमाएर भएपनि एमालेमै बसेका छन् । न्यौपानेलाई एमालेले रुपन्देही इन्चार्ज तथा पन्थीलाई गुल्मीको इन्चार्ज बनाएको छ ।

नेता न्यौपानेसँगै माओवादी आन्दोलनमा लामो समय काम गरेका इमान्दार नेता अनुप बराल पनि एमालेमै रहेका छन् । उनलाई एमालेले अहिले जिल्ला सचिवको जिम्मेवारी दिएको छ । उनीसँगै माओवादीबाट एक मात्र पालिकामा जितेका ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट पनि एमालेमै आएका थिए ।

विश्लेषक डीआर घिमिरेका अनुसार एमाले छाडेर फरक पार्टीमा जानेभन्दा माओवादीबाट एमालेमा जोडिएकाहरुको संख्या धेरै भएकाले रुपन्देहीमा विभाजनको असर कम हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर