‘माओवादीका हतियार बेच्ने योजनामा थिए प्रचण्ड’ – Nepal Press
पुस्तक चर्चा

‘माओवादीका हतियार बेच्ने योजनामा थिए प्रचण्ड’

हिसिलाको पुस्तक भन्छः बाबुराम हिन्दी फिल्मका पारखी, प्रचण्ड रक्सीका

२०५२ सालदेखि एक दशक चलेको हिंसात्मक माओवादी युद्धको एक पक्षबाट दानवीकरण र अर्को पक्षबाट देवत्वकरण हुँदै आएको छ । माओवादी हिंसात्मक युद्धलाई माओवादीहरु ‘जनयुद्ध’ भन्छन् । त्यहि ‘जनयुद्ध’ मा सहभागी र समर्थकहरु देवत्व पक्ष समात्छन् । फरक मत राख्नेहरु दानवत्वको लाइमा लाग्छन् ।

पूर्व माओवादी नेतृ हिसिला यमीले भने आफ्नो पुस्तकमा जनयुद्धको देवत्वकरण गरेकी छैनन । दानवत्वकरण पनि गरेकी छैनन् । उनले एक हिसाबले भूमध्यरेखामा लेख्ने प्रयास गरेकी छन् । यो कोणमा उनको पुस्तक ‘हिसिला: फ्रम रिभोलुसनरी टु फर्स्ट लेडी’ एकपक्षीय छैन । तर, उनले जनयुद्धका विभिन्न परिघटनाहरु केलाउने क्रममा प्रचण्डको दानवीकरण र आफ्ना श्रीमान डा. बाबुराम भट्टराईको देवत्वकरण गर्ने यथेष्ट प्रयास गरेकी छन् ।

विश्वप्रसिद्ध प्रकाशनगृह पेन्गुइन बुक्सले प्रकाशन गरेको पुस्तकको नेपाली नाम ‘हिसिला यमीः क्रान्तिकारीदेखि प्रथम महिलासम्म’ मान्न सकिन्छ । पुस्तक ३४६ पृष्ठ र ३८ अध्यायमा बाँडिएको छ । पुस्तकमा उनले आफ्नो भारतमा भएको आर्टिकेक्चर अध्ययन, बाबुरामसँगको भेट, विवाह, बेलायत अध्ययन, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको प्राध्यापन, महिला अधिकार क्षेत्रको सक्रियता हुँदै उनको विभिन्न राजनीतिक घटनाक्रमहरु समेटिएका छन् । खासगरि कोटेश्वरमा बनाएको घर बेचेर ‘जनयुद्ध’मा पूर्णकालीन कार्यकर्ता भएर गएदेखि शान्ति प्रक्रिया सुरु भएपछि मन्त्री हुँदै नयाँ शक्ति पार्टीदेखि जनता समाजवादी पार्टीसम्मको यात्रा उनले पुस्तकमा समेटेकी छन् ।

हिसिला भन्ने बित्तिकै माओवादी युद्धमा होमिएकी हाइप्रोफाइल महिला नेतृ । त्यही हाइप्रोफाइलकै कारण उनको पुस्तकमा माओवादी युद्धका अन्तरकुन्तरसम्वन्धी धेरै खुराक पाइन्छन् । माओवादी नेतृत्वमा अहिलेसम्म शिर्ष नेतृत्वबाट लेखिएको र विश्वप्रसिद्ध प्रकाशनगृहले छापेको पुस्तक पनि यही नै हो । त्यसैले यो पुस्तक माओवादी युद्धको इन्साइड स्टोरीटेलर हो । यसमा आजसम्म नभनिएका वा कम मात्रै भनिएका केही रोचक कुराहरु समेत छन् । हेरौँ केही उदाहरणः

प्रचण्ड माओवादी लडकुका हतियार बेच्न चाहन्थे

सुन्दा रोचक लाग्ने कुरा माओवादी सुप्रिमो प्रचण्डले माओवादीका लडाकुले प्रयोग गरेको हतियार बेच्न तयारी गरेका रहेछन् । पृष्ठ २४० मा यमीले यस्तो लेखेकी छन् । बाबुराम भट्टराईको अडानले माओवादीका हतियारहरु बिदेशी एजेन्सीलाई नबेचिएको उनको दावी छ ।

प्रचण्डको अन्तर्राष्ट्रिय बेइजत हुनबाट बाबुरामले जोगाएको भन्दै यमी लेख्छिन्, ‘कल्पना गर्नुस्, माओवादीका सर्वोच्च नेताले विदेशी एजेन्सीलाई हतियार बेचे भन्ने समाचारको परिणाम कस्तो हुन्थ्यो ?’ बाबुरामले सम्झाएर मात्रै नेपाली सेनालाई हतियार बुझाउन प्रचण्ड तयार भएको यमीले उल्लेख गरेकी छिन् । वृहत् शान्ति सम्झौतापछि माओवादीले ३४०० पेस्तोल, गन लगायतका हतियारहरु सरकारलाई बुझाएका थिए । तर, धेरैले भने देशभरका सात शिविरमा रहेका १९ हजार माओवादी लडाकुका त्यति मात्रै हतियार नहुने भन्दै प्रश्न गरेका थिए ।

भ्रष्टाचारी कमरेड प्रचण्ड क्याम्पमा छिरेपछि सुरक्षित

हिसिला यमीले भ्रष्टाचार लगायतका कान्डमा परेका माओवादी कार्यकर्ताहरु प्रचण्ड क्याम्पमा गएपछि सुरक्षित भएको लेखेकी छन् । पृष्ठ २७३ मा उनले लेखेअनुसार प्रचण्ड पक्षले पटकपटक भ्रष्टाचारको आरोप लगाएकी एक महिला कमरेडलाई एक दिन हिसिलाले रंगेहात पक्राउ गर्छिन् । कारबाही गर्छिन् ।

कारबाहीपछि ती महिला प्रचण्ड क्याम्पमा गइन् । प्रचण्ड क्याम्पमा पुगेपछि उनले संरक्षण पाएको हिसिलाको भनाइ छ । माओवादीमा बाबुराम र बैद्यको दुई र प्रचण्डको एक गरेर तीन क्याम्प रहेको भन्दै उनले प्रचण्ड भने आफूलाई जता हुँदा बहुमत र दबदबा हुन्छ उतै गएर आफ्नो शक्ति जोगाउने ठाउँठाउँमा उल्लेख गरेकी छन् । प्रचण्डको त्यही आदतलाई उनले ‘लेफ्टिस्ट’ नभएर ‘सेन्ट्रिस्ट’ भएको बताएकी थिइन् ।

शिविरमा नक्कली लडाकू, बालबालिकाको प्रयोग

२०६८ चैत्र २८ गते बाबुराम प्रधानमन्त्री हुँदा माओवादीका लडाकूहरुको सेना समायोजनको प्रक्रिया सकिएको थियो । त्यो प्रक्रिया सुरु हुँदै धेरैले माओवादी शिविरमा नक्कली लडाकू भएको आरोप लगाउँथे । हिसिलाले यो आरोप सही भएको लेखेकी छन् ।

पृष्ठ २९७ मा उनले प्रारम्भिक चरणमा माओवादी शिविरका ३२ हजार २ सय ५० लडाकूमा अधिकांश नक्कली भएको उल्लेख गरेकी छन् । आफु नेवाः प्रदेशको इन्चार्ज भएको समयमा औद्योगीक मजदुर मोर्चाका धेरै सदस्यहरु जनमुक्ति सेना भएर शिविरमा बसेको पाएको उनको स्वीकारोक्ति छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादलाई पनि माओवादीले बढाएका लडाकूका बारेमा जानकारी भएको हिसिलाले पृष्ठ २२० मा उल्लेख गरेकी छन् । अन्ततः १ हजार ४ सय २२ माओवादी लडाकू मात्रै सेनामा समायोजन भएका थिए ।

लडाकू शिविरका कमान्डरहरुले कनिष्ठ लडाकूबाट पैसा असुलेको र भ्रष्टाचार गरेको समेत यमीले पृष्ठ २३९ र २४० मा उल्लेख गरेकी छन् । तर, बाबुरामले माओवादी पार्टी छोडेर जानासाथ सार्वजनिक भाषणमा प्रचण्डले लडाकू शिविरबाट अर्बौ भ्रष्टाचार गरेको भनि गरेको दावी यमीले कोट्याएकी छैनन् ।

यस्तै, लेनिन बिष्ट लगायतका पूर्व माओवादीका बाल लडाकुदेखि विभिन्न आईएनजीओका आरोपलाई पुष्टी गर्ने गरी बालबालिकालाई माओवादीले प्रयोग गरेको यमीले स्वीकारेकी छन् । उनले पृष्ठ २९७ मै ४ हजार ९ लडाकुहरु बालबालिका भएकै कारण अवैध भएको संयुक्त राष्ट्रसंघको आँकडा उल्लेख गरेकी छन् । यतिमात्रै हैन, माओवादीमा १५ बर्ष सम्मका बालबालिकाहरुसमेत जनमिलिसियाको रुपमा प्रयोग भएको यमीले पृष्ठ १८३ मा लेखेकी छन् ।

बाबुराम हिन्दी फिल्म हेर्ने, प्रचण्ड रक्सी खाने

माओवादी नेताहरु कसरी आफैले बनाएको नियम आफै तोड्ने गर्थे भन्ने उदाहरण पुस्तकमा छ । उदाहरणको लागी, संयुक्त जनमोर्चा नेपालको नाममा बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५२ माघ २१ मा ४० बुँदे माग राखेका थिए । ती माग पूरा नभएको बहानामा माओवादी जंगल पसेको थियो । ४० बुँदे मागको ८ नम्बर बुँदामा भारतीय सिनेमालाई ‘साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदूषण र अतिक्रमण’ भन्दै नियन्त्रण गर्न भनिएको छ ।

उनै बाबुराम हिन्दी फिल्मका पारखी रहेको हिसिलाले पुस्तकमा लेखेकी छन् । यमीले पृष्ठ ९५ मा बाबुरामसँगै ‘मुन्नाभाई एमबीबीएस’ हेरेको उल्लेख गरेकी छन् ।

यस्तै, माओवादीले गाउँघरमा जाँडरक्सी खान रोक लगाउने गर्थे । माओवादी नेता–कार्यकर्तामा निषेध नै थियो । प्रचण्ड स्वयं भने राती आठ बजेपछि रक्सी खाएर मात्ने गरेको यमीको दावी छ । पृष्ठ २७१ मा उनले माओवादीका शीर्ष पुरुष नेताहरुमा बाबुरामले मात्रै रक्सी नपिएको बताएकी छन् ।

रक्सीमात्रै होइन, उपभोक्तावादमा लिप्त प्रचण्डलाई महँगा घडी र गाडीहरु चाहिने कुरा यमीले पृष्ठ २६७ मा लेखेकी छन् । यस्तै पृष्ठ २५६ मा उनले प्रचण्डलाई सत्ता, शक्ति र सम्पत्ति नै सबैथोक भएको आरोप लगाएकी छन् ।

शिविरबाहिर माओवादीका ४०० अत्याधुनिक हतियार

सरकारलाई बुझाइएका र सार्वजनिक रुपमा देखाइएका हतियारभन्दा अरु हतियार पनि माओवादीसँग भएको हिसिला पुस्तकबाट थाहा हुन्छ । उनले पृष्ठ २२० मा माओवादीका ४०० अत्याधुनिक हतियारहरु लडाकु शिविर बाहिरै भएको लेखेकी छिन् ।

बाहिर भएका हतियार बारेमा गिरिजाप्रसाद कोइराला र प्रचण्डको भद्र सहमती भएको उनले लेखेकी छन् । तर, सेना समायोजनपछि ती हतियार कहाँ गए भन्ने बारेमा भने उनी मौन छिन् ।

बाबुराम गुटलाई नजरबन्द, यातना र घटुवा

प्रचण्ड क्याम्पले कत्तिसम्म बाबुरामलाई तनाव दिन्थे भन्ने रोचक किस्साहरु यमीले पुस्तकमा उल्लेख गरेकी छन् । २०६१ कात्तिक २६ मा बाबुरामले चार बुँदे असहमति दर्ज गरे । फेरि, मंसिर १५ मा १२ बुँदा अगाडि सारे ।

माओवादीको सबै शक्ति अध्यक्षमा खन्याउन आतुर प्रचण्ड क्याम्पलाई यो निको लागेन । उनीहरुले बाबुरामलाई माओवादी लडाकुको नजरबन्दमा राखे । स्याटेलाइट फोन र रिभल्बर खोसे । बाबुरामको श्रीमती भएकैले आफूलाई पनि कारबाही भएको यमीले पृष्ठ १६१ मा लेखेकी छन् ।

राजतन्त्रभन्दा गणतन्त्र पक्षमा हुनुपर्छ र पार्टीमा लोकतान्त्रिकरणको पक्षमा वकालत गर्दा कारबाही भएको यमीले पृष्ठ १६२ मा लेखेकी छिन् ।

‘अरु त अरु, बाबुरामको जिल्ला गोर्खाकै भएकाले ठाकुर देवकोटाले बाबुरामलाई किन कारबाही भएको भन्ने प्रश्न गरेकै आधारमा जबरजस्ती आत्मालोचना लेख्न लगाइयो,’ हिसिलाको पुस्तकमा भनिएको छ ।

हिसिलाको दावीअनुसार बाबुरामको अवस्था बारेमा प्रश्न मात्र गर्ने नेता–कार्यकर्ताहरुलाई पनि प्रचण्ड क्याम्पले कि त दुर्गम क्षेत्रमा सरुवा कि त अनुशासनको कारबाही भएको थियो । देबेन्द्र पराजुली र कल्पना धमलालाई त यातना नै दिइएको उनी लेख्छिन् । धमलालाई उदयपुमा मानसिक यातना दिइएको तथा पराजुलीलाई भने भोजपुरमा चरम यातना दिइएको उनको दावी छ ।

यति मात्रै हैन, माओवादीको मुखपत्र ‘जन आह्वान’ का सम्पादक ओम शर्माले बाबुरामको दरबार हत्याकाण्डछिको आलेख छापेकै नाममा उनलाई पत्रिका बन्दै हुनेगरि तनाव दिइएको तथा सोही पत्रिकामा काम गर्ने माओवादी पत्रकार मनऋषि धिताललाई समेत तनाव दिइएको यमीले लेखेकी छन् । क्यान्सरले बितेका माओवादी नेता भक्ति पाण्डेका छोरा विश्वदीप पान्डेलाई समेत बाबुराम निकट भएकोले सताइएको उनले बताएकी छन् । यी प्रसंग पृष्ठ १६१ देखी १६९ सम्म पुस्तकमा लेखिएका छन् ।

बाबुराम प्रधानमन्त्री हुँदा समेत प्रचण्डले धेरै असहयोग गरेको हिसिलाको आरोप छ । प्रचण्ड दम्पत्तिलाई बालुवाटारमा दुईपटक भोजनको लागी बोलाउँदा पनि नगएको उनले पृष्ठ २३४ मा लेखेकी छन् ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आफूलाई एसियाकै सबैभन्दा भ्रष्ट महिला भन्ने समाचार लेखाउन प्रचण्डको तत्कालीन निवास लाजिम्पाटबाटै अभियान चलेको यमीले दावी गरेकी छन् । क्याइम टुडे नामक पत्रिकाले लेखेको समाचारको मुद्धा भने आफूले जितेको उनले पृष्ठ २४५ मा उल्लेख गरेकी छन् ।

यस्तै बाबुरामको पछाडि उनलाई भारतीय विस्तारवादी भन्ने प्रचण्डले बाबुरामसँग भेट्दा भने आफूलाई पनि भारतीय नेताहरुसँग चिनजान गराइदिन भन्ने गरेको यमीले पृष्ठ २७२ मा लेखेकी छन् ।

शान्ति प्रकृया अगाडि नै संयुक्त रास्ट्र संघसँग सम्पर्क

२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड बीचमा बृहत् शान्ति सम्झौता भएको थियो । त्यसको दुई महिनापछि माघ ९ गते नेपालमा संयुक्त राष्ट्रसंघको नेपाल मिसन ‘अनमिन’ आएको थियो । झट्ट हेर्दा संयुक्त राष्ट्रसंघको माओवादी शान्ति प्रकृयामा प्रवेश बृहत् शान्ति सम्झौतापछि मात्रै भएको देखिन्छ । तर, यमीले त्यो भन्दा अगाडि संयुक्त रास्ट्रसंघसँग सम्बन्ध भएको खुलाएकी छन् ।

२०६२ मंसिर ७ गते भएको सात राजनीतिक दल र माओवादी बीच भएको १२ बुँदे दिल्ली सम्झौताको तयारी अगाडि नै भेट भएको देखिन्छ । यमीले पृष्ठ १७० मा संयुक्त राष्ट्रसंघका नेपाल प्रतिनिधि तम्राट साम्युएलसँग भेटघाट भएको लेखेकी छन् ।

उनी लेख्छिन्, ‘उनी नेपालको द्वन्द्वको शान्तिपूर्ण निष्कर्षको बारेमा छलफल गर्न आएका थिए ।’

माओवादी बिघटन गर्न बाबुरामको प्रचण्डलाई प्रस्ताव

बाबुराम भट्टराईले प्रचण्डलाई माओवादी पार्टी बिघटन गर्न प्रस्ताव गरेको यमीले लेखेकी छन् । २०७२ असोज ८ गते प्रचण्डको तत्कालीन निवास लाजिम्पाटमा भेटेर बाबुरामले माओवादी पार्टी बिघटन गर्न प्रस्ताव गरेका थिए । प्रचण्ड तयार भएनन् । र, उनले २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टी खोलेको यमीले पृष्ठ ३१५ मा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

One thought on “‘माओवादीका हतियार बेच्ने योजनामा थिए प्रचण्ड’

Leave a Reply

Your email address will not be published. Required fields are marked *