क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग – Nepal Press

क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

वडा अधिवेशनसन आइसक्दा पनि क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक नहुनु आपत्तिजनक रहेको भन्दै उनीहरुले सोमबारसम्म सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

यस्तो माग गर्ने अधिकांश सभापतिहरु संस्थापन इतर समूह निकट रहेका छन् ।

जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सम्बन्धमा भएका कामबारे जिल्ला सभापतिहरुलाई गुमराहमा राख्ने प्रयास भएको आरोप लगाएका छन् ।

त्यस्तै उनीहरुले ७७ वटै जिल्लाका सभापतिहरुको निर्वाचित हुने व्यवस्था समान हुनुपर्ने माग समेत राखेका छन् । कांग्रेसले निर्वाचन निर्देशिकामार्फत एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधिले नै जिल्ला सभापतिमा उम्मेदवारी दिनसक्ने प्रबन्ध गर्दैछ ।

त्यस्तो व्यवस्थाले कांग्रेसमा दुई खाले सभापति चयन हुने भन्दै उनीहरुले विरोध गरेका हुन् । ‘जिल्ला सभापति बन्न चाहिने योग्यता सबैतिर समान हुनुपर्यो । कतै महाधिवेशन प्रतिनिधिले मात्रै लड्न पाउने कतै क्षेत्रीय प्रतिनिधिले नै लड्न पाउने व्यवस्था गरियो भने हामीलाई मान्य हुँदैन’, काभ्रे कांग्रेसका सभापति मधु आचार्यले भने ।

कांग्रेसले केन्द्रीय समितिको बैठकबाट क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरिसकेको छ । त्यसमा समाधान हुन बाँकी विषयमा कृष्णप्रसाद सिटौला, डा।मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले काम गरिरहेको छ ।

सो कार्यदललाई भदौ ३ सम्मको समय दिइएको भए पनि अहिलेसम्म क्रियाशील विवाद टुंगो लगाउन सकेको छैन । कांग्रेसले भदौ १८ मा देशभर वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार कांग्रेस महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर