अफगानिस्तानका ‘भगौडा’ राष्ट्रपतिको नेपाल कनेक्सन : द्वन्द्व व्यवस्थापनको टिप्स दिएर हिँडेका थिए – Nepal Press

अफगानिस्तानका ‘भगौडा’ राष्ट्रपतिको नेपाल कनेक्सन : द्वन्द्व व्यवस्थापनको टिप्स दिएर हिँडेका थिए

काठमाडौं । गत आइतबार काबुलमा तालिवान लडाकु छिर्न थालेपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छोडेर भागे । काबुल बिमानस्थलबाट बाहिरिएका उनी हाल यूएईमा शरण लिइरहेका छन् ।

अफगानी जनताबाटै ‘भगौडा’ सज्ञा पाएका घानी उनै हुन्, जो एक समय नेपालको माओवादी समस्या समाधान गर्न विज्ञ बनेर आएका थिए । संयुक्त राष्ट्रसंघले नै उनलाई विज्ञको हैसियतमा नेपाल पठाएको थियो ।

घानीको विज्ञतामा संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले विज्ञापन गर्ने दुई आधार थिए । एक, उनीसँग लेवनान र सुडान सरकारको सल्लाहकारका रुपमा काम गरेको अनुभव थियो । दुई, उनको सल्लाहका मुलभुत बिषय शान्ति निर्माण र राज्य प्रभावकारीता थिए ।

संयुक्त राष्ट्रसंघले घानीलाई हिजो जस्तो समस्यालाई सुल्झाउन नेपालमा विज्ञ भनेर पठाएको थियो, आज त्यही प्रकृतिको समस्यासँग जुध्न नसकेर उनी आफ्नो देशै छोडेर भागे । यस्तो अवस्थामा भागे कि राजधानीमा तालिवानहरुले एउटा गोली पनि चलाएका थिएनन् । दोहोरो भिडन्तहरु भएका थिएनन् ।

दोहाको कार्यालयदेखि अफगानिस्तानको कार्यक्षेत्र दुवैबाट तालिवानी नेतृत्वले बलबाट राज्य कब्जा नगर्ने बताएका थिए । यस्तो सहज अवस्थामै घानी देश छोडेर भागे । अरु देशलाई शान्ती निर्माण र राज्य प्रभावकारीताको दर्शन दिने उनको अन्तराष्ट्रिय रुपमा विज्ञापन गरिएको विज्ञताले फेल खायो ।

घानी शान्ती प्रक्रियाका बिज्ञ भएर २०६४ सालमा नेपाल आएका हुन् । २०६३ मंसिर ५ मा नेपाल सरकार र माओवादी बिचमा भएको बृहत्तर शान्ति सम्झौता भएको झन्डै ६ महिनापछि उनी नेपाल आएका थिए । त्यसबेला माओवादी लडाकु देशभरका सात शिविरमा राखिएका थिए । पहिलो संविधानसभाको चुनावी तयारी थियो ।

नेपाल आएर घानीले तत्कालीन प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख नेता र माओवादीसँग संवाद गरेका थिए । उनी तत्कालीन समयमा अफगानिस्तानका पुर्व अर्थमन्त्रीको राजनीतिक प्रोफाइलमा पनि थिए । उनले सबैलाई भेटेर मात्रै सल्लाह दिएनन्, लेखेरै सल्लाह दिए । नेपाली टाइम्स अंग्रेजी साप्ताहिकको सन २००७ को अप्रिल २७– मे ३ अंकमा उनले एक लेख लेखेका थिए ।

यस्ता थिए घानीका चार टिप्स

नयाँ, समृद्ध र प्रजातान्त्रिक नेपाल निर्माणमा महत्वपूर्ण जोखिमहरु लिनुपर्ने भन्दै गानीले माओवादी समस्या समाधानका चार सूत्र दिएका थिए । ‘अ न्यू अर्डर’ (एक नयाँ व्यवस्था) नामक लेख लेख्दै उनले यस्ता सूत्र दिएका थिए ।

पहिलो सूत्र भन्दै उनले लेखेका थिए, ‘माओवादीले बहुलवाद र बहुदलवादी राजनीतिक व्यवस्थाको लागी सच्चा प्रतिबद्धता व्यक्त गर्नुपर्छ । नेतृत्वले अझैपनि माओवादीबाट भइरहेका हिंसा र बलमिच्याईंलाई कतिसम्म नियन्त्रण गर्न सक्छ भन्ने कुराको एक परीक्षा हुनेछ ।’

घानीले दोस्रो सूत्रमा लेखेका थिए, ‘समावेशीताको लागी सामुहिक पहिचानको आधारमा भइरहेका मागहरु गैरन्यायिक माध्यमबाट नभएर आधिकारिक राजनीतिक प्रक्रियाबाट आउनुपर्छ । यसको लागी दुईतर्फी सञ्चार, नेपाली जनता र नयाँ सरकारका आकांक्षाहरुको व्यवस्थापन हुनुपर्छ ।’

घानीको तेस्रो सल्लाह थियो, ‘रोजगारी सिर्जना र आर्थिक विकासको लागी आवश्यक लगानीको प्रत्याभुतिको लागि विकास, कानुनी शासन र सम्पत्तिको सुरक्षा अनिवार्य हुन्छन् ।’

घानीले दिएको चौथो सूत्र थियो, ‘संविधानसभाको चुनाव, स्वतन्त्र र निश्पक्ष हुुनुपर्छ र यो बहिष्करणको सम्बोधन गर्ने संयन्त्र हुनुपर्छ । यदि दलहरुले सहभाागितामूलक नहुने खालका उम्मेदवारहरु खडा गर्छन् भने आगामी अस्थिरताको सम्भावना अत्याधिकै हुनेछ । दलहरुले माओवादीले जस्तै नेपाली विविधता झल्काउने प्रयासका उम्मेदवारहरुबाट सिक्नुपर्छ ।’

नेपाली शान्ति प्रक्रियाको लागि चरणबद्ध सल्लाह दिने घानी आफ्नै देश अफगानिस्तानको शान्ति प्रक्रियामा भने लाजमर्दो गरी असफल भएका छन् । संयुक्त राष्ट्रसंघदेखि नेपालमा सक्रिय विभिन्न आइएनजिओहरुले कस्ता खालका विज्ञ ल्याउछन् भन्ने एउटा दृष्टान्त हो यो । अरुलाई सल्लाह दिनसक्ने, तर त्यही कुरा आफैले लागु गर्न नसक्ने ‘विज्ञ’ को विश्वव्यापी विशेषता नै पो हो कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *