बागमतीमा अष्टलक्ष्मीको चिन्ता : सत्ता मिल्यो, तर सुरुमै धरमर – Nepal Press

बागमतीमा अष्टलक्ष्मीको चिन्ता : सत्ता मिल्यो, तर सुरुमै धरमर

काठमाडौंमा एमालेभित्रको द्वन्द्व सडकमा पोखिदा बागमती प्रदेशमा भने भेल रोक्ने सघंर्ष चल्दै थियो । यही रसाकस्सीमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री उछिट्याउँदैछिन् भन्ने कसैलाई पत्तोअत्तो थिएन ।

शाक्य एमाले अध्यक्ष केपी ओलीकी कटु आलोचक र माधव नेपाल पक्षकी एक खम्बाका रुपमा परिचित थिइन् । एमालेभित्र आन्तरीक कलह बढ्दै जाँदा ओली विरुद्ध बढी आक्रामक रुपमा प्रस्तुत हुनेमध्ये उनी पनि पर्थिन् । पदीय जिम्मेवारीका हिसाबले उनी पार्टी उपाध्यक्ष हुन् ।

करिब ४२ महिना पहिल्यै प्रयास गर्दा हासिल गर्न नसकेको मुख्यमन्त्री पद अहिले अचानक उनको भागमा कसरी पर्‍यो ? एमालेजन नै आश्चर्यमा छन् । धेरैले चाहिँ उनले माधव नेपालको साथ छोडेवापत् यो पुरस्कार पाएको अनुमान गरे । तर, पछिल्लो समय उनी एकता पक्षधर मध्यमार्गी समूहमा सामेल भएकी छन् ।

स्रोतका अनुसार कांग्रेस-माओवादी मिलाएर माधव पक्षकै प्रदेश सांसद मुख्यमन्त्री बन्न लविङमा लागेको सुइको पाएपछि शाक्यले रणनीतिक कदम चालेकी थिइन् । निर्वाचन आयोगमा माधवकुमार नेपाल समूहले दल दर्ता गर्दासम्म उनी ओली वा नेपाल समूहमा खुलेकी थिइनन् । एमाले नेतृत्वमा रहेको बागमती प्रदेशको मुख्यमन्त्री बनेपछि उनीविरुद्ध पदलोलुप बनेको आरोपसमेत लाग्यो ।

यसअघिका मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिँदै भनेका थिए- ‘पार्टी जोगाउनु छ, पद-प्रतिष्ठा ठूलो होइन ।’

पार्टी एकताका निम्ति पद त्याग्न डोरमणी तयार त भए, तर अझै पनि एकता निश्चित भएको छैन । बागमती प्रदेशमा कोही पनि एमाले सांसदहरु विभाजनको पक्षमा नखुलेको भए पनि अष्टलक्ष्मीको सरकार धरापमै छ ।

माधव पक्षीय भनेर चिनिएका २२ जनामध्ये प्रस्तावित दलमा बागमती प्रदेशबाट ८ जनाको नाम परेको छ । तर एकतालाई जोगाउनुपर्ने भन्दै अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, कृष्णप्रसाद खनाल नयाँ दलमा सहभागी भएनन् । राजेन्द्रप्रसाद पाण्डे, रमा आले, मुनु सिग्देल, रचना खड्का नेकपा (एकीकृत समाजवादी) मा केन्द्रीय सदस्य बसेका छन् । बलराम बाँस्कोटा राष्ट्रिय सभा सदस्य हुन् । माधव पक्षीय नेता कृष्णप्रसाद भुर्तेल, केशवप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ, रमा आले क्याम्प फेरेर ओलीतिर लागेका छन् । ओली क्याम्पबाट बसुन्धरा हुमगाई र रामवीर मानन्धर माधवतिर लागेका छन् ।

यस्तो छ गणित :

बागमतीमा एमालेका ५६, माओवादीका २३, कांग्रेसका २२ र अन्य दलका ८ जना सांसदहरु छन् । माधव पक्षको नयाँ दलले मान्यता पाउँदासम्म उनको पक्षमा लागेका २२ सांसदले साथ नछोडेमा एमाले प्रदेश सरकारबाट सजिलै पाखा लाग्ने देखिन्छ । माधवको  एकीकृत समाजवादी दल, कांग्रेस र माओवादी मिलेमा नयाँ सरकार बन्न सक्ने अवस्था छ ।

सांसदहरु हरिशरण लामिछाने र पशुपति चौलागाईको निधनपछि बागमती प्रदेशमा एमालेका ५६ सांसद छन् । १ सय ९ सांसद रहेको यो प्रदेशमा सरकार बनाउन ५५ जना भए पुग्छ । तर, नयाँ दलले मान्यता पाएपछि दुई मात्र सांसदहरु त्यता लागे सरकार ढलपल बन्नेछ ।

गत पुसमै डोरमणीविरुद्ध तत्कालीन नेकपाका ४५ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका थिए । त्यसमा २२ जना माधव पक्षका सांसदको हस्ताक्षर थियो । तर, सर्वोच्च अदालतको आदेशबाट एमाले र माओवादी पहिलेकै अवस्थामा फर्केपछि अविश्वासको प्रस्ताव फिर्ता भयो । दल दर्तासँगै एमाले सांसदहरु विभाजित भएमा सरकार अल्पमतमा पर्ने विश्लेषणपछि डोरमणी समूहले शाक्यलाई मुख्यमन्त्री सुम्पेका हुन् । यो कदमले तत्काललाई प्रदेश सरकारमा एमालेको नेतृत्व जोगिएको छ । तर, भविष्य अनिश्चित छ ।

एकताको सन्देश दिएको दावी

एमाले बागमती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेल प्रदेशले एमालेलाई एकतामा बाँध्न सन्देश दिएको दाबी गर्छन् ।

‘पार्टी जोगाउन हामी मिलेका हौँ,’ उनले भने, ‘बागमती प्रदेशका सांसदहरु अहिले यो समूह, त्यो समूहमा भन्ने छैन, १-२ जना बाहेक सबै मिलिसकेका छौँ ।’

प्रदेश सांसद विजय सुवेदी आपसी समझदारीमा आन्तरीक विवाद मिलाएर बागमती प्रदेशले महत्वपूर्ण काम गरेको बताउँछन् ।

‘पार्टी फुटाएर हित कसैको हुदैन,’ उनले भने, ‘एमाले एकतावद्ध गराउन सबैको योगदानको खाँचो छ ।’

अन्तिम समयमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरुको अग्रसरतामा शुक्रबार काठमाडौंमा भएको भेलामा ५७ जना नेता तथा सांसदहरु सहभागी बने । त्यो भेलामा मुख्यमन्त्री शाक्य पनि सहभागि थिइन् । शाक्यसहित ९ नेताद्वारा जारी वक्तव्यमा पार्टी एकताको आह्वान गरिएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, माधव नेपाल लगायत १४ सांसदमाथि गरिएको कारवाही फिर्ता गर्नुपर्ने लगायतका माग यो समूहले अघि सारेको छ ।

 

बागमती प्रदेशका को सांसद कता ?

ओली पक्षमाः

डोरमणी पौडेल, अजयक्रान्ती शाक्य

आशमाया तामाङ, केशवराज पाण्डे

केशव स्थापित, कैलाशप्रसाद ढुंगेल

गणेशप्रसाद दुलाल, गोमा भुर्तेल

चन्द्र लामा, चेतनाथ सञ्जेल

जुनेलीमाया श्रेष्ठ, दाजा दोर्जे लामा

दिपक निरौला, नारायणप्रसाद सिलवाल

प्रदिपकुमार कटवाल, बद्री मैनाली

बेली मैया घले, मनिराम फुयाँल

मैना अछामी, योगेन्द्रराज संग्रौला

राजेश शाक्य, रामकुमार अधिकारी

रामेश्वर फुयाँल, विजय सुवेदी

विनोदकुमार खड्का, शशिजंग थापा

शान्ती थिङ, सरस्वती बस्नेत

सरस्वती बाटी, सरेश नेपाल

सानुकुमार श्रेष्ठ, सीता लामा

ज्ञानेन्द्र शाक्य, कृष्णप्रसाद भुर्तेल

प्रकाश श्रेष्ठ, केशवप्रसाद पोखरेल, रमा आले

माधव पक्षः

खुलेकाः

राजेन्द्रप्रसाद पाण्डे

मुनु सिग्देल

रचना खड्का

तटस्थः

अष्टलक्ष्मी शाक्य, अरुणप्रसाद नेपाल

इन्द्रमाया गुरुङ, उर्मिला कर्माचार्य

कुसुम कुमार कार्की , कृष्णप्रसाद खनाल

जीवन खड्का , देवकी श्रेष्ठ, पार्वती सिलवाल

माधवप्रसाद पौडेल, मीना ज्ञवाली नेपाल

राजेन्द्रमान श्रेष्ठ , लक्ष्मण लम्साल,

शान्तिप्रसाद पौडेल , बसन्तप्रसाद मानन्धर , बसुन्धरा हुमागाई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर