नेकपा (एस) मा १७ पदाधिकारीसहित १५१ केन्द्रीय सदस्य, जबजको साटो वैज्ञानिक जनवाद – Nepal Press

नेकपा (एस) मा १७ पदाधिकारीसहित १५१ केन्द्रीय सदस्य, जबजको साटो वैज्ञानिक जनवाद

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बन्न लागेको नेकपा (एकीकृत समाजवादी)ले अन्तरिम विधान २०७८ पारित गरेको छ । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको सो पार्टीको चन्द्रागिरी हिल्समा बसेको बैठकले अन्तरिम विधान र घोषणापत्र अनुमोदन गरेको हो ।

पारित विधानमा पार्टीको छोटकारी नाम नेकपा (एस) राख्ने उल्लेख छ भने मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद/लेनिनवाद हुनेछ । तर यसअघि एमालेले मान्दै आएको जनताको वहुदलीय जनवााद भने सो पार्टीले रणनीतिक लक्ष्यका रुपमा नमान्ने भएको छ ।

पार्टीको विधान र घोषणापत्रमा जबजको साटो रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद राखिएको छ । जबजका मान्यताहरुको रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्न वैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य बनाइएको सो पार्टीका नेता श्रीप्रसाद साहले बताए ।

जबज र कतिपय सैद्धान्तिक विषयबाहेक नेकपा (एस)को विधान एमालेकै विधानको हुबहु रहेको छ । तर पदाधिकारी र केन्द्रीय समितिको संरचना भने एमालेको भन्दा फरक रहेको छ ।

नेकपा एसको अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिव सहित १७ जना पदाधिकारी रहनेछन् भने केन्द्रीय कमिटीमा ११५ पूर्ण र ३६ वैकल्पिक सहित १५१ सदस्यीय केन्द्रीय समिति हुनेछ ।

महाधिवेशन नहुन्जेल १५१ सदस्यीय केन्द्रीय समिति राष्ट्रिय परिषदले निर्वाचन गर्ने विधानमा उल्लेख छ । त्यसमध्ये ५१ सदस्यीय पोलिटव्युरो र २१ सदस्यीय स्थायी समिति रहने विधानमा उल्लेख छ ।

प्रदेश, जिल्ला र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर