१० बुँदे कार्यान्वयन भइसक्यो, एकताको नाममा अल्टिमेटम बेकारका कुरा : सूर्य थापा – Nepal Press

१० बुँदे कार्यान्वयन भइसक्यो, एकताको नाममा अल्टिमेटम बेकारका कुरा : सूर्य थापा

सुर्खेत । नेकपा एमालेनिकटको प्रेस चौतारी नेपालका इन्चार्ज एवम् पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले एमाले एकताको आधार भनेर कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘कार्यदलको सहमतिलाई हामीले स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरिसकेका छौं कार्यान्वयनमा लिइसकेका छौं । कार्यदलमा रहेका केही सदस्यहरुले अहिले पनि दश बुँदे कार्यान्वयन नभएको भन्दै अल्टिमेटम दिइरहनुभएको छ । त्यो सब बेकारको कुरा हो ।’

थापाले ती नेताहरूको जुन-जुन पद थियो त्यसैमा भएकोले अब स्थायी कमिटी बैठकमा आउनुपर्ने बताए । देउवाले ल्याएको अध्यादेश र माधव नेपालको पार्टी दर्ता फिर्ताको लागि भनिएको दबाब अनावश्यक माग भएको उनको टिप्पणी छ ।

‘पार्टी २०७५ जेठ ३ अघिको अवस्थामा पुगिसकेको छ । यी प्रस्तावहरू पार्टीलाई बलियो, एकताबद्ध बनाउने नभइ त्यसभित्र खेल्ने मनसायका साथ आएको छ’, थापाले भने ।

नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले १० बुँदे कार्यान्वयनमा गइसकेको बताउँदै एकताबद्ध एमाले बनाउन सबैलाई आव्हान गरे । ‘अहिले हामीले बाँकी रहेका साथीहरूलाई आउन आव्हान गरिरहेका छौं । उहाँहरू नआए पार्टी चुप लागेर बस्ने अवस्था छैन । केही दिनमा नै पार्टीका विभागहरूलाई पूर्णता दिने, अभियानहरू चलाउने काममा हामी सहभागी हुन्छौं ।’

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टलगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर