बुटवल उपमहानगरले आधारभूत तहमै ललितकला विषय पढाउने – Nepal Press

बुटवल उपमहानगरले आधारभूत तहमै ललितकला विषय पढाउने

रुपन्देही । रुपन्देही बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रममाा विद्यालय तहदेखि नै ललितकला विषयका कक्षा सञ्चालनको तयारी गरेको छ ।

यसका लागि विज्ञहरु सम्मिलित कार्यदल गठन गरेर आवश्यक अध्ययन र व्यवस्थापनको काम भइरहेको छ । यो मुलुकमै नौलो र पहिलो कार्यक्रम हो ।

आधारभूत तहदेखि नै ललितकलाको व्यवस्थित अध्ययन/अध्यापन गराउने कार्य अहिलेसम्म भएको छैन । केही संस्थागत विद्यालयहरूले चित्रकला, वाद्यवादन, नृत्यजस्ता विषयमा आंशिक तथा पूर्णकालीन कक्षाहरू सञ्चालन गरे पनि ती सबै विषयगत रुपमा नरहेको विज्ञहरुको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा बालबालिकालाई ललितकलाबारे अभिरुचिलाई अवसर प्रदान गर्ने गरी अवधारणा बनाइएको बुटवलका प्रमुख शिवराज सुवेदीले बताए ।

विद्यालय तहदेखि नै ललितकलाका विधागत सीपको विकास गर्दै व्यवसायिक तथा संस्थागत विकासका निम्ति अभिप्रेरणा जगाउने र स्थानीय कलासंस्कृतिको समेत संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य रहेको प्रमुख सुवेदीले बताए ।

बुटवल उपमहानगरभित्र ललितकलाप्रति विद्यार्थीको अभिरुचि र परिवेश के कस्तो रहेको छ, यहाँका विद्यालयहरूमा ललितकलासम्बन्धी अध्ययन अध्यापनको स्थिति के कस्तो छ र ललितकलाको व्यवस्थित र दीर्घकालीन विकासका निम्ति विद्यालयमा कक्षा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयलाई मिहीन ढंगले अध्यय्न गरेर पूर्ण प्रतिवेदन बनाउन प्रमुख सुवेदीले कार्यदललाई सुझाव दिए ।

यससम्बन्धी आवश्यक अध्ययन गरी व्यवस्थापनका प्रक्रिया अगाडि बढाउन गत बैशाखमा डा.तिलक भुसालको संयोजकत्वमा १५ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ ।

विभिन्न विषयका विज्ञहरु सम्मिलित उक्त कार्यदलले विस्तृत अध्ययन गरी उपमहानगरमा प्रारम्भिक प्रतिवेदन पेस गरेर सुझाव माग गरेको छ ।

कार्यदलले काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्विद्यालयका ललितकला विभागका प्रोफेसरहरुसँग अन्तरक्रिया गरेर प्रारम्भिक प्रतिवेदन तयार पारेको कार्यदलका संयोजक भुसालले बताए ।

प्रारम्भिक प्रतिवेदनका आधारमा शनिबार बुटवलका एक कार्यक्रमको आयोजना गरी सुझाव संकलन गरिएको थियो । बुटवल उपमहानगरपालिकामा ललितकला विषयलाई प्राज्ञिक विषयका रूपमा विद्यालयदेखि स्थापित गरी विद्यार्थीहरूलाई यस विषयतर्फ आकर्षित गर्न विषयगत व्यवस्थापनसम्बन्धी अध्ययन गरर प्रतिवेदनलाई अन्तिम रुप दिन सुझाव दिइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

कार्यक्रममा सहभागी डा.मुरारि पराजुली, अजित खनाल, प्रेमबहादुर बस्नेतलगायतले ललितकलाका विभिन्न विधामा विशेष अभिरुची भएका विद्यार्थीहरूलाई ललितकला बिषयको अध्यापनका माध्यमबाट उनीहरूको उच्च शिक्षातर्फको गन्तव्यलाई पनि सुनिश्चितता प्रदान गर्ने गरी योजना बनाउन सुझाव दिएका थिए ।

बुटवल उपमहानगरपालिका क्षेत्रभित्र ललितकला विषयका कक्षा व्यवस्थापन एवम् सञ्चालन गर्न उपयुक्त देखिएको अध्ययन कार्यदलको प्रारम्भिक प्रतिवेदनको निश्कर्ष रुपमा प्राप्त भएको उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

अभिभावक तथा विद्यार्थीहरूको अभिरुचि, विद्यार्थी तथा दक्ष जनशक्तिको उपलब्धता र विज्ञहरूका अनुभव र सुझावका आधारमा बुटवल क्षेत्र उपयुक्त रहेको विज्ञहरुको निश्कर्ष भन्दै प्रारम्भिक प्रतिवेदनमा समेटिएको आचार्यले बताइन् ।

उपमहानगर आफैंले पनि ललितकलासम्बन्धी विद्यालय सञ्चालन गर्न सक्ने सम्भावना रहेको र विकल्पकमा कुनै विद्यालयलाई छनोट गरेर वा सबै विद्यालयलाई यस कार्यमा सहभागी बनाएर सञ्चालन गर्न सकिने सम्भावना रहेको कार्यदलका संयोजक डा.भुसालले बताए ।

कस्तो पढाई हुन्छ ललितकलामा ?

यसका जानकारहरुका अनुसार ललितकला मानिसका विचार, सम्बन्ध आदिसँग सम्बन्धित ज्ञानहरूमध्ये एउटा शाखा हो ।

ललितकला मनका सूक्ष्म भाव सुकुमार तथा सौन्दर्यपूर्ण रूपमा अभिव्यञ्जित हुने वास्तु, मूर्ति, सङ्गीत, चित्र, साहित्य आदि विधामा फैलिएको ज्ञानको शाखा हो । यसले मिहिन रूपमा मानवजीवनका विविध पक्षसँग सम्बद्ध चौंसठ्ठी कलालाई समेटेको हुन्छ ।

यद्यपि समसामयिक सन्दर्भमा साहित्य विधाहरूसँगै विशेषतः सङ्गीत, चित्र, वास्तु, मूर्ति आदि (फाइन आर्ट) लाई बुझिन्छ । बुटवल उपमहानगरपालिकाभित्रका निजी विद्यालयहरूमा पनि आंशिक रूपमा अभ्यास भएको पाइन्छ भने निजीस्तरबाट सञ्चालित प्रशिक्षण केन्द्रहरूका माध्यमबाट गायन, वाद्यवादन, नृत्य, मूर्ति, रङ्ग रोगन जस्ता विधामा अभ्यासहरू भएको पाइए पनि व्यवस्थित, संस्थागत र शैक्षणिक किसिमले अध्ययन अध्यापन नभएको अध्ययन कार्यदलको प्रतिवेदनमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर