महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नुहुँदैन : डा. प्रकाशशरण महत – Nepal Press

महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नुहुँदैन : डा. प्रकाशशरण महत

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले अबको केही दिन भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । सबै पार्टीहरुलाई मिलाएर सरकार बनाउनु पर्ने भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाई हुन गएको उनको स्पष्टीकरण थियो ।

सहमहामन्त्री महतले काँग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई कोरोना भाइरसबाट सुरक्षित गर्ने र कम्युनिष्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट मुलुकलाई मुक्त गराउने लक्ष्य लिएको पनि बताए ।

सहमहामन्त्री महतले भने,‘चुनौतिहरु धेरै छन्, अवसर पनि छ, यो चुनौतिलाई पार गर्न सक्यौँ भने धेरै ठूलो अवसर नेपाली कांग्रेसको अगाडि छ, नेपाली कांग्रेसलाई अवसर भनेको जनताका लागि पनि एउटा अवसर हो, ट्रयाक भन्दा बाहिर गएको यो देशलाई ट्रयाकमा ल्याउने अवसर हो भन्ने मलाई लाग्छ, जनताका खास खास आवश्यक्ता हाम्रो देशको साधन स्रोतले भ्याएसम्म जथाभावि जे मा पनि खर्च गरेर होइन, दुरुपयोग गरेर राज्यको साधन स्रोतलाई आफ्नो स्वार्थमा उपभोग गरेर जसरी शासन गत समयमा चल्यो, त्यसको ठीक उल्टो, लक्षित किसिमबाट सरकारले काम गर्दछ, यद्यपी समयमा मन्त्रीपरिषद् पाउन सकेन घटकलाई जोडेर सरकार बनाउनु पर्ने बाध्य छ, तर अब मलाई लाग्छ केही दिनमै मन्त्रीमण्डल पूरा हुन्छ भनेर प्रधानमन्त्री जीले विश्वास दिलाउनुभएको छ, अनि रफ्तारमा काम हुन्छ ।

सहमहामन्त्री महतले नेपाली कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताए ।

साथै उनले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नु नहुने बताए । सहमहामन्त्री महतले आउँदो आम निर्वाचन महत्वपूर्ण भएकोले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर