उत्तरार्द्धमा माधव नेपालले लिएको कठिन निर्णय – Nepal Press

उत्तरार्द्धमा माधव नेपालले लिएको कठिन निर्णय

ओलीससँगको ४९ वर्ष लामो सहयात्रा टुट्यो

काठमाडौं । अन्ततः आफैले जग हालेर बनाएको एमाले पार्टी त्यागेर माधव नेपालले राजनीतिक जीवनको उत्तरार्धमा कठिन बाटो रोजेका छन् । एमालेको नाम जुराउनेदेखि निर्माणसम्ममा उनको लामो योगदान छ ।

छुट्टिदै गर्दा नेता नेपालले ४९ वर्ष राजनीतिक सहयात्रा गरेका अध्यक्ष केपी शर्मा ओलीलाई सबै दोष दिएका छन् । ६ बर्ष दोस्रो र ९ बर्ष पहिलो नेताका रुपमा १५ बर्ष एमाले हाँकेका नेता नेपालको ओलीसँग ‘लभ एन्ड हेट’ सम्बन्ध रहिआएको थियो ।

नेपालले ओलीसँग सहकार्य मात्रै पनि गरेका छैनन् र संघर्ष मात्रै पनि गरेका छैनन् । ओली-नेपाल सम्बन्धको इतिहासमा सहकार्य र संघर्षको उत्तिकै हिस्सा छ । एमाले जीवनका कठिन समयमा धेरैपटक ओली र नेपाल एकै ठाउँमा पनि उभिएका छन् । महाकाली सन्धि गर्दा उनीहरु सँगै थिए । तमाम आलोचना दुवैले बराबरी झेले । ०५४ को विभाजनमा पनि नेपाल र ओली एक ठाउँमा उभिए । स्थापित नेताहरुले छोड्दा पनि एमालेलाई जीवनदान दिए ।

ओली-नेपाल सम्बन्धमा पछिल्लो समय देखिएको तिक्तता ०७१ को नवौँ महाधिवशनपछि हो । यही महाधिवेशनबाट ओलीले एमालेमा पहिलो नेताको जिम्मेवारी पाए भने नेपाल पराजित भए । ओलीसँग केवल ४५ मतले पछि परेका नेपालले आफूले प्राविधिक रुपमा मात्रै होरेको ठानेका थिए । हार स्वीकार नगरेकै कारण उनले ओलीसँग मिल्ने भन्दा पनि जुध्ने रणनीति अख्तियार गरे ।

ओली-नेपाल सम्बन्धमा निर्णायक विभाजन गत पुस ५ मै भइसकेको थियो । गएको पुसमा ओलीले प्रतिनिधिसभा विघटन गर्दा तत्कालीन ‘नेकपा’ मा दरार आएको थियो । त्यो मुलतः नेकपाभन्दा पनि एमालेको विभाजन थियो । उतिबेलै राजनीतिक रुपमा विभाजित भइसकेको एमाले आज माधव नेपालले नयाँ पार्टी दर्ता गरेसँगै कानूनी रुपमा पनि विभाजित भएको छ ।

निर्वाचन आयोगमा गएर एमाले समाजवादी पार्टी दर्ता गराउँदै गर्दा माधव नेपालको साथमा मुकुन्द न्यौपाने र बेदुराम भुसाल मात्रै थिए । उनीहरु साविकको एमालेमा स्थायी कमिटी सदस्य हुन् ।

विभाजनको अन्तिम घडीमा आफ्नै ठानिएकाहरुले साथ दिएको देखिएन । अशक्त अवस्थामा रहेका झलनाथ खनाल र खासै सांगठनिक पकड नभएका न्यौपाने र भुसाल मात्रै अन्तिम क्षणमा हुनु र आफ्नै ठानिएका केही चर्तित अनुहार छुट्नु माधव नेपालका लागि सबैभन्दा ठूलो क्षति हो ।

७० वर्ष लाग्न आँटेका नेपाल स्वयं पनि जीवनको उत्तराद्र्धमा छन् । यस्तो अवस्थामा उनले नयाँ पार्टी बनाउने अठोट बोकेर विभाजन रोजेका छन्, यो वास्तवमा कठिन रोजाइ हो । उनले ठूलै जोखिम मोलेका हुन् ।

माधव नेपालले नयाँ पार्टीलाई वास्तविक रुपमा क्रान्तिकारी पार्टी बनाउँछु भनेका छन् । उनको यो उद्घोष चुनौतीले भरिएको छ । उनको नयाँ पार्टीमा हाललाई साविक एमालेका ५८ केन्द्रीय सदस्यहरुको साथ छ । संघीय संसदका ३१ सांसद उनको पक्षमा खुलेका छन् । नेपालको दावी अहिले आफ्नो समूहका धेरै नेता आफूतिरै फर्किन्छन् भन्ने छ ।

तर, दोस्रो तहका प्रभावशाली ठानिएका नेताहरु उनीतिरै फर्किन्छन् भन्ने ग्यारेन्टी छैनन् । भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई जस्ता अनुहारबिनै नयाँ पार्टीलाई स्थापित गर्नु उनको चुनौति हो ।

दोस्रो तहका नेताहरुले भर नदिएपछि तल्लो तहका नेता– कार्यकर्ताको भरमा नेता नेपालले नयाँ पार्टी बनाउने जोखिम मोलेको देखिन्छ । मेटमणि चौधरी, रामकुमारी झाँकी जस्ता तेस्रो पुस्ताका केही नेता र नयाँ पुस्ताको साथमा नयाँ पार्टी स्थापना गर्ने जमर्को उनले गरेका छन् ।

ओलीसँगको पुस ५ यताको संघर्षमा नेपालले आफूलाई संघर्षशील, निष्ठावान र विधि-विधानका लागि लड्ने नेताको पहिचान बनाउन सफल भएका थिए । उनको लागि यो सबैभन्दा ठूलो राजनीतिक पुँजी थियो । तर, अध्यादेशको टेकोमा पार्टी फुटाएपछि उनको त्यो पुँजीमा पनि क्षयीकरण आएको छ ।

नेता नेपालले पछिल्लो समय धेरै राजनीतिक मुल्य, मान्यता, निष्ठा र इमान्दारितको कुरा गर्थे । ओलीभन्दा आफू धेरै मानेमा फरक नेता हुँ भन्ने दलिल पेस गर्थे । तर, अब उनको त्यो नैतिक बलमा ह्रास आएको छ ।

केही थान सांसद र केही थान मन्त्रीको लोभ नगरी अध्यादेशबिनै विद्रोह गरेको भए राजनीतिक नैतिकताको कसीमा उनी उँचो देखिने थिए । अब उनी कमजोर छवि बोकेर ओलीसँगको लडाइँमा उत्रिनु पर्ने छ ।

माधव नेपाल सत्तारुढ गठबन्धनमा पनि छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपेन्द्र यादव लगायतको पार्टीसँग गठबन्धनमा सामेल भएर नेता नेपाले आउँदो चुनावको सामना गर्ने देखिन्छ । यो गठबन्धनलाई २०७४ मा वाम गठबन्धनलाई अनुमोदन गरे जस्तो जनताले अनुमोदन गर्छन् या गर्दैनन् भन्नेमा धेरै कुरा निर्भर हुने देखिन्छ ।

नत्र माधव नेपाललाई विभाजनको औचित्य पुष्टि गर्न कठिन हुने छ । यस्तो अवस्थामा उनी सामु दुई विकल्प हुने छन्- पुनः एमालेमै फर्किने या सानो समूहको नेतामा खुम्चिएर बसिराख्ने ।


प्रतिक्रिया

One thought on “उत्तरार्द्धमा माधव नेपालले लिएको कठिन निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर