लुम्बिनीको राजनीति अजय शाहीमा अड्कियो, कारवाही नगरेसम्म एमालेले संसद चल्न नदिने – Nepal Press

लुम्बिनीको राजनीति अजय शाहीमा अड्कियो, कारवाही नगरेसम्म एमालेले संसद चल्न नदिने

शाही भन्छन्ः म स्वतन्त्र हुँ

रुपन्देही । सूर्य चुनाव चिन्ह लिएर हालसम्म एमाले संसदीय दलमा बसेका लुम्बिनी प्रदेशका सांसद अजय शाही सरकारमा सहभागी भएपछि लुम्बिनीको सत्ता राजनीति उनीमाथि केन्द्रित बनेको छ । विपक्षी एमालेले उनलाई कारबाही माग गर्दै निरन्तर संसद अवरुद्ध गरेको छ भने उनले आफू स्वतन्त्र रहेको दावी गर्दै आएका छन् ।

एमालेले कारबाही गरेका शाही गठबन्धन सरकारमा विनाविभागीय मन्त्री बनेका छन् । आज एक कार्यक्रममा उनले आफू स्वतन्त्र भएको दाबी गर्दै एमालेलाई कारबाही गर्ने कुनै आधार नभएको बताए । नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्काशन गर्न कारबाही प्रक्रिया अगाडि बढाएको भन्दै उनले कानूनी र राजनीतिक रुपमा यसको कुनै औचित्य नरहेको दावी गरे ।

गत प्रदेशसभा निर्वाचनमा हृदयेस त्रिपाठीको नेतृत्वमा रहेको तत्कालीन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौताअनुसार सुर्य चिन्हको प्रयोग गरी स्वतन्त्ररुपमै चुनाव जितेको उनको भनाइ छ ।

शाहीले भने, ‘मैले चुनावमा मात्रै चिन्ह लिएको हो, नैतिक र राजनीतिक रूपमा म स्वतन्त्र छु । मैले नेकपा एमालेको सदस्यता लिएको छैन ।’ राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा २९ अनुसार एमाले संसदीय दलको सदस्य आफू नभएको उनले दावी गरे ।

यता नेकपा एमाले लुम्बिनीले विधि र कानूनसम्मत नचलेसम्म प्रदेश सभा अवरुद्ध गरिरहने जनाएको छ । एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले शाहीलाई कारवाही नभएरसम्म संसद अवरोध जारी राख्ने बताए । उनले भने, ‘सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिकरूपमा एमालेकै हुन् । उनलाई असंवैधानिकरुपमा प्रतिपक्षले मन्त्री बनाउँदा पनि सभामुखले राजनीतिक पूर्वाग्रह राख्दै कारवाही नगर्नु आपत्तिजनक छ ।’

अजय शाहीले एमाले संसदीय दलका निर्णयहरुलाई हालसम्म मान्दै आएको बताउँदै श्रेष्ठले एमाले सरकारबाट बाहिरिएपछि गठबन्धनको सहायताले स्वतन्त्रको नाम जप्दै हिँड्नु गलत रहेको बताए ।

सभामुखलाई निर्णयमा ढिलाई नगर्न कानुनविद्को सुझाव

लुम्बिनी प्रदेशसभा भित्रको किचलो छिटोभन्दा छिटो समाधान गर्न कानूनविद्हरुले सभामूखलाई सुझाव दिएका छन् । आज आयोजित साक्षात्कारमा बोल्दै कानूनविद्हरुले संविधानको राम्ररी अध्ययन गरी निकास दिन आग्रह गरे ।

कानुनविद महेन्द्र पाण्डेले अजय शाही हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समुहबाट चुनावमा तत्कालीन नेकपासंग तालमेल गरेर निर्वाचित भएको भन्दै हैसियतका हिसावले र सहमतिका बुँदाको हिसाबले स्वतन्त्र रहेको बताए । स्वतन्त्र हैसियतबाट उठेकोले एमालेसंग उनको कुनै नाता र साइनो नभएको पाण्डेको तर्क छ ।

यस्तै उनले बाम गठबन्धनबाट चुनाव जितेकी सांसद विमला वलीले पनि आफ्नो दल रोज्ने अधिकार संविधानले दिएको बताए ।

यस्तै, अर्का कानूननिद् नगेन्द्र बस्यालले भने अजय शाहीले सुर्य चिन्हबाट चुनाव जितेको बताउँदै एमालेले कारबाही गर्नु स्वभाविक रहेको दाबी गरे । एमालेको सूर्य चिन्हबाट चुनाव जितेकाले स्वतन्त्र भन्न नपाउने उनको भनाइ छ । एमालेले आवश्यक क्रियाकलाप पूरा गरी संसद सचिवालयमा पठाएको हो भने सभामुखले तत्काल आवश्यक कारबाही अगाडि बढाउनुपर्ने उनले धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर