एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता नहुने, आयोगले भन्याे- अर्कै नाम लिएर आउनू – Nepal Press

एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता नहुने, आयोगले भन्याे- अर्कै नाम लिएर आउनू

काठमाडौं । नेकपा एमालेबाट विभाजित एमाले समाजवादी र जनता समाजवादी पार्टीबाट विभाजित जसपा लोकतान्त्रिक त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने भएका छन् ।

निर्वाचन आयोगले एमालेबाट विभाजित भएको प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरलाई अर्को नाम लिएर आउन मौखिक आग्रह गरिसकेको स्रोतले जनाएको छ ।

आयोगका एक पदाधिकारीले भने, ‘उहाँहरुलाई आयोगको तर्फबाट यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले पनि मिल्दैन र फागुन २३ को सर्वोच्चको फैसलाले पनि मिल्दैन भनेर अर्को नाम लिएर आउन भनिसकेका छौं ।’

नेपाल प्रेसले राजनीतिक दल सम्बन्धी अध्यादेश आएर दुवै दल दर्तामा जानुभन्दा अघि नै एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ता हुन नसक्ने आधारसहितको समाचार प्रकाशन गरेको थियो । आयोगका एक उच्च अधिकारीका अनुसार नेकपा एमाले (समाजवादी) को साटो अर्को नाम लिएर आउन राजेन्द्र पाण्डेलाई सूचित गरिसकिएको छ ।

त्यस्तै जसपाका नेताहरुलाई पनि अर्को नाम ल्याउन भनिएको छ । आयोगमा यसअघि गत बुधवार दल दर्ताका लागि दिएको निवेदन यथावत रहे पनि संशोधित नियमावली अनुसार अनुसूची भर्नका लागि अनुसूची फारम आज दुवै पक्षलाई उपलब्ध गराइने आयोग स्रोतले जनाएको छ । उनीहरु अनुसूची भरेपछि दल दर्ता प्रक्रिया अघि बढ्नेछ ।

याे पनि पढ्नुस्
एमाले समाजवादी नाम राख्न फागुन २३ को फैसला र राजनीतिक दलसम्बन्धी कानून बाधक

अहिले माधव नेपाल पक्ष नेकपा एमाले (समाजवादी) नाम राख्न नमिल्ने भएपछि अर्को नामको छलफलमा छ । नेकपा (समाजवादी)मात्र राख्नेबारे पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता रहेका कारण सर्वोच्चको फैसला र दलसम्बन्धी ऐनले सोही नामको अर्को दल कोष्टमा समाजवादी राखेर दर्ता हुन नसक्ने आयोगले जानकारी दिइसकेको छ ।

फागुन २३ को फैसला र कानून बाधक

कुनै दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसाग मिल्ने भएमा त्यस्तो दल दर्ता हुन नसक्ने उल्लेख छ । सर्वोच्च अदालतले फागुन २३ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर एमाले, माओवादी ब्युँताउदा पनि सोही ऐनलाई आधार बनाएको थियो ।

सर्वोच्च अदालतले नेकपा राखेर समेत नयाँ दल दर्ता गर्न नमिल्ने फैसला गरेको पूर्वमहान्यायाधिवक्ता रमेश बडालको दावी छ । विगतमा जतिवटाले नेकपा प्रयोग गरे पनि अब नेकपाको पछाडि फुर्को राखेर दल दर्ता गर्न नमिल्ने उनको तर्क छ ।

बडालले भने, एमालेको नाम जुधाउने गरी त कुनै दल दर्ता नै हुन सक्दैन । तर, पछिल्लो पटक निर्वाचन आयोगले नै नेकपा राखेर पनि नयाँ दल दर्ता नगरेकाले कतिपयले एकीकृत भनेर दर्ता गराएका छन् । नाम र चिन्ह भनेको दलको ब्राण्ड हो त्यो जुधाउने गरि दर्ता हुनै सक्दैन ।’

राजनीतिक दल सम्बन्धी ऐनको दफा ६ को ङ मा दलका नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलका नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता त्यस्तो दल दर्ता हुन नसक्ने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर