माधव नेपालले ८ गतेअघि नयाँ पार्टीको प्रमाणपत्र नपाउने, मन्त्रिपरिषद् विस्तारमा थप विलम्ब – Nepal Press

माधव नेपालले ८ गतेअघि नयाँ पार्टीको प्रमाणपत्र नपाउने, मन्त्रिपरिषद् विस्तारमा थप विलम्ब

काठमाडौं । एमालेबाट विद्रोह गरेका माधवकुमार नेपालले निर्वाचन आयोगबाट ८ गतेअघि नयाँ दलको प्रमाणपत्र नपाउने भएका छन् । शुक्रबार दर्ता सनाखत नटुंगिएपछि त्यो ८ गतेअघि नटुंगिने भएको छ ।

लगातार सार्वजनिक बिदा परेकाले ८ गतेअघि त्यो टुंगिने अवस्था नभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । भोलि शनिबार हो । ६ गते रक्षा बन्धन र ७ गते गाईजात्रा परेकाले ती दुई दिन पनि निर्वाचन आयोग बन्द हुनेछ ।

यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले नमिल्ने भन्दै अर्को नाम लिएर आउन भनेपछि माधव नेपालको तर्फबाट राजेन्द्र पाण्डेले आज नयाँ नामसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गरएका छन् ।

नयाँ नाम नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको र चुनाव चिन्ह भने टुंगो लाग्न बाँकी रहेको पाण्डेको भनाइ छ। माधव नेपालको नयाँ दल दर्ता नभएकै कारण मन्त्रिपरिषद विस्तार हुन सकेको छैन् ।

बिहीबार आयोजित एक कार्यक्रममा सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालको नयाँ दल दर्ता हुनेबित्तिकै एकदिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर