पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग – Nepal Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

काठमाडौं ।  पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य तत्काल फिर्ता लिन माग गरेको छ । मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा बढाएको मूल्य तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु ,समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं)ले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,‘नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्यांकहरू लुकाएर, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा मूल्य बढाइएको छ । हामी बढाइएको मूल्य तत्काल फिर्ता गर्न र फिर्ता नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौं । ’

नेपाल आयाल निगमले सोमबार राति पेट्रोलियम पर्दाथको मूल्य बढाएको थियो । नेपाल आयाल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको थियो ।

डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको थियो । नयाँ मूल्य अनुसार हिजोदेखि पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजेल तथा मटितेल १ सय १३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ ।

एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४ सय ५० कायम गरिएको छ । निगमले हवाई इन्धनमा आन्तरिक तर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७ सय ७० प्रति किलोलिटर कायम गरिएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एलपि ग्याँसमा प्रति सिलिण्डर ४ सय २० रुपैयाँ ७५ रुपैयाँ घाटा रहने निगमले बताएको छ ।

साथै पाँच विद्यार्थी संगठनले सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धिलाई खारेजको माग गर्नुको साथै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारसमक्ष माग गरेका छन् ।

कक्षा १२ को विद्यार्थीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाएकाले परीक्षा रोक्न नहुने उनीहरुको भनाइ छ ।

‘कक्षा १२ को परीक्षा नहुँदा विद्यार्थीको भविष्य अन्यौलमा परेको, मानसिक तनावमा परेको, शैक्षिक क्यालेन्डर ध्वस्त हुने अवस्थामा पुगेको र विद्यार्थीहरू चरम आर्थिक मारमा परेको हुनाले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गर्न माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर