७५० स्थानीय तहमा बैंकका शाखा, ३ करोड ६३ लाखले खोले खाता – Nepal Press

७५० स्थानीय तहमा बैंकका शाखा, ३ करोड ६३ लाखले खोले खाता

मोवाइल बैंकिङका प्रयोगकर्ता सबैभन्दा बढी, बैंकबाट ऋण लिनै झन्झट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचसम्वन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा स्थानीय तहमा पुगेका बैंकका शाखाको संख्या, बैंक खाताको संख्या, डिजिटल भुक्तानी प्रणाली मध्ये ग्राहकले सबैभन्दा बढी रुची भएको भुक्तानीको माध्यम, संक्रिय रहेका खाताको संख्या लगायतका विषय वस्तुहरूलाई समेट्न खोजिएको छ ।

७५३ मध्ये वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको शाखा ७५० स्थानीय तहमा पुगेको प्रतिवेदनमा उल्लेख छ । २०७८ चैत मसान्तसम्मको तथ्याङ्कलाई आधार बनाएर सार्वजनिक गरिएको उक्त प्रतिवेदनुसार स्थानीय तहमा ५ हजार ७७८ बैंकका शाखा पुगेका छन् ।

कर्जा लिनेको संख्या करिब १७ लाख

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा बैंकमा खाता खोल्ने संख्याको तुलनामा कर्जा लिनका लागि खाता खोल्नेको संख्या ४.६२ प्रतिशतमात्रै रहेको देखाइएको छ । प्रतिवेदनले नेपालका बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्ने संख्या न्यून रहेको देखाएको छ ।

कर्जा प्राप्त गर्ने परम्परागत प्रणाली ‘सम्पत्ति धितो’ राख्नुपर्ने कारणले पनि कर्जा लिनेको संख्या कम भएको देखिन्छ । यसका साथै कर्जा लिनका लागि बैंक तथा वित्तीय संस्थामा व्यहोर्नुपर्ने प्रकृयागत झन्झटका कारण पनि कर्जा लिने संख्या कम देखिएको हो ।

प्रतिवेदनुसार बैंकहरूमा निक्षेप खाता खोल्नेको संख्या ३ करोड ६३ लाख ६६ हजार रहेको छ भने बैंकबाट कर्जा लिनका लागि खाता खोल्नेको संख्या १६ लाख ८२ हजार ८४५ रहेको छ ।

२०७७ जेठ मसान्तसम्ममा बैंकमा खाताको संख्या ३ करोड १८ लाख ८६ हजार रहेको थियो । जसमध्ये प्राकृतिक व्यक्तिको खाता २ करोढ ९९ लाख ९८ हजार रहेको छ ।

२०७७ जेठ मसान्तसम्ममा ६७.३४ प्रतिशत प्राकृतिक व्यक्तिको एकमात्र बैंकमा निक्षेप खाता रहेको छ । २०७६ साल असार मसान्तसम्ममा ६०.९ प्रतिशत नागरिक एकमात्र बैंकमा खाता रहेको थियो ।

कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको हिस्सा ९३.९८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कर्णाली सबैभन्दा कम

प्रति हजार खाता खोल्नेमा पुरुषको संख्या निकै उच्च रहेको छ भने महिलाको संख्या कम रहेको छ । यसैगरी वागमती प्रदेशमा सबैभन्दा बढी बैंक खाता खुलेका छन भने कर्णाली प्रदेशमा खाता खोल्नेको संख्या निकै कम रहेको छ ।

प्रति हजार व्यक्तिमध्ये ९९८ जनाको बैंकमा खाता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिहजार पुरुषको १३१४ बैंक खाता रहेको छ भने प्रति हजार महिला मध्ये ६८७ महिलाको मात्रै खाता रहेको देखिएको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा प्रतिहजार १८०२ जना बैंक खाता खुलेका छन भने सबैभन्दा कम कर्णाली प्रदेशमा प्रतिहजार ४५८ व्यक्तिको मात्रै खाता रहेको छ ।

महिलाको खाता पुरुषको तुलनामा बढी सक्रिय

कुल खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेका छन । नेपाल राष्ट्र बैंकको प्रतिवेदनुसार पुरुषको खाता भन्दा महिलाको खाता बढी सक्रिय रहेको देखिएको छ । पुरुषको खाता ६५.२ प्रतिशत खाता र महिलाको ७२.३ प्रतिशत खाता सक्रिय रहेको छ ।

ग्रामिण नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको पाइएको छ । प्राकृतिक व्यक्तिले खोलेका खाता मध्ये निक्षेप खाताको संख्या सबैभन्दा बढी ९०.६ प्रतिशत र मुद्दती खाता ३.१ प्रतिशत मात्रै रहेको छ ।

कुल व्यक्तिगत खाता मध्ये ९६.१५ प्रतिशत खाताको हिस्सा वयस्क व्यक्ति (१५ वर्ष भन्दा माथि) को रहेको केन्द्रीय बैंकले जनाएको छ । प्रति १ लाख जनसंख्याबराबर करिब १९ प्रतिशत बैंकका शाखा उपलब्ध रहेको छ । उक्त संख्या गण्डकी प्रदेशमा सबैभन्दा धेरै ३०.५ प्रतिशत र सबैभन्दा कम प्रदेश २ मा ९.७३ प्रतिशत रहेको छ ।

मोवाइल बैंकिङको प्रयोग बढी

नेपाल राष्ट्र बैंकको यस प्रतिवदेनमा युवा पुस्ताहरुमा डिजिटल भुक्तानी प्रणालीको क्रेज बढ्दै गएको देखाइएको छ । २० वर्षभन्दा माथिका युवा पुस्ताहरूले डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्दै गएकाले भविष्यमा प्रविधिको माग उच्चरूपमा बढ्ने प्रक्षेपण गरिएको छ ।

डिजिटल भुक्तानी प्रणालीमध्ये सबैभन्दा लोक्रप्रिय मोवाइल बैंकिङ प्रणाली र त्यसपछी एटीएम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम बैंकिङमध्ये सबैभन्दा कम लोकप्रिय इन्टरनेट बैंकिङ रहेको छ ।

केन्द्रीय बैंकको प्रतिवेदनअनुसार प्रतिखाता एटीएम प्रयोगकर्ताको संख्या २०.३५ प्रतिशत, मोवाइल बैकिङ प्रयोगकर्ता प्रतिखाता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता प्रतिखाता ३.८६ प्रतिशत रहेको छ । प्रतिखाता एटीएम, मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या सबेभन्दा धेरै राजधानी प्रदेश वागमतीमा क्रमश २६.११, ३३.१२ र ६.४० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिएटीएम प्रयोगकर्ता सबैभन्दा कम गण्डकी प्रदेशमा १४.५ प्रतिशत, प्रतिखाता सबैभन्दा मोवाइल बैंकिङ प्रयोगकर्ता प्रदेश २ मा २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा ०.५२ प्रतिशत छन् । महानगरहरूमा एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेको छ ।

गाउँपालिकाहरूमा प्रतिशाखा एटीएम प्रयोगकर्ताको संख्या क्रमश: १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ १.०८ प्रतिशत रहेको छ । प्रतिखाता मोवाइल बैंकिङको प्रयोगकर्ता सबैभन्दा धेरै गाउँपालिकामा ३३.३६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर