लुकाकुको गोलमा चेल्सीद्वारा आर्सनल पराजित, सिरी ‘ए’मा युभेन्टस बराबरीमा रोकियो – Nepal Press

लुकाकुको गोलमा चेल्सीद्वारा आर्सनल पराजित, सिरी ‘ए’मा युभेन्टस बराबरीमा रोकियो

एजेन्सी । १० वर्षपछि क्लब कीर्तिमानी मूल्यमा चेल्सी फर्किएका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले पहिले खेलमै गोल गर्दा इंग्लिस प्रिमियर लिगमा आर्सनल २–० गोलले पराजित भएको छ ।

आर्सनलको इमिरेट्स रंगशालामा खेल सुरु भएको १५ औं मिनेटमै लुकाकुले गोल गरेका थिए । यो लुकाकुको १ सय १४ औं प्रिमियर लिग गोल हो । यसअघि उनले म्यानचेस्टर युनाइटेड र एभर्टनबाट पनि खेलिसकेका छन् । योसँगै लुकाकु प्रिमियर लिगमा होम र अवे दुवै खेलमा ५०–५० गोल पूरा गर्ने आठौं विदेशी (इंग्ल्याण्डबाहिर)खेलाडी बनेका छन् ।

३५ औं मिनेटमा मासोन माउन्सको पासमा रिसी जेम्सले गोल गरेपछि पहिलो हाफमै पाहुना टोलीले २–० को अग्रता बनाएको थियो । यो नतिजा प्रिमियर लिगको नयाँ सिजनमा चेल्सीका लागि लगातार दोस्रो जित हो भने आर्सनलका लागि लगातार दोस्रो हार हो ।

इटलीको सिरी ए मा क्रष्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड करार गरेपछि युभेन्टस बराबरीमा रोकिएको छ ।

सिजनको पहिलो खेलमा युभेन्टसले उड्निसीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युभेन्टसले २–० को अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।

पाउलो डिवालाले तेस्रो मिनेटमै गोल गरेका थिए भने २३ औं मिनेटमा डिवालाको पासमा हुवान क्वार्डाडोले गोल गरेका थिए ।

दोस्रो हाफमा छायामा परेको युभेन्टसले सुरुआतमै गोल खान पुग्यो । ५० औं मिनेटमा पेनाल्टीमार्फत उड्निसीका रोवर्टो म्याक्सिमिलियानोले गोल गरे । ८३ औं मिनेटमा जेरार्डले गोल गरेपछि खेल बराबरीमा आयो ।

६० औं मिनेटमा अल्भारो मोराटालाई प्रतिस्थापन गरी मैदान छिरेका क्रिष्टियानो रोनाल्डोले इन्जूरी समयको अन्तिम मिनेटमा शानदार हेड गोल गरे पनि भारले मान्यता दिएन ।

युभेन्टस बराबरीमा रोकिए पनि सिरी ए को साविक विजेता इन्टर मिलान, लाजियो, एटालान्टा र सासोउलोले भने आआफ्नो खेलमा जित निकाल्दै सिजनको सुरुआत गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *