#चरी जेलैमा: परिवन्द होइन राजीखुशीले ! – Nepal Press

#चरी जेलैमा: परिवन्द होइन राजीखुशीले !

हिट तर गुमनाम गायिकाको कथा

काठमाडौं । तीज नजिकिँदै गर्दा गायिका विष्णु माझीको नयाँ विरही गीत ‘चरी जेलैमा’ मा चर्चामा छ । गीतको प्रशंसासँगै यसले बोकेको मर्म गायिकाको निजी जीवनसँग मेल खाएको भनेर धेरैले प्रतिक्रिया जनाएका छन् ।

६ दिनअघि युट्यूवमा सार्वजनिक भएको ‘चरी जेलैमा’ गीतको सिर्जना र कम्पोजिसन विष्णुकै श्रीमान सुन्दरमणि अधिकारीले गरेका हुन् । भिडियो निर्देशन पनि उनकै हो । विवाहपछि पत्नीलाई ‘पिँजडा’ मा कैद गरेर राखेको आरोप खेपिरहेका सुन्दरमणिले नै ‘चरी जेलैमा’ को सिर्जना गरी पत्नीलाई नै गाउन दिनु एकप्रकारको ‘आइरोनी’ हो ।

सम्भावना यसैलाई मध्यनजर गरी भिडियोको सुरुमै स्पष्टीकरण दिइएको छ– ‘यस कथाका पात्रहरु सबै काल्पनिक हुन् । कसैको जीवनसँग मेल खान गएमा संयोग मात्रै हुनेछ ।’

गीतबाट एकतर्फीरुपमा विष्णु माझीले प्रशंसा बटु्लिरहेकी छन् । तर, गीत सुन्दर बन्नुमा सर्जकका हिसाबले सुन्दरमणिलाई श्रेय नदिँदा अन्याय हुन्छ । उनले कोरेका शब्दहरु सरल र मार्मिक छन् भने संगीत कर्णप्रिय छ । तिजगीतका नाममा उटपटाङ र उछृङ्खल गीतहरुको भेलबीच यो परम्परागत शैलीको ‘टिपिकल’ तिजगीत हो ।

खैर, यहाँ हामी गीतको समिक्षाभन्दा पनि विष्णु माझी र सुन्दरमणिको गुमानम जीवनशैलीबारे ‘चर्चा–परिचर्चा अनि बहस’ गर्न गइरहेका छौं ।

हिट तर गुमनाम गायिका

जब–जब विष्णु माझीको गीत हिट लिस्टमा चढ्छ, सामाजिक सञ्जालमा उनको बारेमा चासो र चिन्ताहरु व्यक्त गरिन थाल्छ । नेपाली लोकसंगीतमा नम्बर-१ गायिकाको ताज भिरेकी यी स्वरकिन्नरीको जीवनशैली अलिक ‘रहस्यमय’ छ । उनलाई आफ्नै श्रीमानले लामो समयदेखि घरभित्र बन्धकझैं बनाएर राखेको धेरैले विश्वास गर्छन् ।

तपाईंले गुगलमा विष्णु माझी टाइप गरेर तस्वीर खोज्नुभयो भने एउटाभन्दा बढी तस्वीर भेट्न मुस्किल पर्छ । १० वर्षभन्दा अगाडिदेखि उनको यही मात्रै तस्वीर चल्तिमा छ । उनले गाएका गीतका कभर फोटोहरुमा पनि योभन्दा दोस्रो तस्वीर पाइँदैन । यसबाहेक एकाध तस्वीर र भिडियो भेटिन्छन्, जुन उनको विवाहभन्दा पहिलेका हुन् ।

यदि युट्यूवमा विष्णुको अन्तरवार्ता सर्च गर्नुभयो भने त एउटा पनि भेट्नुहुन्न । खासमा उनले आजका दिनसम्म एउटा पनि मिडियालाई अन्तरवार्ता दिएकी छैनन् । विष्णु मात्र होइन, उनका श्रीमान सुन्दरमणि पनि मिडिया भनेपछि चार कोस पर भाग्छन् । सुन्दरमणि सामाजिक सञ्जाल चलाउँछन्, तर केवल आफ्ना गीत सेयर गर्नेबाहेक उनका अन्य गतिविधि देखिँदैन ।

आजकाल एकाध गीतहरु हिट हुनासाथ गायक–गायिकाहरु मिडियामा छाउँछन् । युट्यूवरलाई लाइन लगाएर अन्तरवार्ता दिन्छन् । धेरै कलाकारहरु यस्ता छन्, जो पाइखाना जाँदा पनि दुई–चार युट्यूवरलाई पछि लगाउन बेर लगाउँदैनन् । विष्णु–सुन्दरमणिको यो दाम्पत्य जोडी यस मानेमा असाध्यै पृथक छ ।

द्वन्द्वकालमा प्रचण्ड–बाबुराम मिडियाका लागि जति दुर्लभ थिए, त्योभन्दा बढी दुर्लभ छन् विष्णु–सुन्दरमणि । काठमाडौंमा उनीहरु कहाँ बस्छन् भन्नेसम्म मिडियाकर्मीले सुइँको पाउन सकेका छैनन् । अरु त अरु, ऋषि धमलाले समेत !

विष्णु माझी सार्वजनिकरुपमा कतै देखा नै पर्दिनन् । गीत गाउन स्टुडियो आउँदा बाहेक उनको अरु कलाकारसँग भेटघाट र बोलचाल हुँदैन । उनीसँग काम गरेका कलाकारहरुका अनुसार स्टुडियोमा पनि गीत गाउने बेला डामडुम झ्यालको पर्दा बन्द गर्छिन् । सोधेका प्रश्नको जवाफ ‘अँ’, ‘अहँ’ ‘हो’ ‘होइन’ मा टुंग्याउँछिन् । लामो कुरा कसैसँग गर्दिनन् । कसैसँग फोटो खिच्न मान्दिनन् ।

देश–विदेशमा आयोजना हुने सांगीतिक कार्यक्रममा कतै पनि विष्णु माझीको उपस्थिति हुँदैन । कोरोना सुरु हुनुभन्दा अगाडि देशभित्र आयोजना हुने मेला–महोत्सव तथा विदेशमा हुने स्टेज शोहरुमा धेरै गायक–गायिकाहरु व्यस्त हु्न्थे । त्यही नै उनीहरुको आर्थिक अवस्था उकास्ने प्रमुख आधार थियो । तर जति डिमान्डेड भए पनि विष्णु माझी कुनै पनि स्टेज शोमा गाउन पुगिनन् । स्टुडियो गायनमै आफूलाई सिमित राखिन् ।

सामाजिक सञ्जालमा विष्णु माझीको आफ्नो अकाउन्ट छैन । खासमा उनी मोबाइल नै चलाउँदिनन् । बाहिर निस्कँदा सँधै मुखमा मास्क लगाउँछिन् ।

यसरी जम्यो जोडी

स्याङजाको रत्नपुर गाविस–६ चापाकोटमा आर्थिकरुपले एक विपन्न परिवारमा जन्मेकी हुन् विष्णु । सामान्य पशुपालन र खेतिमा निर्भर उनको परिवारको दैनिक जीवनयापनसमेत चुनौतिपूर्ण थियो ।

बुवाआमाकी जेठी छोरी विष्णुले स्थानीय विद्यालयमा ५ कक्षासम्म पढेपछि आर्थिक समस्याकै कारण पढाइलाई निरन्तरता दिन सकिनन् । बरु सानैदेखि गीत–संगीततर्फ ढल्किइन् । लोक दोहोरीमा दख्खल राख्ने उनको सानैदेखि युनिक स्वर थियो ।

विष्णुको प्रतिभा चिनेर पाल्पाको रामपुरका लोकगायक नारायण लेकालीले उनलाई १३ वर्षको उमेरमै व्यवसायीक संगीतमा प्रवेश गराएका हुन् । यो ०५८ सालको कुरा हो । नारायण त्यतिबेला लोकगीत प्रतियोगिताहरुमा भाग लिन्थे र आफैं पनि प्रतियोगिता गराउँथे । त्यसै क्रममा उनले चापाकोटमा एउटा प्रतियोगिता आयोजना गरेका थिए, जसमा विष्णुले भाग लिएर प्रथम भएकी थिइन् ।

विष्णुको गायकीबाट प्रभावित बनेका नारायणले उनका बाबुआमासँग भेटे । छोरीलाई गायिका बनाइदिने भन्दै आफ्नो साथमा पठाइदिन आग्रह गरे । बाबुआमा तयार भए । त्यसपछि नारायणले विष्णुलाई आफ्नो जोडी बनाएर थुप्रै प्रतियोगिताहरुमा भाग लिए र पुरस्कार पनि जितेका थिए ।

२०६१ सालमा आयोजित पाल्पा महोत्सवमा विष्णुको भेट पोखरेली लोकगायक सुन्दरमणि अधिकारीसँग भयो । सुन्दरमणी पनि विष्णुको स्वरबाट मोहित बने । त्यसबेला उनी पनि एक संघर्षशील गायक थिए । विभिन्न दोहोरी प्रतियोगिताहरुमा भाग लिँदै आए पनि खासै सफल हुन सकेका थिएनन् । विष्णुसँग जोडी बनेर गीत गाउन पाए सफल हुने उनले सोचे र नारायणसँग प्रस्ताव राखे ।

नारायणमार्फत विष्णुको परिवारको सहमति लिएपछि सुन्दरमणिले ०६१ साल वैशाख ७ गते लेखनाथ महोत्सवमा उनलाई लिएर गए । नभन्दै उक्त महोत्सवमा आयोजित लोकगीत प्रतियोगितामा विष्णु र सुन्दरमणिको जोडी पहिलो भयो । त्यसपछि सुन्दरमणिले विष्णुलाई काठमाडौं ल्याएका हुन् । काठमाडौंमा उनीहरु लिभिङ टुगेदरमा बस्न थाले । पछि विहे गरे ।

सुन्दरमणिले विष्णुलाई आफ्नो जोडी बनाएर व्यवसायिक लोकगायनमा नयाँ यात्रा सुर गरे । उनीहरुले गाएका केही गीत हिट पनि भए । खासगरि विष्णुको टिपिकल आवाज लोकदोहोरीमा मन पराइयो । तत्कालीन समयमा चलेका बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, सिर्जना बिरही थापा, शर्मिला गुरुङहरुलाई उनले चुनौति दिन थालिन् । त्यसबेला विष्णु २५ सय पारिश्रमिक लिएर गाउँथिन् ।

०६४ सालसम्म विष्णु चर्चाको शिखरमा पुगिसकेकी थिइन् । उनी दैनिक ५–६ वटा गीतमा स्वर भर्न भ्याउँथिन् । गीत चलेसँगै विष्णुलाई धेरैतिरबाट कार्यक्रमका लागि अफरहरु आउन थाले पनि उनी कतै गइनन् । आफूलाई घर र स्टुडियोमै सिमित राखिन् ।

एउटा गीतको रेट दुई लाख !

विष्णुको प्रोफेसनल लाइफलाई श्रीमान सुन्दरमणीले नै ह्यान्डल गर्दै आएका छन् । अहिले पनि कसैले विष्णुलाई काम गराउनुपर्यो भने सुन्दरमणीसँग डिल गर्नुपर्छ । सबै कुरा उनले नै तय गर्छन् । विष्णुलाई स्टुडियो ल्याउने–लैजानेदेखि पारिश्रमिक पनि प्रायजस्तो उनले नै बुझ्छन् ।

विष्णु माझी अहिलेकी सर्वाधिक महंगी गायिका मानिन्छिन् । ‘सालको पात’ आउनुभन्दा अगाडि उनी एउटा गीत गाएको एक लाख रुपैयाँ लिन्थिन् । अहिले उनको रेट त्योभन्दा दोब्बर छ ।

‘सालको पात’ सुपरहिट भएसँगै सुन्दरमणीले विष्णुको रेट एक लाखबाट दुई लाख पुर्याइदिएका थिए । रेट आकाशिएपछि धेरै संगीतकर्मीहरुले चाहेर पनि उनलाई लिन सकेनन् । त्यसपछि विष्णुको गीतको फ्लो कम भएको छ ।

संख्यात्मक रुपमा कमि आएसँगै उनको करिअर पनि केही सिथिल देखिएको थियो । अब ‘चरी जेलैमा’ को सफलतासँगै फेरि उनको डिमान्ड बढ्न सक्ने अनुमान गरिएको छ । यो गीत विष्णु–सुन्दरमणिको होम प्रोडक्सन हो ।

जुम्ल्याहा सन्तान, ‘खुशी’ परिवार

पोखरास्थित सुन्दरमणिको गाउँका एक छिमेकीका अनुसार विष्णु र सुन्दरमणिबीचको दाम्पत्य सम्वन्धमा कुनै समस्या देखिँदैन । उनीहरुका जुम्ल्याहा छोरा छन् । ०७२ सालको भूकम्पताका विष्णुले जुम्ल्याहा सन्तान जन्माएकी हुन् ।

गाउँघरमा सुन्दरमणिको छवि राम्रै छ । उनी छिमेकीहरुसित बोलचाल गर्छन् । विष्णु भने गाउँमा जाँदा पनि घरबाहिर हम्मेसी ननिस्किने गरेको बताइन्छ ।

‘उहाँहरु हरेक वर्ष दशैं मान्न गाउँ आउनुहुन्छ,’ ती छिमेकीले भने, ‘छोराहरुसहित दुबैजना हाँसीखुशी नै देखिनुहुन्छ ।’

विष्णु र सुन्दरमणीले पोखरा लेकसाइडको एक मन्दिरमा विहे गरेका थिए । सानो जमघटमा भएको वैवाहिक समारोहमा खसी काटेर भोज खुवाइएको थियो । अन्तरजातीय बिहे भए पनि सुन्दरमणिको परिवारले त्यसलाई कुनै इस्यू बनाएनन् । सुन्दरमणिको परिवार जातपातको विषयमा कट्टर छैनन् ।

कास्कीको साविक लेखनाथ नगरपालिकास्थित गाउँमा सुन्दरमणीको पुख्र्यौली घर छ । पारम्परिकरुपमा खेतिकिसानी गर्ने उनीहरु मध्यमर्वीय परिवार हुन् । संगीतमा लागेर सुन्दरमणि र विष्णुले आर्थिक स्तर उकासेका छन् ।

विष्णुसँग भेट हुनुअघि सुन्दरमणिको करिअरले गति लिन सकेको थिएन । संगीतमा लाग्दा उनले आफ्नो पुख्र्यौली खेतसमेत बेचेका थिए । तर, अहिले भने उनीहरु मजबुत स्थितिमा छन् । सुन्दरमणिको आफ्नै गीत रेकर्डिङ स्टुडियो ‘सपना म्युजिक इन्डष्ट्रिज’ अनामनगरमा रहेको छ ।

सरकारले नै खोजेपछि…

२०७५ सालमा विष्णु माझीले गाएको ‘सालको पात टपरी हुने..’ बोलको गीतले बजार पिटेसँगै मिडियाले उनको खोजिनिती गर्न सुरु गरे । सुन्दरमणिले विष्णुलाई घरभित्र कैद गरेर राखेको चर्चा व्यापक भएसँगै त्यसमा प्रशासनको समेत ध्यानाकर्षण भएको थियो । विष्णुको गृहजिल्ला स्याङ्जाका सीडीओले उनीहरु दुवैलाई जिल्ला प्रशासन कार्यालयमा डाकेका थिए ।

प्रशासनले बोलाएपछि उनीहरु २०७५ साल पुस २ गते त्यहाँ हाजिर भएका थिए । त्यसबेला विष्णु माझी शिरदेखी पाउसम्म कपडाले ढाकेर जिप्रका पुगेकी थिइन् । कालो पछ्यौरीले टाउको ढाकेर मुखमा कालै मास्क र कालै ओभरकोट लगाएकी विष्णुलाई एकाध पत्रकारले आफ्नो क्यामरामा कैद गर्न भ्याएका थिए । उनको सार्वजनिक भएको पछिल्लो तस्वीर यही नै हो ।

स्याङ्जाका तत्कालीन प्रजिअ कोषहरी निरौलाले विष्णु र सुन्दरमणिसँग सोधपुछ गरेका थिए । विष्णुले आफू कसैको करकाप र बन्देजमा नभइ स्वैच्छिकरुपमै यसरी बसेको बताएकी थिइन् ।

‘मलाई श्रीमानले सबै सहयोग गर्नुभएको छ,’ विष्णुले भनेकी थिइन्, ‘आफ्नो जीवनसँग खुशी छु ।’

पहिले विभिन्न सांगीतिक कार्यक्रममा भाग लिने गरेकी उनी विहेपछि गुमनाम बन्नुले श्रीमानको दवाव हो कि भन्ने आशंका थियो । तर, सीडीओसँग पनि केही नबताएपछि यस्तो आशंका यत्तिकै मत्थर भएको छ । अहिले प्रहरी–प्रशासनले पनि उनीहरुप्रति चासो लिन छोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर