एमाले सांसदहरु सभामुखको कार्यकक्षमा, निष्कासित १४ जनालाई पदमुक्त गर्न दबाब – Nepal Press

एमाले सांसदहरु सभामुखको कार्यकक्षमा, निष्कासित १४ जनालाई पदमुक्त गर्न दबाब

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गरेको अभियोगमा निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न एमालेले आज पनि सभामुख अग्नि सापकोटालाई दबाब दिदैछ ।

आज कार्यालय समय शुरु हुनासाथ एमालेका सांसदहरू सभामुखको कार्यकक्षमा पुगेका छन् । सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी,गोकुल बास्कोटा,कृष्णभक्त पोखरेल,राजेन्द्र गौतम,लालबाबु पण्डित,विमला विश्वकर्मा,गोमा देवकोटा,सूर्य पाठक लगायतका सांसद सभामुखलाई दबाब दिन गएका हुन् ।

पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । बुधवार प्रमुख सचेतक विशाल भट्टराईसहितले औपचारिक रुपमा सभामुखलाई कारवाही प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । सभामुखले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताएका छन् ।

एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको छ । सो पत्र भदौ १ गते निर्वाचन आयोग र संसद सचिवालयमा पठाइएको छ । कानून बमोजिम संसद नचलेको बेला सम्बन्धित दलले निष्कासन गरेको पत्र सूचना पाटीमा टाँस्नपर्ने व्यवस्था छ ।

आफूहरुले कानूनले भने बमोजिम गर्न सभामुखको ध्यानाकर्षण गराउन खोजेको बास्कोटाले बताए । यसअघि माओवादी र सजपाले कारवाही गरेका सांसदलाई सभामुखले तत्कालै पदमुक्त गरेको नजिर एमालेले देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर