कांग्रेस क्रियाशील विवाद अझै मिलेन, बालुवाटारमा अन्तिम कसरत – Nepal Press

कांग्रेस क्रियाशील विवाद अझै मिलेन, बालुवाटारमा अन्तिम कसरत

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी बाँकी विवादमा उच्चस्तरीय कार्यदलले अझै सहमति जुटाउन सकेको छैन । भदौ ३ गतेभित्र सबै काम टुंग्याएर केन्द्रीय सभापतिलाई प्रतिवेदन बुझाउने म्याण्डेट पाएको उच्चस्तरीय समितिमा अझै केही विषयमा सहमति जुट्न बाँकी रहेको हो ।

क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते केही जिल्ला, क्षेत्र र वडाको विवाद यथावत राख्दै सभापति शेरबहादुर देउवासमक्ष प्रतिवेदन बुझाएको थियो । कांग्रेस केन्द्रीय समितिको साउन ३० मा सम्पन्न बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई क्रियाशील विवादका बाँकी काम टुंग्याउने म्याण्डेट दिएको थियो । आइतबार यो समाचार तयार पार्दासम्म क्रियाशीलको बाँकी विवाद नटुंगिएको समितिका एक नेताले बताए ।

‘हामी छलफलमै छौं । केही विषय मिलेका छन् , केही मिल्न बाँकी छन् । सबै मिलिसक्यो, प्रतिवदेन बुझाइहाल्ने भन्ने कुरा हल्ला मात्रै हो’, समितिका एक नेताले भने । ती नेताका अनुसार समायोजन र केही वडाका नयाँ क्रियाशीलबारे सहमति बनिसकेको छैन । ‘हामी केही सैद्धान्तिक विषयमा सहमत भएका हौ तर टुंग्याउनुपनेृ सबै कुरा टुंगिसकेको होइन’, ती नेताले भने ।

यसैबीच, क्रियाशील विवादमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएको छ । सिटौला, रिजाल र लेखकबीच भर्खरै निर्णायक छलफल शुरू भएको हो । समितिले विवादित विषयमा आजै टुंगोमा पुगेर सभापतिलाई जानकारी गराउन तयारी भने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर