अष्टलक्ष्मी भन्छिन् : म मुख्यमन्त्री बन्न ओली र नेपाल दुवैको साथ छ (भिडियो) – Nepal Press

अष्टलक्ष्मी भन्छिन् : म मुख्यमन्त्री बन्न ओली र नेपाल दुवैको साथ छ (भिडियो)

काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताएकी छन् । पार्टी एकता कार्यदलले तयार पारेको १० बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने उनले विश्वास व्यक्त गरिन् ।

नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाक्यले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि पार्टी पंक्तिको ध्यानाकर्षण गराइन् । आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै आफूले नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि पटकपटक आग्रह गरिन् ।

शाक्यले भनिन्, ‘म मुख्यमन्त्री हुुनुमा दुवै नेताहरुको साथ छ । सहमति छ । अनि बाहिर बाहिर कुरा आउँछ, अष्ट त के–के भयो, के–के भनेर । लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नुभयो, यो गलत कुरा हो । गलत सन्देश दिने काम नगरिदिनुहोस् ।’

आफूहरु अझै एकताको पक्षमा रहेको भन्दै उनले केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास व्यक्त गरिन् । त्यसका लागि १० बूँदे प्रस्तावलाई उच्च मूल्यांकन गरेर अगाडि बढाउन उनले आह्वान गरिन् ।

‘हाम्रो नेतृत्वले मन फराकिलो बनाएर नेकपा एमालेलाई बलियो बनाउन चाहन्छु भनेको खण्डमा स्थिति उथलपुथल हुन्छ,’ शाक्यले भनिन् ।

निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहितको सल्लाहमा प्रदेश सरकारलाई अघि बढाउने प्रतिवद्धता उनले व्यक्त गरिन् । निवर्तमान मुख्यमन्त्री र निवर्तमान मन्त्रीहरुको परामर्शको आधारमा अघि बढ्दा नै प्रदेश सरकारले राम्रो काम गर्नसक्ने उनको विश्वास छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर