एमाले फुट्दा दाजुभाइ पनि फुटे, एकै परिवारका ५ केन्द्रीय नेता को कता ? – Nepal Press

एमाले फुट्दा दाजुभाइ पनि फुटे, एकै परिवारका ५ केन्द्रीय नेता को कता ?

काठमाडौं । नेकपा विभाजनका बेला तत्कालीन माओवादी नेताका परिवार पनि विभाजित भएका थिए । विशेषगरि श्रीमान एमालेतिर श्रीमती माओवादीतिर लागेका परिवार अहिले पनि छन् ।

एमाले विभाजनमा पनि घर फुटेका छन् । एमालेको स्थायी कमिटीका दुई सदस्यका दाजुभाइ विभाजित भएका छन् । १० बुँदे सहमति कार्यन्वयनसँगै उपाध्यक्ष युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे एमालेमै बसेका छन् ।

तर पोलिटव्युरो सदस्य समेत रहेका राजेन्द्र पाण्डे एकीकृत समाजवादीको हर्ताकर्ता बनेका छन् । उनी सुरेन्द्र पाण्डेका सहोदर दाजु हुन् ।

त्यस्तै उपाध्यक्ष युवराज ज्ञवालीका तीन दाजुभाइ एमाले केन्द्रीय कमिटीमा थिए । तीमध्ये कञ्चनपुरबाट राजनीति गरिरहेका पूर्व सांसद तथा केन्द्रीय सदस्य रामकुमार ज्ञवाली एकीकृत समाजवादीमा लागेका छन् ।

ज्ञवाली परिवारका अर्का भाइ लक्ष्मण ज्ञवाली भने एमालेमै रहेका छन् । लक्ष्मणले बर्दियाबाट एमालेको राजनीति गरिरहेका छन् भने युवराज ज्ञवालीले दाङलाई आधार बनाएका छन् ।

यद्यपी यी तीनैजना सहोदर दाजुभाइको पुख्र्यौली भने गुल्मी हो । लक्ष्मण ज्ञवाली नेकपा विभाजनपछि केपी ओली पक्षमा थिए भने युवराज र रामकुमार प्रचण्ड माधव पक्षमा थिए ।

संयोग नै मान्नुपर्छ २०५४ सालमा नेकपा एमाले विभाजन हुँदा युवराज र रामकुमार एमालेमै बसेका थिए भने लक्ष्मण ज्ञवाली वामदेव गौतम नेतृत्वको नेकपा मालेमा लागेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर