भर्चुअल गाइजात्रामा गजुरेलको अनुभव : अब मुख बिगारेर मात्रै चल्दैन, दर्शकले सिचुयसनल कमेडी खोज्छन् – Nepal Press

भर्चुअल गाइजात्रामा गजुरेलको अनुभव : अब मुख बिगारेर मात्रै चल्दैन, दर्शकले सिचुयसनल कमेडी खोज्छन्

काठमाडौं । कोरोना महामारीले मनोरञ्जन क्षेत्र भर्चुअलरुपमा खुम्चिएको छ । कुनैबेला प्रज्ञा प्रतिष्ठानमा खचाखच हुने गाइजात्राको हाँस्यव्यंग्य कार्यक्रम अहिले डिजिटल प्लेटफर्ममा सीमित भएको छ । कोभिडले सामाजिक जीवन सीमित हुँदा हाँस्य कलाकारले भने टेलिभिजन र युट्युवमार्फत प्रहसन पस्किरहेका छन् । माध्यम बदलिए पनि कलाकारको कमेडी स्वाद भने बदलिएको छैन ।

भदौ १ गतेदेखि सुरु भएको गाइजात्रा सप्ताह ७ गते सकिँदैछ । यो छेकोमा कमेडी कलाकारले टेलिभिजन र इन्टरनेट प्लेटफर्मबाट दर्शकलाई हँसाइरहेका छन् । स्वयम् कलाकारको लागि पनि कोभिडको गाइजात्रा नयाँ अनुभव हो । दर्शकको हाँसो, सिठी र तालीमा खचाखच भएर विगतमा मनाएजस्तो गाइजात्राको आयाम बदलिएको मात्र छैन गाइजात्रा हाइटेक बनिरहेको छ ।

माध्यम हाइटेक भएपनि गाइजात्राको विषयवस्तु भने उनै छन् । अहिले पनि नेपाली गाइजात्रा हाँस्यव्यंग्यको केन्द्रमा राजनीति, समाज र विकृति लगायतका विषयवस्तु समावेश छन् । काठमाडौं लगायतका ठूला सहरमा निषेधाज्ञा कायमै भएको र जिल्ला प्रशासनहरुले भीडभाड नगर्न आदेश दिएकाले भर्चुअल माध्यममा जानु पनि कलाकारको बाध्यता हो । त्यसैले गत सातादेखि टिभी र युट्युव च्यानलमा गाइजात्रा प्रसारण भैरहेको छ ।

लामो समयदेखि गाइजात्रा हाँस्यव्यंग्यको अनुभव सम्हालेका वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले ‘हाइटेक गाइजात्रा’को नेतृत्व गरेका छन् । युट्यूवमा उनले आफ्नै च्यानलमा गाइजात्रे कार्यक्रम अपलोड गर्छन् । महामारीबीचको गाइजात्रा कस्तो हुँदैछ ? हामीले गजुरेललाई सोध्यौं ।

‘महामारीको गाइजात्रा पनि महामारीजस्तै भएको छ । दर्शकसामु बसेर हाँस्यव्यंग्य गर्नुपर्नेमा डिजिटल प्लेटफर्मबाट गर्दा दर्शकसामु भेला भएर गरेजस्तो छैन । हाम्रा लागि पनि यो नितान्त नौलो अनुभव भएको छ । त्यही पनि हामीले जमर्को गरिरहेका छौं’ गजुरेलले नेपाल प्रेसलाई भने ।

यसपटक गजुरेल, शैलेन्द्र सिंखडा र पछिल्लो समय गायन रियालिटी सोबाट आएका तन्नेरी कमेडियनहरुले गाइजात्रा हाँस्यव्यंग्य पस्किएका छन् । गाइजात्रासँगै अहिले गजुरेल जजको रुपमा रहेको टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’ पनि प्रसारण भैरहेको छ ।

यो वर्ष गाइजात्रामा ३४ जना कलाकारले प्रस्तुत दिँदैछन् । मनोज र शैलेन्द्रसहित कमेडी च्याम्पियनका विजेता हिमेश पन्त लगायतले यसपटक हँसाइरहेका छन् । अर्का कलाकार सुबोध गौतमले केपी ओली, मुकुन्दे, पुण्य गौतम, रवि लामिछानेको चरित्र चित्रण गरेका छन् । उनै मनोज हुन् जसलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेबापत अमेरिकी संचारमाध्यम सीबीएस न्यूजले संसारका उत्कृष्ट १८ कमेडियनको सूचीमा राखेको थियो ।

नेपाल प्रेससँगको हालैको एक गफगाफमा गजुरेलले संसारका चर्चित राजनीतिज्ञदेखि घरेलु नेतालाई व्यंग्य गर्नसमेत बाँकी राखेनन् । उनले तीन पात्रहरुको लवजमा क्यारिकेचरसमेत गरे (हेर्नूस भिडिओ) ।

यस वर्ष गजुरेलको व्यंग्यमा देउवादेखि पुटिनसम्म

प्रत्येक गाइजात्रा व्यंग्यको केन्द्रमा मनोजले नेपालदेखि विश्व चर्चित नेताहरुलाई समेत राख्ने गरेका छन् । कोरोना महामारीअघि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबारे उनले गरेको क्यारिकेचर निकै हिट भएको थियो । केपी ओली अवतारमा देखिएका धुर्मुस र ट्रम्प हुलियामा देखिएका गजुरेलको गाइजात्रे जोडी प्रज्ञा प्रतिष्ठानमा जमेको थियो ।

उनले अघिल्लो वर्ष ट्रम्पसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ, विश्व स्वास्थ्य संगठनका निर्देशक डा. ट्रेडोसको क्यारिकेचर गरेका थिए । यसपटकको गाइजात्रा केन्द्रमा मनोजले पछिल्लो समय सत्तामा रहेका नेताहरुलाई राखेका छन् । खोप कूटनीति, वैदेशिक सहायता, कोभिड, नेताहरुको अहमता उनको कमेडीमा अटाएका छन् ।

मनोजलाई लाग्छ, अहिलेको पुस्ताले अघिल्लो पिँढीका कलाकारबाट सिक्नु जरुरी छ भने समाजलाई पनि बुझ्नु जरुरी छ । तन्नेरी पुस्ताका कमेडियनले समाज, राजनीति र अर्थतन्त्रलाई बुझुनुपर्ने उनको ठम्याइ छ । विद्यार्थी राजनीति र कलेजको स्टेज पृष्ठभूमिलाई माध्यम बनाउँदै हाँस्यव्यंग्यमा आएकाहरुले वास्तविकरुपमा समाजलाई बुझ्ने र कमेडी गर्न सक्ने उनले बताए । ‘तिनीहरु मात्र वास्तविकरुपमा अर्गानिक कमेडियन हुन्छन् जसले समाज र जनतालाई बुझेका हुन्छन्,’ मनोज भन्छन्, ‘नयाँ पुस्ताले इतिहास बिर्सनु हुँदैन भविष्यको कमेडीलाई पनि निरन्तरता दिनुपर्‍यो ।’

नयाँ पुस्ताले राजीनितिक व्यंग्यबाट नै सिक्न सक्ने मनोज बताउँछन् । ‘बदलिँदो विश्वको गहिरो अध्ययन गर्न सक्ने नै युवा पुस्ता हुन् । युवा पुस्ताले देशमा के भइरहेको छ भनेर थाहा पाउने भनेको व्यंग्यबाट हो’ मनोजलाई भन्छन् ।

फिल्ममा हाँस्यव्यंग्यको प्रयोगमा समेत व्यापक परिवर्तन आउने मनोजको भनाई छ । सयकडा दश फिल्ममा अभिनय गरेका मनोजले पञ्चलाइन र मुख बिगार्ने कमेडीको परम्परागत ढाँचामा परिवर्तन आएको र दर्शकले सिचुएनसल कमेडी खोजेको बताउँछन् । कोरोना महामारीको पछिल्लो अवस्था र राजनीतिक अस्थिरताले जनता उदासिन भएको बेला कमेडीको महत्व दिनानुदिन बढेको गजुरेलको कथन छ । ‘दुःखी जनतालाई हँसाउन सक्नु नै महत्वपूर्ण कुरा हो’ उनी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर