विभाजनमा साथ नदिएका नेताहरुको जोड १० बुँदे कार्यान्वयनमा, पार्टी दर्ताबाट फिर्ता हुन माधवलाई आग्रह – Nepal Press

विभाजनमा साथ नदिएका नेताहरुको जोड १० बुँदे कार्यान्वयनमा, पार्टी दर्ताबाट फिर्ता हुन माधवलाई आग्रह

काठमाडौं। एमाले विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै नयाँ पार्टी दर्ताबाट पछाडि हट्न नेता नेपाललाई आग्रह गरेका छन् ।

शुक्रबार बसुन्धरास्थितअरिकल इमेन्ट्समा केन्द्रीय सदस्य र सांसदहरुको छलफल यस्तो निष्कर्षमा पुगेको नेता गोकर्ण बिष्टले जानकारी दिए। दल विभाजन गर्न ल्याइएको अध्यादेशको विरोध जारी राख्ने निष्कर्ष पनि छलफलबाट निस्केको उनले बताए।

‘भेलाले एकता प्रयास जारी राख्ने, दल विभाजन अध्यादेशको विरोध गर्ने र १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने निर्णय गर्यो‍,’ बिष्टले भने, ‘माधव नेपालसहित १४ जनामाथिको कारबाहीलाई फिर्ता लिन आग्रह गर्ने र दल दर्ताबाट माधव नेपाललाई फिर्ता हुने आग्रह गरेका छौं।’

एमाले विभाजनबाट रोक्न अध्यक्ष केपी ओली पनि लचक र जिम्मेवार हुनपर्ने उनीहरुको भनाइ छ। दल विभाजन गर्ने अध्यादेशले नेपालको संविधानलाई खिल्ली उडाउने काम गरेको भन्दै पार्टीलाई एकतावद्ध पार्ने प्रयत्न जारी राख्ने निर्णय भएको बिष्टले बताए।

केपी ओली र माधव नेपाललाई भेटेर आफ्ना भनाइ राख्ने उनले जानकारी दिए। नेता भीम रावलले आजको सबै निर्णय समेटेर संयुक्त वक्तव्य निकाल्ने जानकारी दिए।

आजको बैठकमा ५७ जना केन्द्रीय कमिटी सदस्य र सांसद उपस्थित भएको बिष्टले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर