कांग्रेसमा क्रियाशील विवाद जस्ताको तस्तै, अझै मागियो समय – Nepal Press

कांग्रेसमा क्रियाशील विवाद जस्ताको तस्तै, अझै मागियो समय

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित शीर्ष समितिले थप समय माग गरेको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अझै समय लाग्ने जनाएको हो ।

कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ भित्र सहमति गरेर भदौ ३ मा केन्द्रीय सभापतिलाई बुझाउन म्याण्डेट दिएको थियो । म्याण्डेट सकिएको २ दिनपछि समितिले थप समय मागेको हो ।

सभापति एवं प्रधानमन्त्री देउवा र वरिष्ठ नेता पौडेलले समितिमा रहेका नेताहरुसँग आज साँझ बालुवाटारमा छलफल गरेका थिए । छलफलमा समायोजन सम्बन्धी विवाद टुंग्याउन अझै एक दिन लाग्ने समितिका सदस्यहरुले जनाएका थिए ।

‘समितिले गरिरहेको कामबारे छलफल भएको हो । उहाँहरुले भोली टुंग्याउँछौ भन्नुभएको छ’, बैठकमा सहभागि वरिष्ठ नेता पौडेलले जानकारी दिए । उनले विगतमा जे कारणले क्रियाशीलमा विवाद देखिएको थियो त्यो कारण अझै निवारण भइनसकेको बताए ।

‘मुख्यकुरा पुराना कांग्रेसीलाई वनवास पठाएर नवकांग्रेसीको बलमा पार्टी कब्जा गर्न खोजियो । अर्को तल्लो समितिले टुंग्याएको सदस्यतामा भर नगरेर माथिबाट थोपर्ने काम भएको छ । यी दुई कुराले रोकिएको हो, अहिले पनि त्यस्तै छ । तर सहमतिका लागि प्रयत्न गरेकै छौ’, पौडेलले भने ।

कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गते सम्मका लागि तोकिएको छ । वडा तहको अधिवेशन भदौ १८ गते ताकिएको छ । क्रियाशील सदस्यता विवाद तत्काल नटुंगिए महाधिवेशन कार्यतालिका पुनः निष्प्रभावी हुने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर