आमा बितेको एक महिना नपुग्दै ‘बखते’ को बियोगान्त – Nepal Press

आमा बितेको एक महिना नपुग्दै ‘बखते’ को बियोगान्त

काठमाडौं । नेपाली हास्य टेलिश्रृंखलाका नियमित दर्शकका लागि एक चिरपरिचित अनुहार थिए, शम्भुराज थापा । यद्यपि, उनको वास्तविक नाम भने धेरैलाई थाहा थिएन । हास्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ मा निर्वाह गरेको भूमिकाका कारण धेरैले उनलाई ‘बखते’ नामले चिन्थे ।

लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थापा एक संघर्षशील कलाकार हुन् । उनले करिब दुई दर्जन चलचित्रमा काम गरेका छन् भने ‘आफ्नो बिरानो’ नामक चलचित्र निर्माणसमेत गरेका थिए । पछिल्लो समयमा भने उनी हास्य टेलिश्रृंखलाहरुमै केन्द्रित थिए । यद्यपि, उनको पहिचान ‘हास्य कलाकार’ भन्दा पनि चरित्र अभिनेताको थियो ।

‘हल्का रमाइलो’ का निर्देशक मरिचमान श्रेष्ठ बल्छीका अनुसार करिब एक महिना अगाडि मात्रै मातृ वियोगमा परेका थिए शम्भु । आमाको काजक्रियामा बसिरहेकै समय उनलाई कोरोना संक्रमण देखिएको थियो । त्यसपछि ५ दिनमै किरिया सकेर उनी अस्पताल भर्ना भए ।

ललितपुरको पाटन अस्पतालमा निरन्तर उपचारका बाबजुद उनको अवस्था विग्रिँदै गयो । पछिल्लो ९/१० दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर, डाक्टरहरुले उनलाई जोगाउन सकेनन् । आज बिहान ४ः४० बजे उनलाई मृत घोषित गरियो । पशुपतिमा रहेको विद्युतीय शवदाहनमा उनको अन्त्यष्टी गरिएको छ । कोरोनाका कारण दाहसंस्कारमा थोरै व्यक्तिहरु मात्रै उपस्थित भएका थिए ।

चर्चित हास्यकलाकार सिताराम कट्टेल धुर्मुसको भनाइमा थापा कसैलाई नचिढाउने स्वभावको घमण्डरहित व्यक्ति थिए । कलाकारका रुपमा उनी आफ्नो कामप्रति समर्पित र मिहिनेति स्वभावको आफूले पाएको धुर्मुसले बताए । मेरी बास्सैका केही भागहरुमा थापाले अभिनय गरेका थिए ।

‘उहाँ सबैसँग घुलमिल हुने र सरल स्वभावको हुनुहुन्थ्यो,’ धुर्मुसले भने, ‘घमण्ड भन्ने उहाँमा बिल्कुल कहिल्यै देखिनँ ।’ ५५ वर्षिय थापाको स्थायी घर बिराटनगर हो । आर्थिक अवस्था सामान्य रहेका उनी परिवारसहित काठमाडौंको गुहेश्वरीमा बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा पनि हुर्किसकेका छन् ।

हास्य टेलिश्रृंखलाहरुमा अभिनय गरे पनि उनको हास्यकलाकारभन्दा चरित्र अभिनेता थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर