अफगानिस्तानमा लगानी बढाउने तयारीमा चिनियाँ कम्पनी, सम्भावित अमेरिकी प्रतिबन्धलाई नियाल्दै बेइजिङ – Nepal Press

अफगानिस्तानमा लगानी बढाउने तयारीमा चिनियाँ कम्पनी, सम्भावित अमेरिकी प्रतिबन्धलाई नियाल्दै बेइजिङ

काबुल । सत्ता नियन्त्रणमा लिएपछि परिस्थितीलाई साम्य पार्न र अन्तर्राष्ट्रिय वैधानिकता पाउन तालिवानले प्रयास गरिरहेको बेला चिनियाँ सरकार नियन्त्रित केही व्यापारिक फर्महरुले अफगानिस्तानमा लगानी गर्न चासो देखाएका छन् ।

तालिवानले नयाँ परियोजना सुरु गर्न केही सतर्कता देखाएपनि चिनियाँ कम्पनीले चाहिँ त्यहाँ लगानी गर्न सकिने परियोजनाको खाका तयार पार्न थालिसकेको ग्लोबल टाइम्सले जनाएको छ । चिनियाँ राष्ट्रिय सुरक्षा र राजनीतिक सुरक्षा दृष्टिकोणले अफगानिस्तानमा तत्काल लगानी गर्न जोखिम हुने भएपनि तालिवानसँगको सफल कूटनीतिको कारण ती कम्पनीहरुले लगानीका लागि चासो जनाएको उल्लेख छ ।

तालिवानलाई हुनसक्ने पश्चिमा मुलुकहरुको सम्भावित नाकाबन्दीको बाबजुद पनि पश्चिमा मुलुकलाई उछिन्न र चिनियाँ आर्थिक स्वार्थको प्रवद्र्धन गर्नको लागि यस्तो योजना बुनिएको चिनियाँ व्यवसायी बताउँछन् ।

तर, आफ्ना सेनाको फिर्तीपछि चीनले अफगानिस्तानको प्राकृतिक स्रोत र भण्डारणलाई दोहन गर्न खोजेको आरोप अमेरिकाले लगाउन थालेको छ जसलाई चीनले अस्वीकार गरेको छ । अहिले अफगानिस्तानमा रहेका चिनियाँ फर्महरुले तालिवानको नीतिलाई नजिकबाट नियाल्दै परियोजना संचालनको खाका तयार पारेको बुझिएको छ ।

नाम उल्लेख नगर्ने सर्तमा एक चिनियाँ सरकार नियन्त्रित कम्पनीका एक अधिकारीले चिनियाँ राष्ट्रिय चासो अन्तर्गत रहेर आफूहरुले अफगानिस्तानमा काम गर्ने बताएका छन् । उक्त कम्पनीले अहिले अफगानिस्तानमा एक सडक मार्ग बनाएको छ र यसको निर्माण दुई वर्षअघि नै पुरा भएको थियो । गत आइतबार अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिवानलाई प्रतिबन्ध लगाउने कुरा उसको व्यवहारमा निर्भर हुने बताएका थिए । आज हुने बताइएको जी–सेभेन बैठकमा बेलायतले अमेरिकालाई उसले काबुल छाड्ने समयसीमा बढाउन दबाब दिने अपेक्षा छ ।

चिनियाँ व्यवसायी र विश्लेषकका अनुसार अमेरिकाले तालिवानलाई यात्रा प्रतिबन्ध, लगानी वृद्धि, प्रयोग र आदानप्रदानलाई सीमित तुल्याउने, अन्तर्राष्ट्रिय वैधानिकता तथा अन्य मुलुकसँगको व्यापारमा रोृक लगाउन सक्छ । यदि परिस्थिती झनै खराब भए अफगानिस्तानलाई विश्व बैंकिङ प्रणालीबाट अलग तुल्याउन सक्छ ।

अमेरिकाको सम्भावित आर्थिक प्रतिबन्धलाई आफहरुले नजिकबाट नियालिरहेको चीनले जनाएको छ । तर, राजनीतिक अस्थिरताको कारण अफगानिस्तानमा भएको ठूलो चिनियाँ लगानी अहिले फ्रिजकै अवस्थामा छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार सन् २०२० मा चिनियाँ कम्पनीले ११० मिलियन डलर बराबरको परियोजना निर्माणको सम्झौता गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *