कम्युनिष्ट नेता भन्छन् : विचार र कार्यदिशामा एक ठाउँमा आउन सक्नेबीच एकता सम्भव – Nepal Press

कम्युनिष्ट नेता भन्छन् : विचार र कार्यदिशामा एक ठाउँमा आउन सक्नेबीच एकता सम्भव

काठमाडौं । देश र जनतालाई केन्द्रमा राखेर विचार र कार्यदिशामा एक ठाउँमा आउन सक्नेबीच एकता सम्भव हुने विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुले जोड दिएका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपालले बुधबार संवाद डबलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनिहरुले नयाँ आधारमा कम्युनिस्टबीच एकता सम्भव भएको बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणी पोखरेलले विचार र दृष्टिकोणमा देखा परेका भिन्नताले कम्युनिस्ट पार्टी विभाजन भएको बताए । उनले माक्र्सवादलाई सिर्जनात्मक प्रयोग भन्दै व्यवहारमा माक्र्सवादकै भ्रष्टीकरण गर्ने प्रवृतिका कारण समस्या देखा परेको बताए । नेता पोखरेलले व्यक्तित्वको टकराबका कारण कम्युनिस्ट विभाजन भएको भन्दै उनले भने, ‘सांगठानिक व्यवस्थापन हुन नसक्दा पनि नेपाली कम्युनिस्ट आन्दोलनमा समस्या पैदा भएको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई सहीरुपमा बुझ्न नसक्दा पनि नेपाली कम्युनिस्ट विभाजन हुँदै गएको छ ।’

मनोगतरुपमा नभएर भौतिक आवश्यकताका कारण नेपाली कम्युनिस्टबीच ध्रुविकरण वा एकता हुने बताउँदै नेता पोखरेलले भने, ‘विचार र कार्यदिशा मिल्ने, देश–जनताको सवालमा एकरुपता, एमसीसीलगायतका राष्ट्रियताको मुद्धामा एक हुन सक्ने कम्युनिस्टबीच ध्रुविकरण आवश्यक छ। पार्टी एकता हुन नसक्नेबीच रणनैतिक मोर्चा वा संयुक्त मोर्चा बनाएर पनि अगाडि बढ्नुपर्छ ।’

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले संसदवादी र क्रान्तिकारीबीच प्रवृति ध्रुविकरण हुने बताए । संसदवादी शक्तिले जिते उसको नेतृत्वमा ध्रुविकरण हुने र क्रान्तिकारी शक्तिले जिते उसको नेतृत्वमा ध्रुविकरण हुने बताए । उनले भने, ‘दलाल संसदवादी व्यवस्था रहेका कम्युनिस्ट विचारमा पूरै पतन भइसकेकोले एकता वा ध्रुविकरण सम्भव छैन् । उपलब्धीको रक्षा सामान्य नियम हो । संसदवादी कम्युनिस्ट त्यसलाई नै सिद्धान्त बनाएर बसेको छ । संसदीय पार्टी प्रतिगामी दलाल संसदीय व्यवस्थाको रक्षामा लागेको छ । उनीहरुसँग ध्रुविकरण सम्भव छैन् ।’

नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य इन्द्रमोहन सिग्देलले नेपालमा आफूलाई कम्युनिस्ट पार्टी भन्नेहरु नै कम्युनिस्ट विचारबाट टाढा पुगेको भन्दै क्रान्तिकारीबीच ध्रुविकरण हुनसक्ने बताए । आफ्नो पार्टीले मालेमावाद र जनवाद–वैज्ञानिक समाजवाद मान्नेबीच ध्रुविकरण चाहेको उनको भनाई छ । उनले भने, ‘संसदीय व्यवस्थाको अभ्यास गर्ने कम्युनिस्ट असफल भइसकेका छन् । क्रान्तिकारीबीचमा विचार र राजनीतिमा केही भिन्नता देखा परेकै कारण एकता हुन नसकेको हो ।’

नेकपा एमालेका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले नेपालमा एउटा संसदवादलाई मान्ने र अर्को नमान्ने कम्युनिस्ट धार रहेका कारण जनताले चाहेअनुसार ध्रुविकरण हुन नसकेको बताए । उनले भने, ‘हामीहरुले जनताको जनवादमा टेकेर समाजवाद पुग्ने लक्ष्य बोकेका कम्युनिस्टबीच एकता चाहेका छौ । त्यसको लागि विचार र राजनीतिक रुपमै छलफल हुनुपर्छ ।’

अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी र जन समाजवादी मंचका संयोजक कृष्णप्रसाद धमालले पनि कम्युनिस्टबीच ध्रुविकरण हुन आवश्यक रहेको बताएका छन् ।


प्रतिक्रिया

2 thoughts on “कम्युनिष्ट नेता भन्छन् : विचार र कार्यदिशामा एक ठाउँमा आउन सक्नेबीच एकता सम्भव

  1. कति झुक्याउँछौ कमरेड ।हिजोदेखि आजसम्म हेरेकै हो

  2. नेपालमा दुई किसिमका कम्युनिष्ट देखिएका छन पहिलो गैर संसदवादी दोश्रो संसदवादी मेरो बिचारमा गैर संसदवादीहरुकोबीच एउटा ध्रुवीकरण र संसदवादीहरु बीच अर्को ध्रुवी करण हुनु पर्छ।एउटा गैरकानूनी संघर्षको प्रतिनिधित्व अर्को चाहिँ कानुनी संघर्षको प्रतिनिधित्व गर्नु पर्छ।बैज्ञानिक समाजवाद स्थापना पश्चात सर्बहारा नेतृत्वमा दुइटैलाइ ध्रुवी करण गर्दा राम्रो हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर