मेटमणी चौधरी भन्छन् : दल दर्ता हुनेवित्तिकै सरकारमा जान्छौं – Nepal Press

मेटमणी चौधरी भन्छन् : दल दर्ता हुनेवित्तिकै सरकारमा जान्छौं

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौंधरीले निर्वाचन आयोगमा दल दर्ता हुने वित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । माधव नेपालको साथ छाडेका भनिएका नेताहरु पाँच दिनभित्र आफूहरुकै पार्टीमा आउने उनले दावी गरे ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘पाँच दिनभित्र सबै जना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा फर्कनुहुन्छ । निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको छ । त्यसपछि दल दर्ताको प्रमाण पत्र प्राप्त हुन्छ । हामी सरकारमा जाने ढोका खुल्छ ।’

नेता चौंधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरुले नयाँ पार्टी स्थापना गर्नु परेको पनि बताए । कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता एवम् प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले एमालेमा फर्कन नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई आग्रह गरे ।

त्यसका लागि अध्यक्ष केपी शर्मा ओली १० बूँदे सहमती कार्यान्वयन गरेर अघि बढन तयार रहेको उनको भनाई थियो । नेता ठाकुर गैरेले पार्टी एकताका लागि १४ जना सांसदहरुमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन अध्यक्ष ओलीलाई माग गरे । वरिष्ठ नेता माधवकुमार नेपाललाई निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन फिर्ता लिन पनि उनले आग्रह गरे ।

आफूहरु पार्टी एकताको पक्षमा उभिएको पनि उनले दोहोर्‍याए ।नेता गैरेले दुई तिहाई बहुमत प्राप्त सरकारबाट पार्टीलाई सडकमा ल्याउने काम नेतृत्वले गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर