‘स्पाइडरम्यान’ ट्रेलर रिलिज : के पुस २ गते नेपालमा रिलिज होला ? – Nepal Press

‘स्पाइडरम्यान’ ट्रेलर रिलिज : के पुस २ गते नेपालमा रिलिज होला ?

काठमाडौं । मार्भल स्टुडियोको प्रतीक्षित फिल्म ‘स्पाइडर म्यान : नो वे होम’को ट्रेलर इन्टरनेट रिलिज भएको छ । आइतबार राती सामाजिक संजालमा फिल्म नै लिक्ड भएपछि सोनीले प्रदर्शन मितिसहित ट्रेलर सार्वजनिक गरेको हो ।

कोरोनाभाइरस महामारीको परिस्थिती ठीक भए यो फिल्म पुस २ गते (१७ डिसेम्बर)मा भारतसहित नेपालमा प्रदर्शन हुनेछ । नेपालमा निषेधाज्ञाले फिल्म हल नै बन्द भएकाले हलहरु कहिलेदेखि खुल्छन् भन्ने अन्यौल कायमै छ ।

हेर्नूस ट्रेलर :

सोनी मोसन पिक्चर्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत टम रथम्यानले टम हल्यान्ड र बेनेडिक्ट कम्बरब्याचका मन्तव्यसहित ट्रेलर रिलिज गरेका छन् । ट्रेलरमा पिटर पार्करले अहिलेसम्मकै खतरनाक खलपात्रहरुको सामना गर्नुपरेको देख्न सकिन्छ ।

केही वर्षदेखि अनुमानलाई पुष्टि गर्दै ट्रेलरले केही रहस्यहरु पनि सार्वजनिक गरेको छ जसमा पिटर पार्करले अघिल्ला स्पाइडर म्यान सिरिजका खलपात्रहरुसँग संघर्ष गर्नुपर्ने हुन्छ । ट्रेलर बेनेडिक्ट कम्बरब्याचलाई पनि डक्टर स्ट्रेन्जको भूमिकामा देख्न सकिन्छ ।

नेपालमा रिलिज होला ?

यो प्रश्नको जवाफ अहिले तत्काल कोहीसँग छैन । नेपालमा फिल्म हल कहिले खुल्छ भन्ने कुरा कोरोनाभाइरसको संक्रमण दरसँग निर्भर हुनेछ । अहिले संक्रमण दर २५ प्रतिशत छ भने सीसीएमसी (कोभिड संकट व्यवस्थापन केन्द्र)ले १५ प्रतिशतमा झरेमात्र फिल्म हल खुलाउन सकिने जनाएको छ ।

सोनी फिल्मको नेपालको आधिकारिक वितरक एप्पल इन्टरटेनमेन्टले स्पाइडर म्यानको नेपाल रिलिजबारे अन्यौल रहेको बताएको छ । कम्पनी प्रमुख नकिम उद्दिनले महामारीको अवस्थाको कारण तत्काल यसबारे केही भन्न नसकिने बताए ।

स्पाइडर म्यानका अघिल्ला सिरिजले नेपाली बक्सअफिसमा राम्रो कमाइ गरेका छन् । महामारीअघि एप्पल इन्टरटेनमेन्टले काठमाडौं र पोखराजस्ता ठूला सहरमा फिल्म प्रिमियर पनि आयोजना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर