लुम्बिनीका अर्थमन्त्री भन्छन्- अध्यादेशबाट ल्याएको बजेट कानूनसम्मत छैन, नयाँ ल्याउँछौं – Nepal Press

लुम्बिनीका अर्थमन्त्री भन्छन्- अध्यादेशबाट ल्याएको बजेट कानूनसम्मत छैन, नयाँ ल्याउँछौं

रुपन्देही ।लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट कानुनसम्मत नभएकाले नयाँ बजेट ल्याउने घोषणा गरेका छन् ।

लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रमसहित नयाँ बजेट बनाउन शुरु गरेको मन्त्री खड्काले बताए ।
मंगलबार रिपोर्टर्स क्लबले बुटवलमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका खड्काले यस्तो बताएका हुन् ।

अघिल्लो सरकारले सहमतिबाट बजेट ल्याऔं भन्दाभन्दै बलजफ्ती गरी अध्यादेशबाट ल्याएको बताउँदै उनले यसरी अध्यादेशबाट आएका र अलपत्र छाडिएका २ वटा विधेयकहरु फिर्ता ल्याएको बताए ।

अघिल्लो सरकारले संघीयता कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै आफूहरुले आवश्यक नीति नियमहरु बनाएर अगाडि बढ्ने उनको दावी थियो । उनले संघीय सरकारका आयोजनाहरुलाई निरन्तरता दिँदै कामलाई चुस्त, दुरुस्त, पारदर्शिता र सुशासनमा जोड दिने बताए ।

आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रणमा रहेको बताउँदै उनले भने‘मुलुक यतिबेला कोरोनाले थलिएको छ, तेस्रो लहरले थप क्षति नपुराओस् भन्ने उद्देश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं । हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो ।’

मन्त्री खड्काले १८ वर्षभन्दा मुनिकालाई खोप लगाएर विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको दाबी गरे । कोरोना महामारीले बेरोजगार बस्न बाध्य भएका नागरिकहरुको लागि रोजगारीका अवसरहरु सिर्जना गर्ने विश्वास व्यक्त गरे । थला परेका व्यवसायीहरुलाई राहत प्रदान गरेर अगाडि बढ्न प्रेरित गर्ने उनको भनाई छ ।

साक्षात्कार कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा पूर्वप्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपालले सरकार परिवर्तन भइरहने र नयाँ सरकारसँगै नयाँ बजेट आउने खालको क्रियाकलापले योजनाहरु रोकिने, समयमै पूरा नहुने बताए ।

सरकारले पुँजीगत खर्चमा जोड दिनुपर्ने बताउँदै उनले कोरोना महामारीले निम्न वर्गका नागरिकहरु समस्यामा परेको बताउँदै राहतका प्याकेजहरु तत्काल ल्याउन ध्यान दिन सरकारलाई आग्रह गरे ।

नेपालले कोरोना भ्याक्सिनलाई प्राथमिकता दिनुपर्ने बताउँदै जनताको जीवन उत्थानको लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्ने नेपालको भनाई थियो । उनले लुम्बिनीको विकासको लागि भैरहवा अन्तरर्राष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङ मार्गको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउन सुझाव दिए ।

बुटवल पाल्पा सडक अन्तर्गत सिद्धबाबा क्षेत्रमा वर्षेनी कम्तीमा ५र७ जनाको ज्यान लिएको अवगत हुँदाहुँदै पनि राजनीतिक नेतृत्व तहले समाधानतर्फ गम्भीर रुपमा चासो नदिएको दुःखेसो पोखे ।

उनले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र बलियो बनाउँने बताउँदै आर्थिक पुनरुत्थानलाई सहयोग पुर्याउने बताए । मौद्रिक नीतिले अर्थव्यवस्थामा मौद्रिक व्यवस्थापन, ब्याजदर व्यवस्थापन, वित्तीय क्षेत्र सुदृढीकरण, भुक्तानी प्रणालीमा सुदृढीकरण, विदेशी विनिमय व्यवस्थापन, वित्तीय पहुँच जस्ता उपायमार्फत नियमन र सन्तुलन कायम गरी समष्टिगत आर्थिक उद्देश्य प्राप्ति गर्न सघाउ पुर्याउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर