अफगान नागरिकहरूलाई काबुल विमानस्थल जान नदिने तालिबानको घोषणा – Nepal Press

अफगान नागरिकहरूलाई काबुल विमानस्थल जान नदिने तालिबानको घोषणा

काबुल । तालिबानले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने घोषणा गरेको छ । मंगलबार काबुलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानहरु अब घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने बताए।

तर अमेरिकाले मानिसहरूलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको आरोप उनले लगाए । अफगानिस्तानबाट अमेरिकी सेना फर्किने समयसीमा अगस्ट ३१ अगाडि नै सबै अफगान नागरिकको उद्धार गर्न नसकिने बताएको केही घण्टापछि आयोजित पत्रकार सम्मेलनमा तालिबान प्रवक्ता मुजाहिद उक्त कुरा बताएका हुन् ।

प्रवक्ता मुजाहिदले भने, ‘हामी अमेरिकीहरूलाई आग्रह गर्छौँ कि अफगानहरूलाई देश छाड्न नउक्साइयोस् । हामीलाई उनीहरूको क्षमता आवश्यक छ।” पश्चिमा भनेजस्तो काबुलबाट विदेशी शक्ति फर्कने समयसीमा थपिएला भन्ने आफूलाई नलागेको तालिबान उनको भनाई थियो ।

विदेशी दूतावासहरूलाई सुरक्षा सुनिश्चित गरिएको बताउँदै उनले त्यो बन्द वा छाड्ने काम नगर्न आग्रह समेत गरे । महिलालाई समेत काममा जानका लागि स्थायी रूपमा रोक नलगाइने उनको भनाई छ । उनले भने, ‘हाललाई कुनै खराब व्यवहार नहोस् भन्नका लागि । त्यो उनीहरूकै हितमा छ।’

अफगान सञ्चारमाध्यम, अस्पताल, शैक्षिक संस्था र स्थानीय सरकारहरूले पुनः काम गर्न थालेको प्रवक्ताले बताए । कसैलाई प्रतिशोध नलिइने बताउँदै उनले निसानामा नराखिएको र विगतका सबै कुरा बिर्सिइएको बताए ।

अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल विमानस्थलबाट ५८ हजार जनाभन्दा केही बढी मानिस विदेश गएको बताइएको छ। जसमध्ये धेरैजसो विदेशी सेनासँग काम गरेका अफगान नागरिकहरू छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *